+
+
Shares

पालिका प्रमुखले कार्यवाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…

भिडियो सार्वजनिक भएपछि पालिका अध्यक्ष चौधरीले तानाशाही र हुकुमी शासन चलाइरहेको भन्दै सर्वत्र आलोचना भएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज २१ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीलाई वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंगले मालिस गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • मालिस गर्ने घटना ५ असोजमा गाउँपालिकाको कार्यालयमा भएको थियो।
  • अध्यक्ष चौधरी गाउँसभा नहुने अडानमा सोफामा पल्टिएका थिए।
  • चौधरीमाथि तानाशाही र हुकुमी शासन चलाएको आरोप लागेको छ।

२१ असोज, जनकपुरधाम । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो खुट्टामा एकजना व्यक्तिलाई मालिस गराएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अध्यक्षको खुट्टा दबाएर मालिस गर्ने व्यक्ति हुन्, सोही गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंग ।

गाउँपालिका कार्यालयकै एक सोफामा सुतेका अध्यक्ष चौधरीको खुट्टा दबाउँदै कार्यवाहक वडाध्यक्ष खंगले मालिस गरिरहेको भिडिओमा देखिन्छ । उक्त भिडियो यही ५ असोजको हो ।

भिडियो सार्वजनिक भएपछि पालिका अध्यक्ष चौधरीले तानाशाही र हुकुमी शासन चलाइरहेको भन्दै सर्वत्र आलोचना भएको छ । पालिकामा यस किसिमको अपाच्य क्रियाकलाप तानाशाही शासनको उपज भएको प्रतिक्रिया आइरहेको छ ।

के हो घटना ?

यो घटना गाउँपालिकाको गाउँसभासँग जोडिएको छ । कानुनतः १० असारभित्र भइसक्नुपर्ने गाउँपालिकाको गाउँसभा ४ असोजसम्म भएको थिएन । १० भदौमा गाउँसभा बोलाइए पनि हुन सकेन । त्यसपछि ५ असोजमा बोलाइयो ।

अध्यक्ष चौधरी ५ असोज बिहान १० बजे पालिका पुगेका थिए । वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष तेजनारायण यादव र वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य पनि गाउँपालिका पुगिसकेका थिए ।

बिहान ११ बजेतिर वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष खंग पुग्दा उपाध्यक्षको कार्यकक्षको सोफामा पालिका अध्यक्ष चौधरी पल्टेका थिए । खंगका अनुसार तीनजना वडाध्यक्ष बसिरहेका थिए । केही बेरअघि पालिका अध्यक्ष चौधरी र वडाध्यक्षहरूबीच गाउँसभाको लागि नोकझोक चलेको थियो । त्यसपछि रुष्ट भएका पालिका अध्यक्ष चौधरीले सोफामा पल्टेर गाउँसभा आज नहुने अडान लिए ।

‘म अब घर जान्छु । कपडा पनि छैन । आज परिषद् हुँदैन,’ पालिका अध्यक्षले भनेका कुरा कार्यवाहक वडाध्यक्ष खंगले सुनाए ।

पलिका अध्यक्ष चौधरीले खंगलाई बाबु भन्छन् भने खंगले उनलाई काका भन्ने गरेका छन् । त्यहाँ उपस्थित वडाध्यक्षहरूले पालिका अध्यक्षलाई फकाउन खंगलाई जोडबल गरे ।

खंगका अनुसार वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसादले पालिका अध्यक्षको जिउ-हात दुखेको भन्दै मालिस गरिदिएर फकाउन कर गरे ।

‘अरे हरि, तिमी नै पालिका अध्यक्षलाई मनाऊ, जसरी पनि आज परिषद् हुनुपर्छ । पालिका अध्यक्षको जिउ दबाइदेऊ,’ वडाध्यक्ष गोपालले भनेको कुरा खंगले सुनाए ।

