+
+
Shares

भारत भ्रमणमा रहेका अफगानी विदेशमन्त्रीको नेपाल कनेक्सन

काठमाडौंबाट उडेको आईसी ८१४ जहाजलाई इस्लामीक आतंकवादीहरूले अपहरण गरेर भारतको अमृतसर, लाहोर अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍यायाएका थिए । अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कट्टरपन्थी अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले ९ देखि १६ अक्टोबरसम्म भारत भ्रमण गर्नेछन् जसका लागि भारतले संयुक्त राष्ट्र संघबाट विशेष अनुमति लिएको छ।
  • मुत्ताकीको भारत भ्रमणले भारत–अफगानिस्तान सम्बन्धमा नयाँ अध्याय सुरु हुने चर्चा छ र यसले पाकिस्तान–चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने प्रयास हो।
  • १९९९ को इण्डियन एयरलाइन्सको आईसी–८१४ अपहरणमा मुत्ताकीको भूमिका रहेको र उनी सन् २००० मा जैश–ए–मोहम्मद समूहका संस्थापक हुन् भन्ने तथ्य उल्लेख छ।

२६ असोज, काठमाडौं। कट्टरपन्थी इस्लामिक मुलुक अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीको भारत भ्रमणलाई यतिबेला विश्वले बडो रुचिपूर्वक हेरिरहेको छ ।

पाकिस्तानसँग अनेक मोर्चामा लडिरहेको भारतले कट्टरपन्थी इस्लामिकलाई हेर्ने नीति बदलेको बहस भारतमा भइरहेको छ ।

उनी आतंकवादीको सूचीमा रहेकाले उनलाई आफ्नो मुलुकको भ्रमणमा ल्याउन भारतले राष्ट्रसंघीय सुरक्षा परिषद्बाट विशेष अनुमति लिएको थियो ।

नेपालसँगको साइनो

मुत्ताकीको सम्बन्ध नेपालबाट अपहरण भएको इण्डियन एयरलाइन्सको आईसी–८१४ विमान सँग पनि जोडिन्छ । चालक दलका सदस्यसहित कुल १८० जना बोकेर काठमाडौंबाट दिल्ली उडेको सो विमान सन् १९९९ डिसेम्बर २४ मा अपहरणमा परेको थियो जसलाई अपहरणकारीले अफगानिस्तान लगेका थिए ।

अपहरणकारीको माग बमोजिम भारतीय जेलमा रहेका कस्मिरी पृथकतावादी नेता मसुद अजहरसहित तीन जनालाई लिएर तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैं अफगानिस्तान पुगेका थिए जहाँ उनले ती आतंकवादीलाई यीनै मुत्ताकीको जिम्मा लगाएका थिए ।

काठमाडौंबाट उडेको आईसी ८१४ जहाजलाई इस्लामीक आतंकवादीहरूले अपहरण गरेर भारतको अमृतसर, लाहोर अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएर मुक्त गरेका थिए । अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराइएको थियो ।

इण्डियन एयरलाइन्सको विमान अपहरणको घटनाका आधारमा पुस्तकहरू लेखिएका छन् भने बलिउड चलचित्रदेखि वृत्तचित्रसम्म बनेका छन् । तिनमा विमान भारतीय आकाशमा प्रवेश गर्ने बित्तिकै अपहरणकारीले पेस्तोल तेर्स्याएर अपहरण गरेको उल्लेख छ । जहाजका प्रमुख चालक क्याप्टेन देवी शरणले बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पनि अपहरणकारीसँग सक्कली हतियार रहेको बताएका थिए ।

तर भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलाइसिस् विङ्ग (रअ) का पूर्वप्रमुख अमरजीत सिंह दुलतको संस्मरणात्मक पुस्तक ‘कश्मीर : द बाजपेयी इयर्स’मा विमान अपहरण ताका भारतमा धेरैले विश्वास गर्ने गरेको कुरालाई आफ्नो पुस्तकमा भने फरक विवरण छ ।

