+
+
Shares

निवर्तमान प्रधानमन्त्रीलाई चिट्ठी : हामी यस्तै त हो नि ब्रो !

गुन्डुमा आफ्ना पार्टीका क्याडेटहरुलाई ‘यो सरकारसँग लड्नुपर्छ’ भन्नुभो । म दु:खी भएँ काम्रेड । भिटेनको गीतजस्तै ‘हामी यस्तै त हो नि ब्रो’ ‘हामी सुध्रिनै सक्दैनौँ’ भन्नुभयो । यो म बुझ्न सक्छु काम्रेड !

सञ्जित भारती सञ्जित भारती
२०८२ असोज २७ गते ९:२०

डियर काम्रेड,

तपाईंलाई २०७७ वैशाख ६ मा पहिलो भाग चिठ्ठी लेख्दा कोरोनाकाल, लकडाउन थियो । तपाईं बालुवाटारमा शक्तिशाली प्रधानमन्त्रीका रूपमा विराजमान हुनुहुन्थ्यो । चिठ्ठीमा मैले लेखेको थिएँ ‘बालुवाटारको पर्खाल ‘साउन्ड प्रुफ’ छन्, यहाँ जनजीविकाको सवाल सुनिँदैन । जनताको आवाज तपाईसम्म पुग्नै सक्दैन ।

पाँच वर्ष ५ महिना १७ दिनमा अवस्था बदलिएको छ । अहिले तपाईं डेरावाल हुनुभएको छ । विषम अवस्थामा मान्छेले आफ्नो आफन्त खोज्छन् । आफन्त हेरेरै मान्छे चिनिन्छन् , तपाईंका सर्वाधिक प्रिय आफन्तले यस्तोबेला कोठा खोज्दिए । तपाईं गुन्डु आइपुग्नुभयो ।

डेरा सर्नुभएको नि महिना दिन हुनै आँट्यो होला है ? घरधनीले भाडामा किचकिच, हरेकपटक ट्यांकरको पानी किन्न लगाउने, छतमा कपडा सुकाउन नदिने यस्तै दु:ख दिन्छन भनेर सिंगै घरै भाडामा लिनुभएको होला । तपाईंका उबेलाका को-पाइलटका घरबेटीजस्तै हुँदा हुन् भने त मज्जै होला । घरबहाल सम्झौता वडामा दर्ता गर्नुभएकै होला । नत्र घरबेटीले भाडा दिएनन् भने विज्ञप्ति निकाल्नुपर्ला ।

म विश्वस्त छु- गुन्डुमा तपाईं बस्ने घरका दिवार ‘साउन्ड प्रूफ’ छैनन्, त्यसैले अब त तपाईंले पनि सुन्न सक्नुहोला हाम्ले बोलेको कुरा भनेर यो दोस्रो चिठ्ठी पठाएको छु ।

जेनजी आन्दोलनको पहिलो दिन नरसंहार ( भाद्र २३ ) अनि दोश्रो दिन अराजकता ( भाद्र २४ ) भएको एक महिना पुग्यो । एक महिना लामै समय हो । यो एक महिना धेरै हिँडडुल नगरी, धेरै छलफल र गहिरो समीक्षापश्चात तपाईं बोल्नुहुन्छ । केही क्षमा, केही करुणा, विनम्रता र थोरै भए पनि जेनजी आन्दोलनलाई स्वीकारभाव, शहिदलाई सम्झना, घाइतेलाई सान्त्वना, पार्टी पंक्तिलाई सुध्रिने आह्वान अनि सुखद अवकाश, पार्टी मजबुतीकरणका लागि केही शब्द, शून्य अहंकार अनि संयमित प्रस्तुति आउने मेरो आश थियो । भइदियो उल्टो । तपाईं जति बोल्नुहुन्थ्यो, तल साथीहरु ताली बजाउँथे । म भिडियो हेरेर ‘इरिटेट’ हुन्थें ।

– हाइहुइले बनेको सरकार

– शुशीला कार्कीसँग म डराउँछु ? यो नेपालीको सरकार हुँदै हैन

– गृहमन्त्री बाबु , सम्हालिनू ।

– सरकारसँग लडिन्छ, फागुन २१ कुरिन्न ।

– आन्दोलनमा आएकाको सन्ख्या, अंकगणित ।

जेनजीले देखाएको रोडम्यापमा एमालेलाई डोर्‍याएर सम्मानजनक बिदाइ लिनुस् अनि पार्टीलाई चुनावको तयारीमा छोड्दिनु है !

