
१८ असोज, काठमाडौं । शुक्रबारदेखिको झरीका कारण विभिन्न राजमार्ग र सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार, जोखिमका कारण केही सडकमा आवतजावत गर्न रोक लगाइएको हो भने केहीमा पहिरोका कारण आवतजावत रोकिएको छ ।
नागढुंगा र चन्द्रागिरीबाट काठमाडौं बाहिर जाने राजमार्ग रोकिएको प्रहरीले जनाएको छ । नागढुंगा–मुग्लिन राजमार्गका साथै मकवानपुर जाने चन्द्रागिरीको सडकमा सवारीसाधन चल्न ‘होल्ड’ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नागढुंगा, गोदाम, टखेल हुँदै जाने सडकमा सवारीसाधन चल्न दिएको छैन ।
त्यसैगरी काभ्रेको बीपी र अरनिको राजमार्गमा पनि सवारीसाधन चल्न रोकिएको छ । झरीका कारण जोखिम हुने भएपछि प्रहरीले धुलिखेलदेखि दोलालघाट अनि सिन्धुपाल्चोकसम्मको सडकमा दुवैतर्फबाट सवारीसाधन रोकेको हो ।
चारकिलो भन्ने ठाँउमा अर्को पहिरो जाँदा सडक भासिएको छ । करिब १५ मिटर लामो खण्ड पहिरोले बगेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको माम्तीखोला र बुलढुंगामा पनि पहिरो गएकाले सडक अवरुद्ध भएको छ ।
त्यसैगरी रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ को घट्टेखोलामा सुख्खा पहिरोले गर्दा सडक अवरुद्ध छ ।
नेपाल–चीन नाकामा पुल भत्किएकाले गत असारदेखि नै पासाङ ल्हामु सडक अवरुद्ध छ । त्यसैगरी रसुवाकै बालुवाखानी, तातोपानीको सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
संखुवासभाको भोटखोला–४ बरुणखोलामा बाढी आएको छ । बाढीले ह्यूमपाइप बगाउदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग अवरुद्ध छ । त्यसैगरी खाँदवारी किमाथांक सडक पनि अवरुद्ध छ ।
ओखलढुंगाको मानेभञ्ज्याङमा पहिरो जाँदा सिद्धिचरण राजमार्ग अवरुद्ध छ ।
काठमाडौं हेटौडा जोड्ने अर्को सडक कान्ति राजपथको ललितपुर खण्डमा पनि प्रहरीले सवारी आवागमनमा रोक लगाएको छ ।
प्रतिक्रिया 4