काठमाडौंबाट उडेलगत्तै अपहरणमा परेको जहाज इन्धन भर्नका लागि भनी भारतको अमृतसरमा अवतरण गरेको र अपहरणकारीहरूले त्यहाँ हतियारको एउटा झोला लिएपछि लाहोरका लागि प्रस्थान गरेको उल्लेख गरेका छन् ।

पत्रकार सुधीर शर्माले हिमाल खबरमा लेखेको एउटा रिपोर्टमा पनि अपहरणको बेला नक्कली हतियार प्रयोग भएको हुनसक्ने सम्भावनाका कुरा छन् । उक्त रिपोर्टमा पत्रकार शर्माले लेखेका छन्, ‘घटनाक्रमलाई सूक्ष्म रूपमा केलाउँदा अपहरणकारीसँग सुरुमा भएका हतियारहरू अर्थात् दुइटा रिभल्वर र दुइटा ग्रिनेड नक्कली हुनसक्ने आधार पाएको बुझिएको छ । गृह मन्त्रालयले सहसचिव टीकादत्त निरौलाको अध्यक्षतामा गठन गरेको छानबिन समितिले पनि त्यस्तै ठहर गरेको छ ।’

विमान र यात्रुहरु छाडेको बदलामा भारतीय जेलबाट मुक्त भएका मसूद अजहरले सन् २००० मा जैश–ए–मोहम्मद नामक लडाकु समूह खोलेका थिए । उनी सन् २००१ को भारतीय संसद्मा भएको आक्रमण र सन् २०१९ मा कश्मीरको पुलवामामा भएको आक्रमणको मुख्य योजनाकार रहेको बताइन्छ ।

१९९० को दशकमा मसूद अजरले हाल तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको भूमिमा प्रशिक्षण लिएको बताइन्छ । सन् १९९४ मा स्थापना भएको तालिबान र जैश–ए–मोहम्मदबीच वैचारिक, ऐतिहासिक र परिचालनको सम्बन्ध छ । तर तालिबान अहिले अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको कारण त्यस सम्बन्धलाई खुलेर स्वीकार्दैन ।

तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जा गर्‍यो। त्यतिबेला सुरुमा शिक्षा मन्त्री, पछि संस्कृति मन्त्री भएका मुत्ताकी हाल विदेशमन्त्री छन् । उनी अक्टुबर ९ देखि भारत भ्रमणमा छन् ।

सन् २०२१ को अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि भारत भ्रमणमा आउने उनी पहिलो उच्चस्तरीय तालिबान नेता हुन् ।

उनको भ्रमणबाट भारत र अफगानिस्तानबीच सम्बन्धको नयाँ अध्याय सुरु हुने चर्चा छ । ‘अपरेसन सिन्दूर’, पाकिस्तानको आक्रामकता र अमेरिकाको भारतप्रति बदलिँदो नीतिका बीच मुत्ताकीको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित अमीर खान मुत्ताकीलाई भारत आउन दिन भारतले संयुक्त राष्ट्रसँग विशेष छूट मागेको थियो ।

शिक्षा, संस्कृति हुँदै विदेशमन्त्री बनेका मुत्ताकी

सन् २०२१ को अगस्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले सत्ता कब्जा गरेको थियो । त्यतिबेला राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका अशरफ गनी मुलुक छोडेर भागेका थिए ।

यससँगै दुई दशक लामो अमेरिका समर्थित शासनको अन्त्य भएको थियो । त्यही समयमा तालिबानका एक प्रभावशाली कमाण्डरका रूपमा अमीर खान मुत्ताकीले ठूलो भूमिका खेलेका थिए ।

अमीर खान मुत्ताकी १९९० को दशकदेखि नै तालिबानको उदयमा सक्रिय थिए । उनले तालिबानको सैन्य, प्रशासनिक र कूटनीतिक जिम्मेवारी सम्हालेका थिए ।

मुत्ताकी मूलतः हेलमन्द प्रान्तका हुन् । अफगान जिहादको समयमा उनी कम्युनिष्ट शासनविरुद्धको लडाइँमा सक्रिय थिए । १९९४ मा तालिबान उदाएपछि उनी त्यसमा सहभागी भए र कमाण्डरका रूपमा तालिबानको एजेन्डा लागू गर्न अग्रसरता लिएका थिए ।

