
२२ असोज, काठमाडौं । सुनको मूल्य भारी दरले बढिरहेको छ । नेपाली बजारमा बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँको उच्चतम रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार अमेरिकी डलर नाघेर रेकर्ड बनेको छ ।
उच्च मूल्यबीच दिपावली तथा विवाहको सिजन सुरु हुनै लागेकाले नेपाली बजारमा माग ह्वात्तै बढेको छ । तर, व्यवसायीले सुन दिन नसक्ने अवस्था आएको भन्दै हात उठाएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य यतिबेला व्यवसायीले नै सुन नपाएको बताउँछन् ।
‘दिपावली र बिहेको सिजन सुरु हुन लागेकाले माग बढेको छ, तर व्यवसायीले पाइरहेका छैनन्,’ बज्राचार्यले भने ।
अहिले गरगहना बनाउन गएका उपभोक्तालाई पनि व्यवसायीले फर्काइरहेका छन् । गरगहना बनाउन आएकालाई पनि अहिले फर्काउनुपरेको अवस्था रहेको व्यवसायी बताउँछन् ।
महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य भाउ अझै बढ्छ भन्ने डरले पनि यतिबेला माग बढेको बताउँछन् । ‘मूल्य दिनदिनै बढिरहेपछि आम सर्वसाधारणमा भाउ अझै बढ्छ भन्ने डरका कारण अहिले माग बढेको देखिन्छ,’ उनले भने, ‘अर्कातर्फ, मागको उतारचढाव अनुसार आपूर्ति नमिल्दा अभाव भएको हो ।’
कुनै समय बजारमा सुनको माग नै नहुने र सुन थुप्रिने समस्या रहने गरेको र कुनै समय बजारमा अत्यधिक माग हुने र सुन नहुने अवस्था हुने गरेको उनले बताए । तत्कालै उपभोक्ताका लागि मात्रै बजारमा ५ सय किलो सुन खपत हुने अवस्था रहेको व्यवसायी बताउँछन् ।

नेपालमा वाणिज्य बैंकहरूले सुन ल्याएर व्यवसायीलाई बेच्छन् । वाणिज्य बैंकबाहेक अरूले सुन ल्याउन पाउँदैनन् । बैंकले सुनचाँदी व्यवसायीका संगठन र संगठनले आफ्ना सदस्य व्यवसायीलाई सुन वितरण गर्छन् । व्यवसायीले पाएको सुन गरगहना बनाएर मात्रै ग्राहकलाई बेच्न पाउँछन् ।
विदेशबाट सुन ल्याउन वाणिज्य बैंकहरूलाई मात्रै अधिकार दिइएको व्यवसायीले विरोध जनाउँदै आएका छन् ।
वाणिज्य बैंकले आलोपालो सुन ल्याउँदै आएका छन् । नेपाल बैंकर्स संघका अनुसार अहिले बैंकहरूसँग पनि सुन सकिएको छ । बैंकहरूसँग २० असोजसम्म ३२ किलोमात्र सुन मौज्दात छ । विगतमा ३/४ सय किलो सुन मौज्दात रहन्थ्यो । जतिबेला स्वदेशमा सुनको माग हुन्छ, त्यतिबेलै बैंकले ल्याउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई दैनिक २० किलो सुन आयात गर्न पाउने गरी सीमा तोकिदिएको छ । अघिल्ला दिनमा सुन नल्याएको भए ती दिनसमेत जोडेर एकमुष्ठ ल्याउन पाउने व्यवस्था छ । सहज व्यवस्था भए पनि बैंकहरूले भने पर्याप्त नल्याएको व्यवसायीको गुनासो छ ।
‘आजभोलिमै १ सय किलो सुन आउँदैछ, त्यसकारण तिहारलाई अभाव हुँदैन,’ बैंकर्स संघका एक उच्च अधिकारीले भने, ‘लक्ष्मी सनराइज बैंकले ५० र सानिमा बैंकले ५० किलो सुन ल्याउँदैछन् ।’
बीचमा दशैंको बिदाका कारण सुन आयात र वितरण रोकिएकाले केही समस्या भएको संघको दाबी छ । बैंकले सुन ल्याउँदा फाइदालाई प्राथमिकता दिने भएकाले आयातमा समस्या झेल्नुपरेको व्यवसायी बताउँछन् ।
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै भयो, मूल्य घट्ने आशले पनि होला बैंकले सुन ल्याएनन्,’ एक व्यवसायीले भने, ‘अर्कातर्फ, सुन ल्याएपछि भण्डारण र बीमाका कारण लागत बढ्न सुरु हुन्छ ।’
विगत कुनै बेला बैंकसँग नै सुन थुप्रिएका कारण लागत नै नउठ्ने अवस्था आएकाले पनि बैंकले सुन ल्याउन आलटाल गरेका छन् । सुन ल्याएपछि भण्डारण र बीमा शुल्कजस्ता रकम छँदैछ, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि मूल्यको समेत जोखिम हुने गरेको छ ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा भने अभाव हुनुपर्ने कुनै कारण नरहेको दाबी गर्छन् ।
‘दैनिक २० किलो कोटा अनुसार समेत सुन ल्याउन पाइरहेका छैनौं, ल्याएको सुन पनि व्यवसायीले नलगेको विगतका थुप्रै उदाहरण छन्,’ उनले भने । व्यवसायीले सुन पाएनौं भन्नु गलत रहेको उनी बताउँछन् ।
‘बैंकले संघ, महासंघलाई सुन दिने हुन्, संघ र महासंघ मार्फत व्यवसायीलाई जान्छ, त्यसैले सुन पाइएन, हाहाकार छ भन्नु गलत हो,’ शर्माले भने ।
बैंकबाट मात्रै सुन ल्याउन पाउने व्यवस्था परिमार्जन गरेर सहज बनाइनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । व्यवसायीका संगठनलाई नै सुन आयात गर्न दिनुपर्ने माग उनीहरूको छ ।
किन बढिरहेको छ भाउ ?
