+
+
Shares

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् ।

रासस रासस
२०८२ असोज २१ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङका किसान दसैँपछि परम्परागत रैथाने खाद्य बाली फापर थन्क्याउन व्यस्त छन्।
  • फापर खेतीमा मिठे र तिते फापर मुख्य छन् र उत्पादन समुद्री सतहदेखि ३९०० मिटर उचाइसम्म फैलिएको छ।
  • जलवायु परिवर्तनले फापर बालीमा खुम्ले किरा र तुषारोको प्रकोप देखिएको छ र स्थानीय सरकारले संरक्षणका लागि तालिम र अनुदान दिइरहेको छ।

२१ असोज, मुस्ताङ । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ ।

घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् ।

खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ–५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताइन् । फापर काटेर डाठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उनले जानकारी दिइन् ।

फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको किसान थकालीको भनाइ छ ।

जिल्लामा मिठे फापर र तिते फापरखेती हुने गरे पनि मुख्य रुपमा मिठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा सङ्कलन गर्न थालेका उनको भनाइ छ ।

जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापर खेती अपनाउँदै आइरहेका छन् । यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ ।

समुन्द्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ।

फापर बालीअन्तर्गत मिठे फापरको खेती तलो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ।

सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसानले प्रमिलाले जनाइन् । उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याईन्छ । यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरु देखा पर्न थालेको घरपझोङ—५ ठिनीका किसान पाल्साङ गुरुङले बताउनुभयो । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उनको भनाइ छ।

गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पुर्‍याएको उनले बनाए । यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गरे ।

फापर बालीमा ढिडो, रोटीलगायत विभिन्न परिकार निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउने गरेको किसान उनको भनाइ छ ।

जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उनले जानकारी दिए । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उनले बताए ।

फापर बोटको औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रङ्गको हुन्छ। तिते फापरको सेतो रङ्गको फूलहरू फल्दछ।

फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ । यहाँ एकमाथि फापरको मिठोको मूल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ ।

यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ।

घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए। उनले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताए।

पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ । फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ।

यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?