खंग खुट्टा दबाउन मानिरहेका थिएनन् । तैपनि, पनि अरूको जोडबल र परिषद् नहुँदा जनप्रतिनिधि तथा कर्मचारीले दशैंमा समेत तलब-भत्ता खान नपाउने चिन्ताले खंग मालिस गर्न लागे ।

‘परिषद् भएको छैन । तलब रोकेर गाउँपालिका भत्ताभुंग छ । जनप्रतिनिधि र कर्मचारीले तलब-भत्ता खान पाएका छैनन्,’ खंगले भने, ‘जसरी पनि परिषद् गरिदिनुस् । बरु खुट्टै दाबिदिन्छु भनेर पालिका अध्यक्षलाई मनाउने प्रयास गरें । दुई मिनेटजति खुट्टा दबाएँ ।’

त्यहाँ बसेका अन्य वडाध्यक्षले पालिका अध्यक्षलाई कार्यवाहक वडाध्यक्षले मालिस गरेको भिडियो खिचेको खंगको भनाइ छ ।

‘जसरी पनि परिषद् गराउनुपर्छ भनेर अध्यक्षलाई फकाउन वडाध्यक्षहरूले नै जोडबल गर्नुभयो । उहाँहरूले नै भिडियो खिचिरहनुभएको थियो । अहिले सार्वजनिक भएको छ,’ खंगले भने, ‘मैले अध्यक्षलाई काका भन्ने गरेको छु । काकालाई फकाउन खुट्टा हल्का मालिस गरेको हुँ । मैले गल्ती गरे जस्तो लाग्दैन । म त अनपढ मान्छे हुँ नि।’

वडाध्यक्षहरूकै अडानले त्यसै दिन गाउँसभा समेत सम्पन्न भएको थियो ।

वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्यले आफू कार्यालयको प्रांगणमा रहेकै बेला उक्त घटना भएको बताए । जसरी पनि गाउँसभा गर्न पालिका अध्यक्षलाई दबाब दिन र फकाउने प्रयासमा कुनै कसर बाँकी नरहेको उनको भनाइ छ ।

‘त्यो भिडियो खिचिरहेको को बेला म बाहिर प्रांगणमा थिएँ । त्यही घटनाका कारण गाउँसभा सम्भव भयो,’ आचार्यले भने, ‘अध्यक्ष र हरिबीच काका-भतिजको जस्तो व्यवहार भइरहन्छ । त्यसैले त्यो ठूलो इस्यू हो जस्तो मलाई लाग्दैन ।’

खंग वडा नम्बर ५ को कार्यवाहक वडाध्यक्ष बनेको दुई वर्ष जति भयो । वडाध्यक्षमा निर्वाचित शब्दुल मियाँ भ्रष्टाचारमा दोषी ठहर भएपछि वरिष्ठताको आधारमा खंगलाई कार्यपालिकाले कार्यबाहक वडाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

भिडियो सामाजिक सञ्जालमा हेरेपछि आफूले घटना थाहा पाएको अग्निसाइर कृष्णवरन गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले बताइन् ।

‘मैले पनि मालिसको भिडियो सामाजिक सञ्जालमा हेरें,’ उनले भनिन्, ‘उहाँले किन त्यसो गर्नुभयो उहाँहरू दुई जनालाई थाहा होला ।’

गाउँपालिकामा मिश्रित परिणाम भएकोले बेलाबेलामा स्वार्थको विवाद हुने गरेको छ । ६ वटा वडामा एमालेले पालिका अध्यक्षसहित १ र ५ वडा जितेको छ ।

नेपाली कांग्रेसले उपाध्यक्षसहित वडा नम्बर ३, ४ र ६ जितेको छन् । वडा नम्बर २ भने माओवादीले जितेको छ ।

चार वर्षअघि धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कार्यालयकै सोफामा यसरी नै कार्यालय सहयोगीलाई मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसबेला उनको पनि चर्को आलोचना भएको थियो ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?