
News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्से परिसूचकले सुरुवाती ३ मिनेटमै १०२ अंक अर्थात् ४ प्रतिशत वृद्धि गरी २६७५ अंकमा पुगेको थियो।
- सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएपनि अन्त्यमा नेप्से २२.५९ अंकले बढेर २५८२ अंकमा बन्द भयो।
- दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भएकोमा २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घटेको छ।
२३ असोज, काठमाडौं । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।
त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।
दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।
व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढे ।
विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ५.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशत घट्यो । भूगोल इनर्जीको ५.४३, आत्मनिर्भर लघुवित्तको ३.३७ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
सुरुमा किन उचालिएको थियो बजार ?
नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिका हकमा लाग्दै आएको सेयर कर्जाको सीमा हटाएको छ ।
व्यक्तिले सेयर कर्जा लिँदा अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै पाउनेगरी सीमा तोकिएको थियो । सो सीमा हटाउनुका साथै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद र बिक्रीमा पनि सहजीकरण गरिदिएको छ ।
बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।
त्यस्तै सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकको यी तीन व्यवस्थाका कारण सुरुमै बजार उचालिएको थियो ।
यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी बढाउने अनुमानले लगानीकर्तामा उत्साह देखिएको थियो । तर पहिलो सर्किट ब्रेकपछि बिक्री चाप बढेसँगै बजारको वृद्धि खुम्चिएको हो ।
प्रतिक्रिया 4