+
+
Shares

गण्डकी प्रदेशसभा बैठक : प्रतिकूल परिस्थितिका कारण अनिश्चित

अझै परिस्थिति अनुकूल नभएको र तयारी पनि नपुगेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असोज २२ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा पोखराको नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएका छन्।
  • गण्डकी प्रदेशसभाको बैठक २२ असोजका लागि डाकिएको थियो तर परिस्थिति अनुकूल नभएपछि स्थगित गरिएको छ।
  • जेनजी आन्दोलनपछि प्रदेशका सरकारी संरचनामा क्षति पुगेको र पुनर्निर्माणका लागि बजेट आकलन गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिएका छन्।

२२ असोज, पोखरा । पोखराको नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन, सचिवालय लगायतका संरचना जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा जलेर ध्वस्त भए ।

२५ भदौका लागि डाकिएको गण्डकी प्रदेशसभा बैठक देशैभरि भएको जेनजी आन्दोलन र त्यसले नित्याएको परिणमले अनिश्चियको भूमरीमा पर्न गयो ।

जेनजी आन्दोलनका क्रममा देशभर सरकारी संरचना तोडफोड, आगजनी हुन पुग्यो । केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेका सरकार नै ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । जेनजी आन्दोलनपछि संघीय सरकार बदलिए पनि प्रदेशमा भने पुरानै सरकार छ ।

संरचना तोडफोड, आगजनीले प्रदेशका सरकारका संरचनाहरू पनि अधिकांश ध्वस्त भएका छन् । क्षतिको विवरण संकलन, तत्काल काम गर्न मिल्ने भवनबाट सेवा थाल्दै बुधबारका लागि गण्डकी प्रदेशसभा बैठक डाकिएको थियो । तर अझै परिस्थति अनुकूल नबन्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ ।

नदीपुरस्थित प्रदेशसभा लगायतका भवन पूर्ण रूपमा ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको प्रांगणमा रहेको सभा हलमा बुधबार १ बजेका लागि संसद् बैठक डाकिएको थियो । तर अझै परिस्थिति अनुकूल नभएको र तयारी पनि नपुगेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

गण्डकी प्रदेशसभा भवन र सचिवालयका कार्यालयहरू जलेर ध्वस्त भए पनि प्रदेश मामिला समितिको कोठा बाँकी थियो । त्यही एउटा कोठाबाट सचिवालयका काम चलाइएको छ भने कृषि मन्त्रालय मातहतको सभा हललाई संसद् बैठक सञ्चालनका लागि जुगाड गरिएको थियो ।

जेनजी आन्दोलनपछिको परिस्थिति अझै अनुकूल भइनसकेकाले तत्काल सदन नचलाउँदा उपयुक्त हुन्छ भन्ने दलहरूको रायअनुसार नै बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । बैठकको कार्यसूची तयार गर्नका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको थियो ।

बैठकअघि सदन चल्ने हलको निरीक्षणसमेत दलका पदाधिकारीहरूले गरेका थिए । हलमा रहेको कुर्सी, टेबल नै प्रयोग गर्ने, साउन्ड सिस्टम भाडामा लिएर चलाउने र संसद्‌को कारबाही मोबाइल रेकर्डमा राख्ने तयारी गरिएको थियो ।

तत्काल कामचलाउ हिसाबले सभा हलको तयारी गरिएको भए पनि दल भने अझै परिस्थिति अनुकूल भइनसकेकाले तयारी गर्नुपर्नेमा एकमत देखिए ।

सभामुख धितालको अध्यक्षतामा कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस, एमाले र माओवादी दलका प्रमुख सचेतक र सचेतक पुगेका थिए ।

‘अहिलेको परिस्थितिमा मितव्ययी र काम चलाउ भए पनि हलको व्यवस्था गरिएको थियो । तर दलका साथीहरूले सुरक्षा र रेकर्ड सिस्टमलगायत अझै तयारी गरौं भन्नु भएपछि स्थगित भयो,’ सभामुख धितालले अनलाइनखबरसँग भने, ‘दलहरुको केन्द्रीय बैठक पनि सामुन्ने भएकाले त्यसपछि मात्र बैठक राखौं भन्ने आसय थियो ।’

नेकपा माओवादीले केन्द्रीय समिति भंग गरे महाधिवेशन गर्ने बताइसकेको छ भने नेकपा एमाले र कांग्रेसले केन्द्रीय समिति बैठकको तयारी गरिरहेका छन् ।

त्यसैले दलहरू केन्द्रीय बैठकपछि मात्र सभा राख्ने पक्षमा देखिएका हुन् । २६ गतेबाट कांग्रेस र २७ गते एमालेले केन्द्रीय समितिको बैठक राखेको नेताहरूको बताएका छन् ।

