+
+
Shares

घुम्नका लागि नेपालका ग्रामीण क्षेत्र पहिलो प्राथमिकतामा पर्छ

धेरै फिल्म दयाहाङ राईको हेरेको छु । उहाँको अभिनय पनि मनपर्छ त्यसैले मौका मिले उहाँसँग समय बिताउन चाहन्छु ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ असोज २७ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रा.डा राजेन्द्र कोजु धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ हुन् र जनचेतनाका लागि सानो भिडियो क्लिपहरू बनाउँछन्।
  • उनी नेपाली फिल्महरू प्रायः हलमा हेर्छन् र पूर्णबहादुरको सारंगीले समाजको चित्रण गरेको बताउँछन्।
  • कोजुले घुम्न ग्रामीण क्षेत्रहरू मन पराउने र अन्नपूर्ण सर्किटलाई सबैभन्दा लोकप्रिय घुम्ने ठाउँ भनेका छन्।

प्रा.डा राजेन्द्र कोजु धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ हुन् । अक्सर उनी बिरामीहरूबाट घेरिएका हुन्छन् । कहिले उनी स्वास्थ्य जाँच र परामर्श दिइरहेका भेटिन्छन्, कहिले शल्यक्रियामा यन्त्रवत् खटिएका । चिकित्सा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी डाक्टर कोजुसँग गरिएको अफबिट कुराकानी ।

१. रमाइलो गर्न मन लागे के गर्नुहुन्छ ? अर्थात् मन खुसी भएका बेला के गर्नुहुन्छ ? 

फुर्सद मिलेको बेला र मन खुसी भएका बेला मलाई हिँड्न रमाइलो लाग्छ । अनि कहिलेकाहीँ समय मिल्यो भने पढ्छु पनि । अहिले सोसियल मिडियाले नि केही न केही समय खाइहाल्छ । चिकित्सक भएकाले जनचेतनाका लागि केही न केही गरौं भन्ने भइरहन्छ त्यसैले सानो-सानो जनचेतनामुलक भिडियो क्लिपहरू पनि बनाउँछु । अनि अलि-अलि समय परिवारसँग बिताउँछु ।

२. फिल्म हेर्नुहुन्छ ? पछिल्लो समय हेरेको फिल्म याद छ ?

हेर्छु, पछिल्लो भुठान हेरेको जस्तो लाग्छ ।

३. फिल्म घरमै हेर्नुहुन्छ कि हलमा ?

नेपाली फिल्महरू प्राय हलमा नै गएर हेर्छु ।

४. कुनै फिल्म हेरेर त्यसबाट प्रभावित हुनुभएको छ ?

प्रायजसो सोसियल ड्रामाहरूले राम्रै प्रभाव पार्छ । पछिल्लो पटक हेरेको पूर्णबहादुरको सारंगीले पनि हाम्रो समाजको चित्रण गर्छ ।

५. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्छ वा लाग्दैन ?

पहिला-पहिला हिरो हुने भनेको ह्यान्डसम, अग्लो, ज्यान चटक्क मिलेको भन्ने थियो । तर, आजभोलि कलालाई नै हिरो मान्ने चलन भएकाले राम्रो अभिनय गर्न सक्ने मान्छे हिरो हुन्छ । मलाई अभिनय गर्न आउँछ जस्तो लाग्दैन । त्यसैले हिरो हुन्छु भन्ने त सोचेको छैन कहिले पनि ।

६. तपाईले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?

हलिउड फिल्म ‘पर्स्युट अफ ह्याप्पीनेस’ हेरेर म प्रभावित भएको थिएँ । अर्को नाम ठ्याक्कै बिर्सें तर त्यो रोग सम्बन्धी नै फिल्म थियो जसमा डेडिकेट भएर आफ्नो स्वास्थ्यबारे ख्याल राख्नुपर्छ भन्ने कुरा देखाइएको थियो । यो अल्जाइमर्स सम्बन्धी थियो । त्यो फिल्मबाट पनि धेरै कुरा सिकेको थिएँ ।

७. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?

धेरै फिल्म दयाहाङ राईको हेरेको छु । उहाँको अभिनय पनि मनपर्छ त्यसैले मौका मिले उहाँसँग समय बिताउन चाहन्छु ।

८. तपाईंलाई को कलाकार धेरै मनपर्छ ?

मलाई मनपर्ने कलाकारमा दयाहाङ राई, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की र खगेन्द्र लामिछाने हुन् । अभिनेत्रीमा केकी अधिकारी, मिरुना मगर मनपर्छ ।

९.नाटक हेर्न जानुभएको छ ?

नाटक एकदम मनपर्छ । हेर्न गएको पनि छु । तर, पछिल्लो समय हेरेको छैन ।

१०.घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?

गीत त एकदम धेरै सुन्छु घरमा मात्र हैन ड्राइभिङ गर्दा पनि सुन्छु ।

११. कसको गीत वा कस्तो गीत सुन्नुहुन्छ ?

धेरै नेपाली गीतहरू सुन्छु, हिन्दी र पुराना इंग्लिस गितहरू पनि सुन्छु । नेपालीमा आफ्नै समयको गितहरू धेरै सुन्छु र अहिलेको नयाँ  पनि सुन्छु अनि मेरो छोरो नै गायक भएको हुनाले उसको गीत पनि सुन्छु।

१२. कुन नेपाली गायक, जसलाई तपाईं भेट्न चाहनुहुन्छ ?

एउटा गायक त दिनदिनै भेट्छु घरमै छ । मलाई उदय सोताङ एकदम मनपर्छ । उदय सोताङ र मलिना सोताङका गीतहरू धेरै सुनेको छु । मिल्यो भने उहाँहरूसँग भेट्न चाहन्छु । साथै आनी छोइङ डोल्मा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नारायण गोपाल, अरुणा लामा, तारादेवीका गीतहरू पनि मनपर्छ ।

१३. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ?

