+
+
Shares

गुण्डा नाइके सानुभाइ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १९:५८

१९ असोज, काठमाडौं । गुण्डा नाइके  सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

उनलाई प्रहरीले धाकधम्कीको आरोपमा पक्राउ गरेको हो ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।

त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

कुमार घैंटे समूहका सदस्य

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?