+
+
Shares

अविरल वर्षाले पूर्वका सडकहरूमा क्षति, ठाउँ-ठाउँमा अवरुद्ध (विवरणसहित)

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीक्षण तथा अनुगमन कार्यालय झापा दमकले उपलब्ध गराएको विवरण अनुसार धेरै सडक खण्डहरूमा भूस्खलन, सडक भासिनु, पुल तथा कल्भर्ट भाँचिनुजस्ता घटनाले आवागमन अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निरन्तर वर्षाका कारण पूर्वका विभिन्न सडक खण्डमा भूस्खलन, सडक भासिनु, पुल र कल्भर्ट भाँचिनुजस्ता घटनाले आवागमन अवरुद्ध भएको छ।
  • मिर्चैया–कटारी–घुर्मी सडक ६४ किलोमिटर र गाईघाट–दिक्तेल सडक ३७ देखि ४५ किमीसम्म भूस्खलनले अवरुद्ध भएको छ र एक दिनभित्र खोल्ने काम भइरहेको छ।
  • इलाम–पाँचथर र मेची करिडोरका सडकमा व्यापक क्षति पुगेको छ र यातायात सुचारु गर्न तीन दिनदेखि दुई दिनसम्म लाग्ने अनुमान गरिएको छ।

१९ असोज, काठमाडौं। निरन्तरको वर्षाका कारण पूर्वका विभिन्न सडक खण्डमा ठूलो क्षति पुगेको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीक्षण तथा अनुगमन कार्यालय (FRSMO) झापा दमकले उपलब्ध गराएको विवरण अनुसार धेरै सडक खण्डहरूमा भूस्खलन, सडक भासिनु, पुल तथा कल्भर्ट भाँचिनुजस्ता घटनाले आवागमन अवरुद्ध भएको छ ।

रिपोर्ट अनुसार, हर्कपुर–ओखलढुंगा–सोलु र हलेसी–दिक्तेल–चकहेवा सडक खण्डमा साना भूस्खलन भएका छन् । यी सडकहरू खुला भएपनि लगातार फोहोर माटो हटाउने कार्य भइरहेको छ ।

त्यस्तै मिर्चैया–कटारी–घुर्मी सडक ६४ किलोमिटरमा भूस्खलनले अवरुद्ध छ । एक दिनभित्र खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।

गाईघाट–दिक्तेल सडक अन्तर्गत ३७ देखि ४५ किमीसम्म भूस्खलनले अवरुद्ध भएको छ । सडक सफा गर्ने कार्य जारी छ र एक दिनभित्र सुचारु गर्ने योजना छ ।

धरान–भेडेटार सडक खण्डमा भूस्खलनका कारण आवागमन अवरुद्ध भएको छ भने निसाने खोलातर्फ समेत क्षति पुगेको छ । दुई घण्टाभित्र सडक खोल्ने तयारी भइरहेको छ ।

भेडेटार–मुलघाट र पक्रीबास–लेगुवा सडक खण्डमा धेरै ठाउँमा भूस्खलन हुँदा केही ठाउँमा एकतर्फी सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् ।

इलाम र पाँचथर तर्फका सडकहरूमा व्यापक क्षति भएको छ। विशेषगरी फिक्कल–गोदक, गोदक–मैखोला, नेपालटार–फिदिम खण्डमा सडक बगाएर बन्धा नष्ट भएको छ । कतिपय ठाउँमा पुल र कल्भर्टसमेत बगाएको छ । कतिपय खण्ड अझै अवरुद्ध छन् र तीन दिनभित्र पुनः सुचारु गर्ने लक्ष्य राखिएको छ ।

मेची करिडोरमा समेत ठूलो क्षति भएको छ। लालीखर्क, पुवाखोला र विभिन्न खोल्सामा पुल भाँचिएका छन् । यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध छ र क्षतिको मूल्यांकन भइरहेको छ ।

तामोर करिडोर अन्तर्गत मुलघाट–सुवाङ खोलासम्म समेत पानीको भेल र बाढीले सडक बगाएको छ । कम्तिमा दुई दिन अवरुद्ध हुने अनुमान गरिएको छ । अनुगमन कार्यालयका अनुसार विभिन्न स्थानमा भारी उपकरण परिचालन गरेर सडक खोल्ने काम भइरहेको छ।

केही खण्ड छोटो समयमा खुल्ने भए पनि इलाम–पाँचथर र मेची करिडोरका सडकमा क्षति गम्भीर भएकाले यातायात सुचारु गर्न केही दिन लाग्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?