+
+
Shares

भूकम्पले जीर्ण बनेको भद्रकाली मन्दिरको पुनर्निर्माण चालु आर्थिक वर्षमै सक्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले भूकम्पले जिर्ण बनेको भद्रकाली मन्दिर पुनर्निर्माणको काम चालु आर्थिक वर्षभित्रै सकिने जनाएको छ।
  • पुनर्निर्माणमा परम्परागत नेवारी वास्तुशिल्प र पुराना काठको पुन:प्रयोग गरी दैनिक दुई सिफ्टमा काम भइरहेको छ।
  • परियोजनाको कुल लागत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ रहेको र २०७२ सालको भूकम्पपछि पुनर्निर्माण सुरु गरिएको छ।

२३ असोज, काठमाडौं । भूकम्पले जीर्ण बनेको भद्रकाली मन्दिर पुनर्निर्माणको काम चालु आर्थिक वर्षभित्रै सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मन्दिरलाई मौलिक परम्परागत शिल्प र शैलीमा पुनरुत्थान गरेर चालु आर्थिक वर्षमै काम सक्नेगरी दैनिक दुई सिफ्टमा काम गरिरहेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले महानगरको सम्पदा विभागमार्फत सञ्चालन भइरहेको यो पुनर्निर्माण योजना विभागको इतिहासमै सबैभन्दा ठूलो परियोजना मानिएको उल्लेख गरेका छन् ।

मन्दिरको पुनर्निर्माणको काम २०८१ असार २७ गतेदेखि सुरु भएको हो । मेयर साहका अनुसार हाल दैनिक दुई सिफ्ट (बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म) काम भइरहेको हो ।

हालसम्म निर्माणको करिब ५० प्रतिशत भौतिक प्रगति उनले बताएका छन् । मन्दिर परिसरका उत्तरतर्फ भृकुटीमण्डपतिरका दुई ब्लक आपसमा जोडिएका छन् भने दक्षिणतर्फ नेपाली सेनाको पेट्रोल पम्पतिर रहेका तीन ब्लक पनि जोडिएका छन् ।

दक्षिण ब्लकका तीनै भवन छानासम्म पुगेका छन् भने अहिले इन्टेरियर काम मात्र बाँकी छ । उत्तर ब्लकमा रहेका दुई संरचनामध्ये ‘ए ब्लक’ सानो विवादका कारण छलफलमा रहेको र ‘बी ब्लक’ दोस्रो तल्लासम्म पुगेको बताइएको छ ।

महानगरका अनुसार सम्पूर्ण संरचना परम्परागत नेवारी वास्तुशिल्पमा बन्दैछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम, पुराना काठको पुन:प्रयोग र नेपाली सालको काठ प्रयोग गरिएको छ ।

छानामा झिँगटी छापिएको छ भने सिमेन्ट वा रडको प्रयोग नगराई चुना–सुर्की प्रयोग गरिएको छ ।

पुराना बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टा कुँदिएका छन् । साथै परम्परागत ‘चखुं प्वा:’ पनि समावेश गरिएको छ ।

मन्दिर परिसरमा घोडेजात्रालाई ध्यानमा राख्दै ‘याक: फल्चा’ (एक्लो फल्चा) निर्माण भइरहेको छ ।

वरिपरिका सत्तलहरूको पुन:निर्माणसँगै सुरक्षा पर्खाल पनि निर्माण हुनेछ । सम्पूर्ण परिसरको क्षेत्रफल ३९ हजार वर्गफिट रहनेछ ।

परियोजनाको डिजाइन काठमाडौँ महानगरको सहरी योजना आयोग र सम्पदा विभागले तयार गरेको हो ।

परियोजनाको कुल लागत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ रहेको छ । सार्वजनिक खरिद प्रक्रियामार्फत छानिएको निर्माण कम्पनीसँग ०८१ जेठ ६ गते सम्झौता गरी असार ४ गते कार्यादेश दिइएको थियो ।

२०७२ सालको भूकम्पले भद्रकाली मन्दिर परिसरका धेरै संरचना जीर्ण बनेका थिए । त्यसपछि मन्दिरको गरिमा जोगाउन पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी, सत्तललगायत भवनहरूको पुनर्निर्माण भइरहेको हो ।

महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी यस्ता स्मारकसँगै काठमाडौँको सांस्कृतिक सभ्यतालाई पुनरुत्थान गतिमा अघि बढाइरहेका छौँ ।’

पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर धार्मिक र सामाजिक गतिविधिका लागि आकर्षक गन्तव्यका रूपमा थप पहिचान स्थापित गर्ने महानगरको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?