
२० असोज, रौतहट । लाल बकैया र बाग्मती नदीको बाढी पसेर रौतहट डुबानमा परेको छ । डुबानका कारण जनजीवन कष्टकर बनेको छ ।
बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् ।
झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू डुबानमा परेका छन् ।
बाढीका कारण गौरबाट बाहिरिने सडकहरू अवरुद्ध भएपछि राजमार्गसँगको सम्पर्क टुटेको छ । बाढीले गौर-कलैया सडकखण्ड पनि अवरुद्ध बनाएको छ ।
सडक सञ्जालमा असर परेपछि गौर भित्रिने वा गौरबाट बाहिर निस्कने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएपी राजु कार्कीले बताए । सदरमुकाम गौरका मुख्य सडकहरूमा ३ फिटसम्म पानी जमेको छ ।
जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालय परिसरमा बाढीको पानी पसेको छ भने सशस्त्र प्रहरीको गौर भन्सारमा रहेको बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको बेलबिछवामा रहेको बीओपी, नेपाल प्रहरीको चौकी, सशस्त्र प्रहरीको नम्बर ११ गण समेत डुबानमा परेका छन् ।
नेपाल-भारत सीमामा रहेको बाँधको ढोका खोल्न नेपाली पक्षले अनुरोध गरे पनि भारतीय पक्षले ढोका खोलेको छैन ।
बाढीको पानीलाई सहज निकास दिन बाँधको ढोकाहरू खुला गरी दिनका लागि रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय समकक्षीलाई अनुरोध गरे पनि भारतीय डीएमले बेवास्ता गरेका छन् ।
नेपाली सुरक्षा प्रमुखहरूले भारतीय पक्षसँग हिजोदेखि नै बाँधको ढोका खोल्न अनुरोध गरेका थिए । तर नेपाली पक्षको अनुरोध बेवास्ता गरेको भारतीय सुरक्षा निकायले बाँधमा सुरक्षा गस्ती बढाएर नेपाल तिरको पानीलाई सुलिस गेटमार्फत सहज निकास दिन तयार छैनन् ।
भारतीय पक्षले बाँधको ढोका थुनेर नेपाली मार्न लागेको भन्दै रौतहटका स्थानीयहरूले सामाजिक सञ्जालमा भारतीय पक्षको चर्को आलोचना गरेका छन् ।
बाढीका कारण रौतहटमा अहिलेसम्म २ जनाको ज्यान भएको छ भने ५०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
बाढीको समय भारततर्फबाट नेपालको गौर नाकामा आएर अलपत्र परेका यात्रुहरूलाई गौर नगरपालिकाको ट्याक्टरले उद्धार गरेर सुरक्षित गन्तव्यतर्फ पठाएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए ।
प्रतिक्रिया 4