+
+
Shares

घनश्याम भूसालका नजरमा राजनीतिक संकट समाधानका ९ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते २१:०२

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वर्तमान राजनीतिक संकट समाधानका नौ उपाय सुझाएका छन् ।

जेनजीको आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले अवस्था जे जस्तो भएता पनि समाजलाई सही ढंगबाट अगाडि बढाउन सबै पक्ष प्रयत्नशील हुनुपर्ने धारणा राखेका छन् ।

यसका लागि समाजमा उठेका विषय सम्बोधन गर्नुपर्ने र यसका लागि राजनीतिक शक्तिहरूले समेत ख्याल गर्ने उनको विश्वास छ ।

समाजलाई सही ढंगबाट अगाडि बढाउन के–के गर्ने त ? यस सम्बन्धमा नेता भूसालले विभिन्न ९ वटा उपाय देखेका छन् ।

पहिलो : संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नु पर्छ ।

दोस्रो : कम्तिमा आजसम्म सार्वजनिक पदमा सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर श्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने संकल्प गर्नुपर्छ ।

तेस्रो : सबै वामपन्थी पार्टीहरुमा विचार, राजनीति, संगठन र मुद्दाहरुको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ ।

चौथो : पुनर्गठित वामपन्थी पार्टीहरुलाई बृहत ध्रुवीकरण र एकतातर्फ लैजानु पर्छ ।

पाचौं : आगामी दश वर्षमा काम गर्ने उमेरका सबै नेपालीले रोजगारी पाउने र भ्रष्टाचार नहुने सुशासनयुक्त राज्यका साथ समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम अगाडि ल्याउनु पर्छ ।

छैठौं : नेपाली कांग्रेस लगायत लोकतान्त्रिक शक्तिहरुको पुनर्गठनको मुद्दालाई सहयोग गर्नु पर्छ ।

सातौं : लोकतान्त्रिक स्थिरताका साथ नेपालको समृद्धिको पक्षमा रहने अन्तरराष्ट्रिय समुदाय, विशेषगरी हाम्रा छिमेकीहरुलाई विश्वासमा लिनु पर्छ ।

आठौं : मुलुकमा भयरहित लोकतान्त्रिक वातावरण र विश्वास पुनर्स्थापित गर्न संयुक्त अभियानहरु सञ्चालन गर्नुपर्छ ।

नवौं : कुनै पनि निहुँमा निर्वाचनलाई बिथोल्ने र संविधानलाई असफल पार्ने सबै परिस्थितिको सामना गर्न सक्ने बलियो लोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिनुपर्छ ।

एकीकृत समाजवादीका महासचिव भूसालले यी सुधारका उपाय अपनाउनुपर्ने कारण वर्तमान असाधारण समय भएको बताएका छन् । उनी लेख्छन्, ‘यो असाधारण समय हो । यसले हामीसँग असाधारण संकल्पको माग गरेको छ । अलमल र बहानाबाजीको मूल्य अपूरणीय हुनेछ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?