भाषा जसो होस्, तपाईंले भनेको कुरा यही हो- एमालेले जेनजी आन्दोलन चिन्दैन । एमाले खोला हुन्थ्यो भने कर्मानाशा खोला । धार सधैँ उल्टो । बाटो सधैँ उल्टो । जबसम्म सक्छु, एमाले नेतृत्व छोड्दिनँ । जबसम्म सक्दिनँ भनेको एमाले नसकी छोड्दिन भन्नुभा होला । एमाले सकिन अझै बाँकी रहेछ । अहो हामी किन आत्तिएको ? एमाले सकिन अझै बाँकी रहेछ । यत्ति बुझेपछि कार्यकर्ताले झन बेजोड ताली बजाए ।

अरु सबै बिर्सिनू २ तथ्य र ३ मिति नबिर्सिनू है कम्रेड ।

१. तपाईं सत्ताको अंकगणितले पछारिएर गुन्डु पुग्नुभएको हैन, शक्तिशाली प्रधानमन्त्री क्वार्टरबाट हेलिकप्टरमा चढेर सुरक्षित ठाउँमा लखेटिनुभएको हो ।

२. तपाईं लगायत पुस्तालाई विभिन्न आन्दोलन र प्राप्तिका लागि उच्चसम्मान र धन्यवाद भनेर पनि तपाईंको नेतृत्व, सरकारका काम कारवाही, पटक-पटकका ठूला भ्रष्टाचार र जनतालाई गर्ने व्यवहारले आजित भएर हामी (म पुस्ता ) भन्दा ढिला जन्मिएका भाइबहिनीहरुले अब अत्ति भयो, मार्गप्रशस्त गर्दिनुस, नेतृत्वमा अब तपाईंको मिति पुग्यो ल, सरी भनेकै हुन है ।

काम्रेड अब ३ मितिहरु सम्झनुस् ।

२०७७ चैत्र महिना । दशरथ रङ्गशाला ।

प्राइम मिनिस्टर ३ नेशन्स कपमा नेपालले फाइनलमा बाङ्ग्लादेशलाई २-१ ले जित्यो । पुरस्कार वितरण गर्न मैदानमा प्रवेश गरे नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली । दर्शकले खचाखच रङ्गशालामा खेलाडीले नारा लगाउन थाले, ‘ केपी बा, वी लभ यु ‘ …दर्शकले त्यो नारालाई झन ठूलो बनाए । १० हजारअघि तपाईंको हाईहाई भयो । फुर्के प्रधानमन्त्रीले पाको पुरस्कार अझै केही थप्देलान् कि भनेर खेलाडीले त्यसो गरे कि थाहा भएन, तर छातीमा नेपालको झन्डा बोकेर देशका लागि मैदानमा लड्ने सबै कुराले निरपेक्ष सिपाही खेलाडीले देशको प्रधानमन्त्रीलाई त्यति माया गर्छन् भन्ने सोचेर दर्शक दीर्घाको म बबुरो दङ्ग र प्रफुल्लित भएको थिएँ ।

२०८२ भाद्र २०, गोदावरी ।

नेकपा एमालेको विधान महाधिवेशनमा तपाईंले आफूलाई एमालेको अजम्बरी कार्यकारी बनाउने प्रस्ताव पास गराउनुभयो । पास पनि के, बालुवाटारबाटै गोजीमा लेखेर लगेको निर्णय बिना छलफल हलमा सुनाउनुभयो । जसरी, केही वर्षअघि नारायणी किनारमा पदाधिकारीको लिस्ट सुनाउनुभएको थियो, त्यो पनि गोजीबाटै । विद्या भण्डारीलाई रोक्न गरिएको थियो यत्रो प्रपन्च । अनि, घुमाउरो भाषामा ठाडो चेतावनीसहित बढी चर्चा हल्ला गरे धेरैलाई भीम रावल बनाइदिने भन्नुभयो । नेकपा एमालेमा विचार बर्जित छ, आत्मसमीक्षा र आत्मचिन्तन शून्य छ भनेर पुष्टि गर्दिनुभयो फेरि एकपटक । हलमा फेरि ताली बज्यो । यो पटक कार्यकर्ता दासजस्तै देखिए निरीह ।

