Comments Add Comment

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड ! 

डियर कामरेड,

लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु ।

बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो ।

हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ ।

यो त मेरो कुरा भयो काम्रेड ।

तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएको जस्तो लाग्छ । तपाईं हामीबीचको संवादको बन्दाबन्दी र प्रत्यक्ष चासोको विषयमा तपाईंको तदारुकतामा लकडाउन लागेको छ, हजुर ।

हो, काम्रेड !

तपाईंलाई सल्लाहकारले सहरका रिङरोडका चिल्ला सुधारिएका खुला सडक देखाइरहेका होलान् र तपाईं मनमनै मख्ख पर्दै भन्नुहोला ‘लकडाउनको पूर्ण पालना भएको छ’ । राजमार्गमा केटाकेटी बोकेर भोकभोकै हिँडेका श्रमिक मजदुरहरूका फोटो त बालुवाटार छिर्दैनन् होला, जसरी केही वर्षदेखि छिरेका छैनन जनजीविकाका सवालहरु । ती प्रश्नहरु अनि तीनले हिँडेका चप्पलका पाइलाहरूका आवाज बालुवाटारका ‘साउन्ड प्रुफ’ भित्ताहरुले सुन्दैनन् होला ।

सरकार दूरदृष्टि बोक्छ काम्रेड, थाहा छ । रेल र पानीजहाज स्वप्न नगरीका काल्पनिक कल्‍पना थिएनन् । तपाईंको लगन र परिश्रमले यी कुरा भेटाउन हामीलाई समय लाग्दैन, त्यो पनि थाहा छ ।

हामी त्यही गतिमा पनि छौँ, क्यारे । तर, दूरदृष्टि  पनि एउटा रोग नै हो, काम्रेड । अर्थात् दूरदूर देख्ने तर समीपका केही नदेखिने, नजिकको ठम्याउनै नसकिने । हामीले अहिलेको समयमा धेरै दूर देख्दैछौँ । तपाईंले अनि राष्ट्रपतिले अब फोन गर्न बाँकी कुनै देशका राष्ट्रप्रमुख छैनन् होला । यो तदारुकताको लागि धन्यबाद छ । विदेशमा अलपत्र र दु:खमा परेकालाई सम्झिने तपाईंले दार्चुला देख्नुभएन अनि घरैभित्र बसेर पनि घर जान नपाएको बारेमा भने सोच्नुभएन ।

फेरि भन्नुहोला, भावनामा नबग्नुस् । बेमौसमी बाजा नबजाउनुस् । म भन्छु, काम्रेड तपाईं देशको प्रधानमन्त्री हो । अरुले दिएको अनि लगाइदिएको चस्माले नहेर्नुहोला । अरुले दिएको कुरा मात्रै नसुन्नुहोला र साँघुरो कोठाबाट भइरहेको सत्ता सञ्चालनको संयन्त्र निष्कृय बनाइदिनुहोला ।

थाहा भएको मात्र बोल्ने अनि अध्ययन अनुसन्धान नै नभएका प्रक्रियाबारे अन्तिम फैसला गरेजस्तो कसैको बारेमा डिफेन्स नगर्नुहोला । तपाईंको सफलता/असफलता आजको दिनमा प्रत्यक्ष रुपमा म र मेरो परिवारसँग जोडिएको छ ।

काम्रेड,

यो समयमा हामी घरै बस्ने हो, बस्छौ पनि । मेरो घरमा केही हप्तालाई पुग्ने रासन छ । अवस्था हेरेर लकडाउन केही समय थपिए पनि मलाई केही अफ्ट्यारो नहोला । तर, यो देश घरमा चामल बोरामा राखेर खानेहरुको मात्र हैन । हरेक साँझ प्लास्टिकमा किनेर खानेहरूको पनि हो । उनीहरू आजको दिनमा घर जान चाहन्छन् ।उनीहरु रहरले बसेका थिएनन् । उनीहरु जान चाहिरहेकै हुन् भन्ने हैन । उनीहरु चिन्तित छन् । लकडाउन थपिन्छ कि अझै भन्ने त्रासमा छन् । खानलाई राखेको कुराहरु सकिँदै छ । रोगको कहरकोबीच भोकको आन्दोलन झन् घातक हुनेछ, काम्रेड ।

डियर काम्रेड,

हुनत तपाईंका सल्लाहकारसँग तपाईंका सहयात्रीको पनि चालढाल त्यति राम्रो देखिँदैन । यो समय स्वास्थ्य मन्त्रालयमा बस्ने मन्त्री वा प्रधानमन्त्रीको मात्रै काम होइन । गर्न सकिने र गर्न मिल्ने धेरै काम छन् । गृह, पर्यटन, परराष्ट्र, कृषि, उद्योग, अर्थ अनि महिला बालबालिका मन्त्रालयको काम अझ प्रभावकारी हुनुपर्ने समय हो यो । अहिलेको  विषम परिस्थितिमा धेरै योगदान र गतिविधी गर्न सक्नुपर्ने हो । तर, हामी निरस छौँ । सबै संयन्त्रको नेतृत्व गरेका गृहमन्त्री चुप छन् । स्वास्थ्यमन्त्रीको घरमा पाहुना आएका छन् । पर्यटनमन्त्री अलमलिएका छन् । परराष्ट्रमन्त्री भावनामा बगेका छन् ।

