
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय केन्द्रीय बैंक आरबीआईले नेपाल, भूटान र श्रीलङ्काका नागरिकलाई भारतीय रुपैयाँमै ऋण दिने व्यवस्था लागू गरेको छ।
- आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदमलाई भारतीय रुपैयाँ अन्तर्राष्ट्रियकरण गर्ने योजना भएको बताएका छन्।
- यस निर्णयले नेपालका व्यवसायीले भारतीय बैंकबाट प्रत्यक्ष रुपैयाँमा कर्जा लिन सक्ने र अमेरिकी डलरमा निर्भरता घट्नेछ।
१६ असोज, काठमाडौं । भारतको केन्द्रीय बैंक (आरबीआई) ले अब भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भूटान र श्रीलङ्का लगायत छिमेकी देशका नागरिकलाई रुपैयाँमै ऋण दिन सक्ने व्यवस्था गरेको छ ।
यसअघि भारतीय बैंकमार्फत यस्तो सुविधा उपलब्ध थिएन । यस निर्णयसँगै नेपाली नागरिक वा व्यवसायिक संस्थाले भारतीय बैंकहरूबाट प्रत्यक्ष रुपैयाँमा कर्जा लिन सक्नेछन् ।
आरबीआईले बुधबार मौद्रिक नीति घोषणा गर्दै नेपाल, भूटान र श्रीलङ्कालाई लक्षित गर्दै नयाँ प्रावधान लागू गरेको हो ।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदमलाई भारतीय रुपैयाँ अन्तर्राष्ट्रियकरण गर्ने ठूलो योजनाको हिस्सा भएको बताएका भारतीय पत्रिका इन्डिएन एक्सप्रेसले जनाएको छ ।
नेपालका लागि के फाइदा ?
अब नेपालका व्यवसायी वा उद्योगपतिले भारतीय बैंकमार्फत प्रत्यक्ष रुपैयाँमा ऋण लिन सक्नेछन् ।
सीमा पार व्यापार वा लगानी गर्दा अमेरिकी डलरमा निर्भर हुनुपर्ने अवस्था घट्नेछ ।
भारतले दिन थालेको यो सुविधा नेपालका लागि ठूलो अवसरका रुपमा हेरिएको छ, किनभने आयात–निर्यातमा हुने भुक्तानी सहज बन्नेछ ।
नेपालसँगै भूटान र श्रीलङ्काका नागरिक वा संस्थाले पनि भारतीय बैंकमार्फत रुपियाँ ऋण सुविधा लिन पाउनेछन् ।
यसलाई भारतले आफ्नो मुद्रा छिमेकी मुलुकमा प्रोत्साहित गर्दै अमेरिकी डलरमा निर्भरता घटाउने रणनीतिको रुपमा हेरिएको छ ।
भारतको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स मुद्रा विरुद्ध धम्कीपूर्ण चेतावनी दिएपछि आएको हो ।
ट्रम्पले ब्रिक्स मुलुकले नयाँ मुद्रा ल्याउने प्रयास गरे आयातमा १०० प्रतिशत कर लगाउने बताएका थिए । यसैका बीच भारतले क्षेत्रीय स्तरमै भए पनि रुपैयाँलाई प्रमुख बनाउने कदम चालेको छ ।
आरबीआईले यसअघि नै विशेष रुपैयाँ भुक्तानी खाता (एसआरभीए) को माध्यमबाट व्यापार भुक्तानीमा रुपैयाँ प्रयोगको ढोका खोलिसकेको थियो ।
तर प्रत्यक्ष कर्जा दिने सुविधा भने पहिलो पटक नेपालसहित छिमेकी मुलुकमा लागू गरिएको हो ।
प्रतिक्रिया 4