एमालेमा आफूबाहेक नेतृत्वमा कसैलाई स्वीकार्न नसक्नु तपाईंको गल्ती होइन । अरुलाई नेता बनाउन नसक्नु पनि तपाईंको दोष हैन । ती नेता बन्नै सकेनन् काम्रेड, ती सेक्युरिटी फोर्सका दस्ता भए । देश र पार्टी, संविधान र लोकतन्त्र जोगाउनेमा तपाईंको सुरक्षाका लागि रातभरि गस्ती गर्छन् । घरको गोलचक्कर लाउँछन् अनि गुन्डा शैलीमा बोल्छन् । मिडियामा इन्टरभ्यु दिन्छन् । ती नेता त पर जाओस् नेकपा एमाले नै भैसकेका छैनन् ।

२०८२/ ०६/२३ यो आजको मिति हो काम्रेड ।

जग हल्लियो । भाइबहिनीहरु देश हल्लाइदिए । बालुवाटार अनि सिंहदरबार हल्लियो । तर, तपाईं हल्लिनुभएको रहेन छ । गुन्डुमा आफ्ना पार्टीका क्याडेटहरुलाई ‘यो सरकारसँग लड्नुपर्छ’ भन्नुभो । म दु:खी भएँ काम्रेड ।

आज जेनजी आन्दोलन भएको महिना दिन भयो । आज पनि घाइते, मृतकका आफन्त, अनि आन्दोलनका साझेदारहरु तपाईंलाई पक्राउ गरेर छनबिन गरौं भन्दैछन्, लेख्दैछन । धेरै तपाईंका लडाकु कार्यकर्तासँग डराएका होलान् तर २३ र २४ दुबै दिनका घटनाको समान अनि निस्पक्ष छानवीनका लागि भन्दैछन्, बोल्दैछन्, लेख्दैछन् ।

सोच्नुस त काम्रेड, रङ्गशालाबाट गोदावरी अनि गुन्डु । यो बाटो कसले खन्यो ? 0८२ आइपुग्दा तपाईंको क्रेज शून्यमा कसले पुर्‍यायो ? अहिले ‘आई लभ यु केपी बा’ भन्ने ती मात्रै बाँकी छन्, जसले तपाईंको गुलामी गरेर विश्वविद्यालयमा दलाली गर्न पाए । स्थानीय तहमा हालीमुहाली अनि शक्तिको आडमा सधैँ रजाइँ गर्न पाए, पाइरहे । तपाईंका हलीले ‘बा छोड्दिनुस् अब हामी छौँ ‘ त नभन्लान् तर तपाईंलाई यो उपयुक्त समय हैन र सम्मानजनक बहिर्गमन वा अवकाशका लागि ?

टक्क बिहान भक्तपुरको अनन्तलिङ्गेश्वरदेखि माथि पाइलट बाबासम्म हिँड्ने । फर्किएर चिया पिउने । बार्दलीमा घाम ताप्ने । पार्टीका भाइबहिनीलाई योगदान र आन्दोलन सुनाउने । युवालाई सम्झाउने । किताब पढ्ने, बस्ने । देउवा, प्रचण्डलाई घरमै बोलाउने, मार्सी चामलको भात खाने । कलब्रेक खेल्न मान्छे नपुगे माधव नेपाल, म्यारिज खेल्न पाँच जना नपुगे रवि लामिछने बोलाउने । कि के हो ? सरल बुढ्यौलीको समय शान्त र आनन्दले बस्न मन नलागेको हो ?

