+
+
Shares

‘हरिबहादुरको जुत्ता’को शोज बढेपछि हरिवंश : दर्शकले सबै कुराको जवाफ दिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र 'हरिबहादुरको जुत्ता' दशैंको फूलपातीदेखि प्रदर्शनमा आएको छ र दर्शकको सकारात्मक प्रतिक्रियासहित शोज संख्या बढिरहेको छ।
  • चलचित्रमा हरिवंश आचार्यले मुख्य भूमिका निभाएका छन् र ९०/९५ वर्षका हजुरबाआमा देखि ५/६ वर्षका नातीनातिना समेत दर्शक बनेका छन्।
  • निर्देशक दीपेन्द्र के खनालको फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत लगायत कलाकारको अभिनय छ र निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।

काठमाडौं । दशैंको फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनरत छ । सकारात्मक प्रतिक्रियासहित यो फिल्मले शोज संख्या थपिरहेको निर्माता बताउँछन् ।

‘हरिबहादुर’ महसंचारले निर्माण गरेको चरित्र ‘मदनबहादुर हरिबहादुर’को एक पात्र हो । विशेषगरि, रोचक लाग्ने हरिबहादुरको पात्रमाथि नै यो फिल्म आधारित छ ।

यसैले यो फिल्मलाई ‘हरिबहादुर’ श्रृंखलाको ‘स्पिनअफ’ पनि भन्न सकिन्छ । यो फिल्मको शीर्ष भूमिकामा पनि हरिवंश आचार्यले अभिनय गरेका छन् ।

रिलिज भएदेखि नै उनी हल-हलमा पुगेर दर्शक भेटिरहेका छन् । परिवारसहित हलमा पुगिरहेका दर्शकको संख्या धेरै देखिएको छ ।

९०/९५ बर्षका हजुरबाआमा देखि ५/६ बर्षको नातीनातिना पुस्तासम्म हलमा पुगेका छन् । एकै परिवारका २५ जनासम्म संयुक्त रुपमा आएर समेत फिल्म हेरेका छन् ।

हरिवंश भन्छन्, ‘करिब १५/१६ बर्ष अगाडी तयार भएको यो पात्र अहिले पनि दर्शकका लागी उत्तिकै प्रिय लाग्दा निकै खुसी मिलेको छ । हरेक उमेर समूहका दर्शक भेटिरहेको छु र उहाँहरूले दिनुभएको मायाका लागि उत्साहित छु । हामीले फिल्मको प्रचार गर्दा पनि शान्त हिसाबले गरेका थियौं । त्यसको प्रतिफल चलचित्र हलमा देखिरहेको छ ।’

विस्तारै शोज संख्या बढिरहेको तर्फ उनी भन्छन्, ‘हाम्रो चलचित्रलाई सुरुवातमा केहि कम शो मिलेको थियो । हलपनि सानो दिइएको थियो । जब दर्शकबाट चलचित्रको विषयमा राम्रो प्रतिक्रिया आयो, बिस्तारै चलचित्रको प्रस्तुति राम्रो हुँदै गयो । पहिलो दिनभन्दा दोस्रो दिन राम्रो हुँदै गयो र विस्तारै माहोल झन् बन्दै गयो ।’

उनले रिलिजअघि नकारात्मकता फैलाउने कोसिस भएको जनाउँदै भने, ‘चलचित्र रिलिजपछि केहीले नकारात्मकता फैलाउने कोसिस पनि गरे । तर त्यसले कुनै असर नगरेको र दर्शकले सबै कुराको जवाफ दिएको मेरो अनुभूति छ’ उनले भने ।

टेलिभिजनको पर्दामा देखिएको हरिबहादुर र फिल्मको हरिबहादुरमा केही भिन्नता रहेको हरिवंशले बताए । भन्छन्, ‘टेलिभिजनको हरिबहादुरले मान्छेलाई दुःख दिने र रुवाउने काम बढी गथ्र्यो तर चलचित्रको पर्दाको हरिबहादुर भने आफू रोएको छ । हरिबहादुर सज्जन हुन खोजेको छ । हलमा बच्चाहरू हरिबहादुर हेर्न भन्दै आएका छन् ।’

उनी अगाडी थप्छन्, ‘अर्को कुरा फिल्मको कथा केही वर्र्ष अगाडी तयार भएको थियो । यसमा हामीले युवा नेतृत्व आउनुपर्छ भन्ने लेखेका थियौं । समय कस्तो राम्रो र संयोग भयो भने हामीले लेखेको कथा र अहिलेको समयको माग उस्तै भयो । केही दिन अगाडी मात्र जेनजी आन्दोलनले पनि यहि माग उठाएको थियो ।’

के अब ‘हरिबहादुरको जुत्ता २’ बन्ने सम्भावना छ ? यो प्रश्नमा हरिवंश भन्छन्, ‘अहिले यो विषयमा केही सोचेको छैन । यो चलचित्रलाई दर्शकले दिनुभएको प्रतिक्रियाले हामी उत्साहित छौं र यही चलचित्र हेर्ने दर्शक भेट्न दौडिरहेका छौ ।’

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?