
१३ असोज, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला महानगरपालिकाको प्रशासनिक भवन जलेको २० दिनपछि फर्किएका छन् । गत भदौं १९ गते उनी अष्ट्रेलिया गएका थिए । २४ भदौंमा विराटनगर महानगरपालिकासहित सरकारी संरचनामा आगजनी भएको थियो ।
आगजनी र तोडफोडका कारण महानगरको प्रशासनिक संरचना ध्वस्त भयो । तर, उनले अष्ट्रेलिया भ्रमण छोट्याएनन् । उपमेयर शिल्पा निरला कार्कीले महानगरको कार्यभार सम्हालिन् ।
मेयर कोइराला शनिबार स्वदेश फर्किएका हुन् । मेयर फर्किएपछि आइतबार विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनि बसेको थियो । बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
मेयर कोइराला अष्ट्रेलियामा हुँदा पनि महानगरमा सम्पर्कमा रहेर काम गरेको उनको प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले दाबी गरे ।
आइतबार नै मेयर कोइरालाले क्षतिग्रस्ता संरचनाको निरीक्षण पनि गरे । जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुग्दा मेयर कोइराला भक्कानिएको उनको सचिवालयले जनाएको छ । निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गने बताए ।
‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ ।’ उनले भने, ‘यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’
पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटे पठाएर आन्दोलन सुरु गरेका थिए ।
महानगरको निरीक्षणपछि भौतिक संरचना जले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए ।‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दु:ख पाउने अवस्था सिर्जना भएको छ, उनले भने,‘जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’
अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।
गत असार पहिलो साता उनी इजरायल पुगेका थिए । उनी पुगेको केही दिनपछि इजरायल–इरानबीच युद्ध चर्किएपछि सीमा नाका बन्द हुँदा उनी केही दिन बङ्करमा बसेका थिए ।
प्रतिक्रिया 4