काम्रेड ,

आज बोल्दा तपाईंले ‘राजनीति गर्नु र देश चलाउने कुरा ख्यालठट्टा सजिलो हैन’ भन्नुभएछ । धुलिखेलको कार्यक्रम भ्याउन हेलिकप्टर चढ्ने, केक बोकेर हेलिकप्टरमा जन्मदिन मनाउन तेह्रथुम पुग्ने, लोकतन्त्रको मूल्य मान्यताको खिल्ली उडाउँदै १ र २ नम्बरको पार्टी मिलेर सरकार बनाउने, घरि जनतालाई बोटबाट झरेको आँप भन्ने, पार्टीमा कसैले छलफल चलाए बढी ट्याउँ ट्याउँ नगर्नू भन्ने, कतै माखे साङ्ग्लो भन्दिने, पहिरोले यहाँ यहाँ आउँछु भनेर आएन… यस्तै-यस्तै पटक-पटक भनेर राजनीति र सत्ता सञ्चालनलाई ख्याल ठट्टा मजाक गर्ने त तपाईं आफैं हो काम्रेड । यस्ता सम्वेदनाहीन बेतुके उखाने गफ त तपाईंले बोलेको मात्रै लेखेँ भने चिट्ठी हैन, उपन्यास बन्छ काम्रेड ।

भाद्र २४ मै फर्किने हो भने तपाईंले प्रधानमन्त्रीको लेटर हेडसहितको पेजमा आफ्नो राजीनामा लेख्न र शीतलनिवासमा पनि बुझाउनसम्म भ्याउनु भएन । तपाईको सल्लाहकार मन्डली प्रधानमन्त्रीको आधिकारिक टुईटर ह्यान्डलको पहुँच त हामीसँगै छ नि भनेर मख्ख होलान् अझै। शिवपुरी भन्दै ढाँटेर चित्लाङ बस्नुपर्‍यो । हिजो दश हजारको बीचमा ‘आई लभ यु केपी बा’ भन्दा मख्ख पर्ने तपाई सेनाको सानो सुरक्षा घेरामा हप्ता दिन लुक्नु पर्‍यो ।

सुध्रिने कि सक्किने ? सक्किने बाटो रोज्नुभएकोमा बधाई छ काम्रेड । तपाईंले लडेर ल्याएको ( गणतन्त्र ल्याउने आन्दोलनका बेलाको चालचलन अनि बयलगाडावाला भनाइले त यो गणतन्त्र तपाईंले ल्याएको झै नै लाग्दैन ) अनि जेनजीले जोगाएको संविधान र लोकतन्त्रमा चुनाव लड्ने तपाईंको पार्टीले नै हो । तपाईंहरुले नै हो । लोकतन्त्रमा अनि नेतृत्वमा जनता र इमान्दार कार्यकर्ताले तपाईंहरुको विकल्प खोजेको हो, तपाईंको पार्टीको हैन । तपाईंहरुलाई निषेध गरेर चुनाव हुन सक्दैन र हुँदैन पनि । तर, जुन मुठभेड र अस्थlरतालाई तपाईंले लल्कारिरहनुभएको छ नि काम्रेड, त्यो २३ र २४ गते भन्दा घातक हुन्छ । तपाई अभिभावक बन्दिनूस् । अब थप मुठभेड हैन, सहकार्य अनि शान्तिमा जोड गर्दिनुस् काम्रेड ।

जग हल्लियो । भाइबहिनीहरु देश हल्लाइदिए । बालुवाटार अनि सिंहदरबार हल्लियो । तर, तपाईं हल्लिनुभएको रहेन छ । गुन्डुमा आफ्ना पार्टीका क्याडेटहरुलाई ‘यो सरकारसँग लड्नुपर्छ’ भन्नुभो । म दु:खी भएँ काम्रेड ।

भिटेनको गीतजस्तै ‘हामी यस्तै त हो नि ब्रो’ ‘हामी सुध्रिनै सक्दैनौं’ भन्नुभयो । यो म बुझ्न सक्छु काम्रेड ।

एउटा सल्लाह दिन्छु काम्रेड ।

इतिहासले सुनौलो मौका दिएको छ, गिरिजाबाबुलाई पनि दिएको थियो । शान्ति प्रकृया टुङ्गाएको जस पाएसँगै उनले जीवनकालका धेरै गल्तीमा माफ पाएका थिए । जेनजीले देखाएको रोडम्यापमा एमालेलाई डोर्‍याएर सम्मानजनक बिदाइ लिनुस् अनि पार्टीलाई चुनावको तयारीमा छोड्दिनु है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?