
२० असोज, बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ ।
चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘हिजो विभिन्न कारणले तयारी पुगेन भनेर उडान स्थगित भयो, आज दिउँसो हुन्छ भन्ने छ’ तिवारीले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा आइपुग्ने र २:४५ बजे काठमाडौं प्रस्थान गर्ने गरी तयारी भएको बताए ।
यात्रुलाई विमानस्थलको काउन्टरबाट टिकट काट्न सिस्टमका कारण समस्या भए पनि प्रशासनले नाम संकलन गरेर त्यसैका आधारमा भएपनि आज दिउँसो पठाउने प्रजिअ पाण्डेले बताए ।
हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।
सोही अनुरुप नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं–भैरहवा र भैरहवा–काठमाडौंसम्मको उडानका लागि ए ३०२ को अनुमति लिएर यात्रुहरुको नाम संकलन समेत गरेको थियो ।
नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ । प्रजिअ पाण्डेका अनुसार उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने छ ।
प्रतिक्रिया 4