
२४ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शन र विपद्का क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाटै रकामान्तर गर्ने भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा भएको सार्वजनिक संरचनाको पुनर्निर्माण, आन्दोलनबाट प्रभावितहरूका राहत तथा आर्थिक पुनरुत्थान गर्न आवश्यक बजेट चालु आर्थिक वर्षकै बजेटबाट व्यवस्था गर्ने सरकारको निर्णय छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शन, बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, मर्मतसम्भारका लागि चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रबाटै सीमा नरहने गरी रकमान्तर गर्न अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय भएको बताए ।
जेनजी प्रदर्शनका क्रममा भएको क्षतिले प्रभावित सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न, र चालु आर्थिक वर्ष भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक रकम व्यवस्थापन बजेटबाटै गर्ने निर्णय भएको उनले बताए ।
माथि उल्लेखित प्रयोजनका लागि बजेट व्यवस्थापनको निर्णयबारे उनले भने, ‘चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकामान्तर सीमा कायम नहुने गरी रकमान्तर गर्ने सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ ।’
प्रतिक्रिया 4