+
+
Shares

बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:३७

२२ असोज, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् ।

फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए ।

उनले २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारीदिँदै फरार भएकालाई पक्राउ गर्न अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताए ।

‘केही अभिभावकले सम्पर्कमा छन् पनि भन्नुभएको छ तर सम्पर्कमा आएको देखिएन’, उनले भने । फरार भएकाहरु १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बालसुधार गृहमा १२२ बालबन्दी रहेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए ।

प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दशैंमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।

नौबस्ता बाल सुधारगृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ ।

सो समभित्र बाल सुधारगृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबन्दी र फरार थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा कार्यदल निर्माण भएको जानकारी दिए ।

उनले फरार भएकाको खोजीका लागि स्थानीय तहलगायतका स्थानमा पत्राचार भएको उल्लेख गर्दै प्रहरीले पनि आन्तरिक रुपमा खोजतलास गरिरहेको बताए । ‘आजै मात्रै पनि एक जना सम्पर्कमा आएको छ, केही दिनमा उनी कञ्चनपुरबाट आउँदै छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?