
२१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।
उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।
’निर्वाचन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण बनाउँछ । त्यसका लागि के स्रोत साधन चाहिन्छ जानकारी गराउनुहोस् भन्नुभएको छ’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने ।
आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले पनि जानकारी दिए ।
स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।
आयोग पदाधिकारीहरूले निर्वाचनका बिषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।
निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि अध्यादेश पनि जारी भएको छ ।
त्यस्तै निर्वाचन कार्यतालिका नै बनाएर आयोगले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया 4