‘यसअघि भदौ २५ गतेलाई बैठक डाकिएको थियो, त्यो दिन देशको परिस्थिति नै अनिश्चयमा थियो, नेताहरूको छलफलमा अलि पछि बैठक डाक्ने भनेर सल्लाह भएको थियो र २२ गतेलाई तय भएको थियो । अझै केही दिन तयारी गरौं र केन्द्रीय समितिको बैठक पनि हेरौं भनेर साथीहरुले भन्नुभयो,’ सभामुख धितालले भने ।

शून्य र विशेष समयमा सांसदले आफ्ना कुरा राख्ने, खानी सञ्चालन विधेयक पारित गर्ने, गाँजा विधेयक पेश गर्ने र गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक पनि पेश गर्ने तयारी थियो ।

क्षतिको विवरण संकलन गरेर पुनर्निर्माणका लागि आवश्यक बजेटको पनि आकलन गर्ने र तत्काल कार्यान्वयन नगरे पनि हुने चालु खर्च र आवश्यक परे त्यस्ता विकास खर्च पनि कटौती गर्ने र संसद बैठक पनि सुरु गर्ने तयारी गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

संघको समन्वय र सहयोगबिना पनि प्रदेशले गर्नसक्ने काम आफैं गरेर अगाडि बढ्ने तयारी गरिएको तर संसद् बैठकका निम्ति अझै तयारी गर्ने गरी अगाडि बढिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

कांग्रेसका सचेतक प्रकाश बरालले बैठकमा सांसदका लागि आवश्यक माइक, रेकर्ड सिस्टम पनि व्यवस्थित नभएको र मोबाइलबाट रेकर्ड गर्नुपर्ने परिस्थितिले पनि स्थगित गर्नुपर्ने देखिएको बताए ।

कार्यव्यवस्था परापर्श समितिको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा गएका थिए । बैठकमा राप्रपा भने सहभागी थिएन । राप्रपाका सांसदले देशभर राजीनामा दिएको बताए पनि प्रदेश संसदलाई जानकारी गराइएको छैन ।

मुख्यमन्त्री र दलका नेताहरुको बैठक बसेर मात्र अब संसद् बैठक आह्वान गर्ने निष्कर्ष निकालिएको एमाले सचेतक देवका पहारीले बताइन् ।

नेकपा माओवादीका दलका नेता हरिबहादुर चुमानले तयारी पनि नपुगेको र अझै परिस्थिति अनुकूलसमेत नभइसकेकाले अहिलेलाई स्थगित गर्दा नै उपयुक्त हुन्छ भन्ने मत सबै दलको देखिएको बताए । उनले जेनजी आन्दोलनपछि पनि एकपटक मुख्यमन्त्रीसहित दलका नेताहरुको छलफल भएको जनाए ।

जेनजी आन्दोलनपछि झनै प्रदेशमाथि पनि अनेक कोणबाट प्रहार भइरहेकाले तत्काल बैठक राख्नुभन्दा सारेर परिस्थितिलाई हेर्न ठिक हुने राय नेताहरुको देखिएको उनको भनाइ थियो ।

‘प्रदेशमाथि विभिन्न तत्वहरूले खेलिरहेका छन् । भौतिक संरचनामा क्षति पुगेको छ । यो बेला परिस्थितिलाई अनुकूल बनाउन पनि बैठक राख्ने कि भन्ने सल्लाह भएको हो,’ चुमानले भने, ‘तर, उहाँहरू (सत्तापक्षका कांग्रेस र एमाले) लाई यो बेलामा सदन चलाउँदा झनै परिस्थिति बिग्रिने हो कि भन्ने पनि लाग्यो होला । तयारी नपुग्ने कुरा पनि स्वाभाविकै भयो ।’

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज नेतृत्वमा कांग्रेस-एमालेको सरकार छ र ९ मन्त्रालय छन् । जहाँ मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीबाट ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनेका फणिन्द्र देवकोटाले राजीनामा दिएका छन् ।

संसद्‌मा कांग्रेस एमालेका ५१ सांसदसहित दुई तिहाइभन्दा ठूलो बहुमत छ । माओवादीका सभामुखबाहेक ६ सांसद छन् भने राप्रपाका २ सांसद छन् । मनाङबाट स्वतन्त्र सांसद निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर हुँदै पदमुक्त भएपछि पद रिक्त छ ।

जेनजी आन्दोलनमा संसद् भवन, सचिवालयसहित ३ वटा संसदीय समिति, सबै दलका कार्यालय, पुस्तकालय, सवारी साधनलगायत सबै संरचना जलेर ध्वस्त भएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?