लकडाउनमा सबैभन्दा मारमा परेका महिला बालबालिकाका निम्ति बोल्नुपर्ने मन्त्रालय हराएको छ । अर्थमन्त्री छोराको चुनावको विजयी जुलुसमा होलान्
‘भ्रष्टहरूको मुखै हेर्दिन’ भन्नुभएकोले उनीहरू तपाईंको अघि नपरेका होलान् । बिरामी भएकाले आफ्नै हातले समाचार पोर्टल र सामाजिक सञ्जाल चलाउनुहुन्न होला । त्यसैले तपाईंसम्म यस्ता खबर पुग्दैनन् । नत्र तपाईंको मुखारबिन्दबाट बारम्बार ‘मलाई भ्रममा राखियो’ भन्ने वाणी फुत्किने थिएन ।

काम्रेड ! यो त सर्वाहराको सरकार हो । कम्युनिस्टको सरकार हो । हिजो वर्ग संघर्षको लागि हतियार नै उठाएको पार्टीको ठूलै हिस्सा छ यो सरकारमा । तर, बिहान बेलुकीको छाकको जोहो गर्न दु:ख गरिरहने निम्नस्तरका व्यक्तिहरुको लागि किन केही गरिरहेको छैन । केले रोक्दैछ ? किन यो सरकारले आशातित कार्य सम्पादन गर्न सकिरहेको छैन ?

तपाईंलाई थाहा छ । तपाईंको बिमारले मेडिकल अटेन्सन खोजिरहन्छ अनि निगरानी पनि । सुबिधासम्पन्न क्वाटरमा तपाईंलाई ती व्यवस्था मिलिरहेकै होलान् । तर, के ती लाखौं बिरामी जो अस्पताल जान सकिरहेका छैनन् । तिनका लागि वैकल्पिक उपाय वा व्यवस्था मिलाउन सकिन्न र ? इतिहासकै सबैभन्दा आशा गरिएका प्रधानमन्त्रीबाट जनताले आशा गर्नु त स्वभाविक नै त हो नि ?

काम्रेड,

हुन तपाईंको प्रमुख सल्लाहकार मजदुर संगठनका सबैभन्दा लामो समय सुप्रिमो भएका व्यक्ति हुनुहुन्छ । मजदुरको काम रोकिएका छन् । कामसँगै आम्दानी रोकिएको छ । आम्दानीसँगै त्यसमा निर्भर हुने ठूलो संख्यामा परिवार पनि चपेटामा परेको छ । त्यसैले तपाईसम्म मजदुरको कुरा पुगेको छैन भन्ने विश्वास गर्न गाह्रो भइरहेको छ । तर पनि न राहत छ, न त ढाडस नै तिनीहरुलाई सक्दो केही सहयोग गरौ न, प्लिज ।

स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मी अहिले फिल्डमा छन् । उनीहरूको सुरक्षा र अन्य व्यवस्था पो के कसो छ काम्रेडलाई थाहा छ नै होला । ख्याल गरिदिनुस् है ।

अन्त्यमा,

एकजना दाइले ‘घुमाएर सरकारको थुतुनोमा हान’ भन्नुभो । सोचेँ- मजस्तो निम्छरोले सोझै हान्दा पनि टंगालभन्दा माथि पुग्दैन। जति चिच्याए पनि, जति अलापे पनि भाटभटेनीको चोक नपुग्दै बिलाइजान्छ । मैले घुमाएर हान्ने भनेको फुटबलमात्रै हो कमरेड । त्यही फुटबल पनि खेल्न नपाएर म आफैँ फुटबलजस्तो भइसकेँ ।

त्यसैले म नघुमाई सोझै भन्छु – तपाईंका गरिब जनताले साह्रै दु:ख पाए ।

समाजवाद हुँदै साम्यवाद पुग्ने भन्नुहुन्थ्यो । हेर्नुस् त, तपाईंको समाजवाद सोलुखुम्बुबाट काठमाडौं हुँदै कैलाली, बर्दिया हिँडिरहेको छ । कति समाजवाद यहीँ कलंकीको चोक नपुग्दै थाकेर डाँडामा सुस्ताइरहेको छ । कति समाजवाद पिठ्युँमा नानी बोकेर हप्तादिनको ट्रेकिङमा डाँडो उक्लिरहेको छ ।

आँखैअघि यस्तो देख्दा हरेक दिन ऐंठन पर्छ कमरेड ! म त जसोतसो यसबाट छुटकारा पाउँला, देशलाई ऐंठन नपारिदिनुस् !

देशले जित्छ, यो कोरोनालाई  जित्नैपर्छ । म तपाईंको साथमा छु । तर, तपाईं पनि हाम्रै साथमा हुनुहुन्छ भन्ने देखियोस् । गुमराहमा बारम्बार राख्ने शक्तिलाई जितेर यो ठूलो लडाइँमा साथ होऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment