
२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधले कोही कसैको लहडमा राज्य लाग्न नहुने बताएका छन् ।
पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा भएको नरसंहारको छानबिन बन्न आयोग बनिसकेको उल्लेख गर्दै सापकोटाले आयोगका प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने पनि बताए ।
कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने उनको भनाइ छ ।
‘पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरूलाई तिखो आँखाले हेर्ने हो भने संकेत निको छैन । चाहे त्यो सिंहदरबारभित्रका छलफलहरू हुन् वा सिंहदरबार बाहिरका अभिव्यक्तिहरू नै किन नहुन्,’ उनले भने, ‘त्यसलाई हामीले नजिकबाट राम्रोसँग हेरिरहेका छौँ । विधि भन्दा ठूलो र माथि कोही पनि छैन ।’
अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला, प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसवाट विश्रृंखलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पूरै स्टेट फेलियरमा लैजाने डिजाइन गरेर बसेको अदृश्य शक्तिलाई मद्दत गर्ने सापकोटाको भनाइ छ ।
‘नरसंहारमा को को छन् भन्ने कुराको एउटा आयोग बनेको छ । त्यो आयोगलाई अधिकार दिइएको छ । उसले तथ्य प्रमाणका आधारमा लिखित प्रतिवेदन नै सहित दिन्छ । त्यो प्रतिवेदनले दोषी ठहर भयो भने त्यसवेला बल्ल कसरी अगाडी जाने भन्नेकुराको मार्ग प्रशस्त हुन्छ,’ सापकोटाले भने ।
प्रतिक्रिया 4