तर, मुत्ताकीका गतिविधिहरू मानवअधिकार उल्लंघन, आतंकवादलाई समर्थन र महिला–बालबालिकाको अधिकार दमनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो चिन्ता पैदा गरेको थियो ।

संयुक्त राष्ट्र संघले २५ जनवरी २००१ मा उनलाई प्रतिबन्ध घोषणा गरेको थियो । यो प्रतिबन्ध संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव १२६७ (१९९९) र १३३३ (२०००) अन्तर्गत लागु भएको थियो ।

तालिबान प्रशासनमा रहँदा मुत्ताकीले महिला अधिकार र बालबालिकाको शिक्षामा कट्टरपन्थी नीति अपनाएका थिए । नयाँदिल्ली भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले महिला पत्रकारहरुलाई बाहिर जान भनेका थिए ।

तालिबानको पहिलो शासनकालमा उनी शिक्षा मन्त्री बनेका थिए । उनले बालिकाको शिक्षा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए । स्कूलहरूलाई कट्टरपन्थी मदरसामा बदल्ने नीति ल्याएका थिए ।

१९९६ तिर संस्कृति मन्त्री हुँदा उनले मिडियामा सेन्सरसिप लगाएका थिए । पश्चिमी संस्कृतिमाथि पनि उनले प्रतिबन्ध लगाए । तालिबानको कट्टर नीति लागू गर्न उनले सक्रिय भूमिका खेलेका थिए ।

यिनै गतिविधिका कारण संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उनीमाथि सन् २००१ मा प्रतिबन्ध लगाएको थियो, जसमा विदेश भ्रमणसमेत रोक लगाइएको थियो ।

तर भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्र संघले २४ वर्षपछि ९ देखि १६ अक्टोबरसम्म भारत यात्रा गर्न उनलाई अस्थायी छूट दिएको भारतीय मिडियाले जनाएका छन् ।

ध्यान दिनुपर्ने कुरा के हो भने भारतले अझै तालिबान सरकारलाई औपचारिक मान्यता दिएको छैन । तर, अफगानिस्तानको राजधानी काबुलमा भारतले आफ्नो कूटनीतिक कार्यालयमार्फत व्यापार, सहायता र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ ।

पाकिस्तान–चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने भारतको प्रयास

भारतले तालिबान नेतृत्वसँगको सम्पर्कलाई रणनीतिक आवश्यकता मानेको छ । मुत्ताकीको यात्रा गत सेप्टेम्बरमै प्रस्तावित थियो तर संयुक्त राष्ट्र संघबाट छूट नपाएका कारण रद्द गरिएको थियो ।

यस वर्ष मे महिनामा भारतका विदेश मन्त्री एस. जयशंकरले मुत्ताकीसँग ‘राम्रो छलफल’ भएको बताएका थिए र ‘पहलगाम आतंकवादी आक्रमणको निन्दा गरेकोमा तालिबान सरकारप्रति कृतज्ञता’ प्रकट गरेका थिए ।

तालिबान नेतृत्वलाई भारत भ्रमणको अवसर दिनु अफगानिस्तानमा भारतको प्रभाव कायम राख्ने प्रयास भएको कतिपयको बुझाइ छ । तालिबानलाई मान्यता नदिए पनि व्यावहारिक सम्पर्कमार्फत क्षेत्रीय स्थिरता र आतंकवाद नियन्त्रण गर्न भारतले चाहेको छ । तालिबानले पनि भारतविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बाचा गरेको छ ।

मुत्ताकीको भ्रमण चाबहार बन्दरगाहमार्फत व्यापार विस्तार गर्ने र मध्य एशियासम्म भारतको पहुँच बढाउने रणनीतिको हिस्सा भएको बताइन्छ । यसले पाकिस्तानलाई बाइपास गर्ने अवसर दिनेछ । यो कदम पाकिस्तान–चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने प्रयास पनि हो ।

त्यसैले मुत्ताकीलाई भ्रमणको निम्तो दिएर भारत सरकारले कूटनीतिक सम्बन्धमा ‘रिसेट बटन’ दबाएको टिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?