
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मेयर देवकुमार नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
- सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लामो समय राजनीतिक संरक्षणमा रोकिएको थियो र नयाँ महान्यायाधिवक्ताको निर्देशनपछि मात्र मुद्दा दायर भएको छ।
- देवकुमार नेपालीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन आरोपमा अनुसन्धान भएको थियो, तर तत्कालीन सरकारले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरेको थियो।
२५ असोज, पोखरा । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।
बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ ।
पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए । ’यसअघि सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो,’ शर्माले अनलाइनखबरसँग भने ।
सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो । एमालेबाट ढोरपाटन नगरपालिकामा दोस्रो पटक मेयर पदमा विजयी नेपालीलाई केपी ओली सरकारले सम्पति शुद्धीकरण मुद्दा नलगाएर जोगाउन खोजेको आरोप थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिव तीन अर्ब विगो सहितको फाइल पेश गरे पनि जिल्ला सरकारी वकिलको कार्यालय, बाग्लुङले एक अर्ब ५८ करोड रुपैयाँ मात्रै विगो मागदावी सहित मुद्दा चलाएको हो । यो अवधिमा मिलापत्र भएको रकम घटाएको स्रोतले बतायो ।
नेपालीमाथि यसअघि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन आरोपमा अनुसन्धान भएको थियो । तर तत्कालीन सरकारको पालामा उनीमाथि सहकारी ठगीको आरोपमा मात्र मुद्दा दायर भएको थियो ।
‘एमाले नेताहरुले देवकुमार नेपाली हाम्रो मान्छे हुन्, उनलाई अप्ठेरो पार्ने काम गर्न हुँदैन भनेर दबाब दिए, तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले फाइल बढ्नै दिएनन्’ जिल्ला सरकारी वकिलको कार्यालय, बाग्लुङसम्बद्ध स्रोत भन्छ, ‘बडालको हस्तक्षेपका कारण डेढ वर्षदेखि फाइल रोकेर राख्नुपरेको थियो, अहिले बल्ल नयाँ महान्यायाधिवक्ताले चासो राखेपछि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।’
माओवादी छाडेर एमालेमा प्रवेश गरेका देवकुमार नेपाली अहिले बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर हुन् । पोखराको सूर्यदर्शन सहकारीको नेतृत्व गर्न नपाएपछि उनले बाग्लुङमा २०६८ सालमा इमेज सहकारी स्थापना गरेका थिए ।
अपराधको संरक्षण
असार, २०८० मा बाग्लुङको इमेज सहकारी ठगी मुद्दा दायर भएको थियो । केपी ओली प्रधानमन्त्री बनेको केही महिनापछि सहजीकरणको तारतम्य मिलाएर डेढ वर्षदेखि फरार देवकुमार नेपाल फर्किन लागेका थिए । नेपाल आउने क्रममा ११ असोज, २०८१ मा उनी भारतमा पक्राउ परेका थिए । त्यसपछि नेपाल ल्याइएका उनी अदालतमा पेश भएपछि पुर्पक्षका लागि थुनामा गएका थिए ।
उनीमाथि सहकारी ठगीको मुद्दा चल्दा नै जेठ, २०८१ मा सम्पत्ति शुद्धीकरणको मुद्दा सरकारी वकिलको कार्यालयमा पेश भएको थियो । त्यहाँका प्रमुख समेत रहेका उपन्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले मिलापत्रको सम्भावना रहेको विषयमा संगठित अपराधको मुद्दा समेत नचलाएको भन्दै सम्पत्ति शुद्धीकरणको फाइल रोकेको आरोप छ ।
पछि सोधपछि हुन थालेपछि ‘महान्यायाधिवक्ताले सोझै चासो राखेको फाइल उहाँको निर्देशनविना अघि बढाउन सक्दिनँ’ भनी जवाफ दिएको स्रोतले बतायो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै नेपाली लगायतमाथि १७ जनामाथि सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो ।
त्यतिबेला सम्पत्ति शुद्धीकरणको मामिलामा नेपालको साख अन्तर्राष्ट्रिय रुपमा गिर्दो अवस्थामा थियो । ‘अब्जर्भेसन’मा रहेको नेपालले केही महत्वपूर्ण काम नगरेमा ‘ग्रे लिष्ट’(जोखिमपूर्ण मुलुक) मा जाने निश्चित थियो । त्यस्तो अबस्थामा तीन अर्बभन्दा बढी सम्पत्ति शुद्धीकरण भएको निष्कर्ष सहितको फाइल राजनीतिक संरक्षणमा होल्ड भएको थियो । फागुन, २०८१ मा नेपाल ग्रे–लिष्टमा गएपछि समेत फाइल अघि बढाउन सरकारी वकिलहरुले चासो दिएनन् ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा बरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता बनेकी छन् । उनले ब्रिफिङ लिने क्रममा केही सरकारी वकिलहरुले बाग्लुङको सरकारी वकिलको कार्यालयमा रहेको त्यो फाइलबारे अवगत गराएका थिए । त्यसपछि उनले ‘जे गर्नुपर्ने हो, फाइलमाथि छिटो निर्णय गर्नु’ भनेर निर्देशन दिएपछि मुद्दा दायर भएको स्रोत बताउँछ ।
देवकुमार र रवि लामिछाने : फरक–फरक नजीर
ढोरपाटनका मेयर देवकुमार नेपाली इमेज सहकारीका अध्यक्ष समेत थिए र सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न थिए । पोखराको सूर्यदर्शन सहकारी लगायतबाट गोर्खा मिडिया प्रा.ली.मा प्रवाह भएको ऋणका कारण रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको मुद्दा चलेको हो, त्यतिबेला रवि गोर्खा मिडियाको सञ्चालक थिए ।
देवकुमार नेपालीको हकमा मिलापत्र हुने सम्भावना सहित उदार रवैया अपनाएको सरकारले रवि लामिछानेको हकमा कठोर नीति लिएको देखिन्छ । इमेज सहकारी ठगीमा सरकारले उनीमाथि सहकारी ठगी मुद्दा मात्रै चलाएको थियो । मिलापत्र हुने सम्भावना रहेको भनी संगठित अपराधको अभियोगमा समेत मुद्दा चलेन ।
ढोरपाटनका मेयर देवकुमारमाथि सम्पत्ति शुद्धीकरणको फाइल समेत होल्ड गराएको महान्यायाधिवक्ता कार्यालयमा त्यही जिल्लासँग जोडिएको कास्कीमा भने फरक रवैया अपनाएको थियो । डेढ वर्षपछि अर्थात पुस, २०८१ मा रवि लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दा चल्दा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलेको छ । यी सबै मुद्दाहरु अहिले जिल्ला तहमा विचाराधिन अवस्थामा छन् ।
प्रतिक्रिया 4