नेपालको मागले सुनको मूल्यलाई खास असर पर्दैन । यतिबेला नेपाल मात्रै नभएर भारतमा पनि सुनको माग बढेको छ । भारतमा पनि दिपावलीका कारण सुनको माग बढेको हो । भारतको माग ठूलो हुने भएकाले त्यसले केही हदसम्म मूल्यलाई असर पार्दछ ।
अर्कातर्फ, विश्वका ठूला लगानीकर्ता र केन्द्रीय बैंकले समेत खरिद गरिरहेका छन् । अगस्टमा केन्द्रीय बैंकहरूले १५ टन सुन रिजर्भमा बढाएको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।
जुलाईको तुलनामा अगस्टमा रिजर्भ बढाएका छन् । कजाकस्तान, बुल्गेरिया, टर्की, चीनका केन्द्रीय बैंकले तुलनात्मक रूपमा रिजर्भ बढाएको काउन्सिलले जनाएको छ ।
अमेरिका, बेलायत लगायत अन्य देशका केन्द्रीय बैंकले ब्याजदर घटाउँदै लैजाने रणनीति कार्यान्वयन गर्दै गएका छन्, जसले गर्दा सुनको माग बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अर्कातर्फ, अमेरिकासँग विभिन्न देशको व्यापारिक युद्धका कारण ती देशले डलरभन्दा सुनको रिजर्भलाई जोड दिएका छन् । यही कारण सुनको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार केन्द्रीय बैंकहरूले विदेशी मुद्रा र सुनलाई लगानीको प्रमुख माध्यम बनाएका हुन्छन् । अहिले तीन कारण सुनको भाउ बढेको उनी बताउँछन् ।
पहिलो, घट्दो ब्याजदर । विश्वका धेरै देशमा ब्याजदर घट्दै जाने अवस्था रहेको र यसबाट लगानीकर्ता पनि सुनतिर आकर्षित भएको उनले बताए ।
दोस्रो, भारत, चीनसहित केन्द्रीय बैंकले सुनको मौज्दात बढाउनु । ‘ती देशका केन्द्रीय बैंकले भौतिक सुनको मौज्दात बढाएका छन्, यसले पनि मूल्यलाई असर परेको छ,’ उनले भने । ब्याजदर घट्दा सुनको भाउ बढ्ने सैद्धान्तिक मान्यता छ ।
‘ब्याजदर कममा आएपछि ब्याजदर भन्दा बढी फाइदा हुने इन्स्ट्रुमेन्ट खोजी हुन्छ, यसका लागि अहिले सुनलाई सबैभन्दा सहज हेरिएको छ,’ उनले भने ।
तेस्रो, अमेरिकासँग चीन, भारत लगायत देशको व्यापार युद्धले पनि असर पारेको हो ।

एक वर्षमा ४८.६ प्रतिशत बढ्यो सुनको भाउ
एक वर्षमै सुनको भाउ नेपाली बजारमा ४८.६ प्रतिशत बढेको छ । अर्थात् प्रतितोला करिब ७८ हजार रुपैयाँ बढेको छ । गत वर्ष २२ असोजमा सुनको भाउ नेपाली बजारमा प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो । ठिक एक वर्षमा यो मूल्य २ लाख ३८ हजार पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सोही अनुसार मूल्य बढेको छ ।
एक वर्ष अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६ सय ५० डलरबाट बढेर ४ हजार ३० डलर हाराहारी पुगेको छ । अन्तर्राष्ट्रिय रूपमा कमोडिटी बजारमा सुनमा लगानी गरेर लाभ लिने विकल्प रहे पनि नेपालमा अवसर छैन । जसले गर्दा सुनको मूल्यवृद्धिबाट नेपालले लाभ लिन सकेकै छैन ।
नेपालमा भौतिक रूपमा पनि सुनमा लगानी अवसर छैन । उपभोक्ताले भौतिक रूपमा काँचो वा ढिक्का सुन खरिद गर्न पाइँदैन । गहनाका रूपमा मात्रै खरिद गर्न सकिन्छ । गहनाका रूपमा खरिद गर्दा ज्याला र जर्तीका कारण मूल्य करिब १२ प्रतिशत बढी पर्न जान्छ । अर्कातर्फ, हालै थपिएको २ प्रतिशत विलासिता कर समेत तिर्नुपर्दछ ।
प्रतिक्रिया 4