किताब चाहिँ म धेरै नै पढ्छु । इतिहासमा आधारित फिक्सन एकदम मनपर्छ । समाजको चित्रण गर्ने जुनसुकै किताब पनि मनपर्छ ।

१४. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?

‘द डिफिकल्टी अफ बिइङ गुड’ हिजोआज पढिराखेको किताब पर्‍यो । यो इन्डियन राइटर गुरुचरण दासको हो । अर्को नेपालकै हिस्ट्री बेस्ड फिक्सन हो रिकुटी र अर्को नयाँ एउटा सिल्क रोड जस्तै अर्को यो इन्डियाको हिस्ट्री बेस्ड एउटा पुस्तक छ मसँग त्यो पनि पढिराख्या छु ।

१५. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?

मैले पढ्ने गरेका किताबहरू प्रायजसो मनोरञ्जन सँगसँगै ज्ञानवर्द्धक हुन्छन् । उपन्यास पढेर ज्ञान नै त सबै कहाँबाट मिल्ला र ? मनोरञ्जन पनि ज्ञान पनि ।

१६. यस्तो पुस्तक छ, जसले तपाईंको मन परिवर्तन गरिदियो ?

यस्ता किताब त धेरै छन्। ‘जापानिज इटिकाइ’ भन्ने एकदमै सानो सिम्पल किताब हो तर मान्छेलाई कसरी स्वस्थ्य हुनुपर्छ र कसरी लामो उमेर बाच्न सकिन्छ भन्ने कुरा सिकिन्छ यसबाट । अर्को सकारात्मक सोचका लागि गौर गोपाल दासको किताब पनि राम्रो छ । साथै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको आत्मकथाले पनि साकारात्मक प्रभाव पार्छ।

१७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?

किनमेल त अब घरमा चाहिने सामान किन्नु परिहाल्यो त्यसैले परिवारका सदस्यहरू मिलेर किनमेल गर्छौं ।

१८. के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?

हाम्रो परिवारमा म, मेरो श्रीमती र दुईजना छोरा बस्छौं । अब हामी सेयर गरेरै किनमेल गछौँ, कुनै-कुनै कुरा श्रीमतीले किन्छिन् । कुनै-कुनै म किन्छु । आवश्यक कपडाहरू पनि मिलेर किनिन्छ ।

१९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ वा अरूले किनिदिन्छन् ?

आफ्नो धेरैजसो आफैं किन्छु । छोराहरूले उपहार पनि दिन्छन् ।

२०.घरमा खाना पकाउने गर्नुहुन्छ ?

खाना पकाउने त खासै गर्दिन । मेरो श्रीमतीले पकाउनुहुन्छ धेरै । कहिलेकाँही मात्र पकाएको छु ।

२१.तपाईंलाई पकाउन आउने परिकार कुन हो ?

छैन, धेरै वर्ष अगाडि दशैंमा मासु पकाएको एकदुई पल्ट होला । अहिले नपकाएको त धेरै वर्ष भइसक्यो । त्यसैले यही नै मिठो पकाउछु भने जस्तो लाग्दैन ।

२२.पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?

छैन, मेरो श्रीमतीले राम्रो पकाउने भएर मैले नपकाएको हो ।

२३.तपाईंलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो  ?

मिठो त दाल भात नै हुन्छ । अनि खाजामा मकै भटमास

२४.पर्फ्युमको कति सौखिन हुनुहुन्छ ?

पर्फ्युम लगाउँदिन । कहिलेकाही डिडोरेन्ट मात्र प्रयोग गर्छु ।

२५.आफ्नो पेशाबाहेक अरू के कुरामा सौखिन हुनुहुन्छ ?

पेशाबाहेकको मुख्य सौख हिँड्नु नै हो । हाइकिङ ट्रेकिङ एकदम मनपर्छ । त्यसपछि म लेख्छु एउटा किताब पनि प्रकाशित भइसक्या छ ‘मुटुको कथा’। कथा, कविताहरू लेखिरहन्छु । गुनगुनाउन रहर लाग्छ तर कुनै गीत रेकर्ड गरेको छैन । चित्र कोर्छु ।

२६.घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?

हामीसँग पहिले एउटा कुकुर थियो अहिले चाहिँ छैन ।

२७.जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?

जमघट वा रमाइलोमा सहभागी हुन त सबै जना रुचाउछन् होला, म नि रुचाउछु । पारिवारिक जमघट हुन्छ र आफ्नो सहकर्मी साथीहरूसँग पनि हुन्छ ।

२८.घुमफिरमा कति रुचि राख्नुहुन्छ ?

घुमफिर त मलाई एकदमै मन पर्ने भैहाल्यो ।

२९. प्राय कहाँ-कहाँ घुम्न जानुहुन्छ ?

पहिला ग्रामीण क्षेत्रमा काम गरेकाले नै होला घुम्नलाई पहिला मेरो प्राथमिकतामा पर्ने चाहिँ ग्रामीण भेगहरू हो । धेरै अगाडि मुस्ताङको क्षेत्रहरू पोखराको वरिपरिको डाँडाकाडाहरू घुमेको थिएँ । त्यसपछि पनि ग्रामीण छेत्रहरू नै धेरै घुमेको छु ।

३०. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?

घुम्नका लागि सबैभन्दा लोकप्रिय अन्नपूर्ण सर्किट हो । अर्को गौरीशंकरको वरिपरि र गोसाइकुण्ड जाने ठाउँहरूमा पनि घुम्नका लागि राम्रा ठाउँहरू छन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?