
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलनको नभएको र नक्कली पेस्तोल बरामद भएको प्रहरीले पुष्टि गरेको छ।
- पेस्तोल बोकेको व्यक्ति तेन्जेन दावाको भिडियो करिब एक वर्ष पुरानो रहेको र उनी फ्रि तिब्बत समर्थक मात्र भएको प्रहरीले बताएको छ।
- तेन्जेनले सामाजिक सञ्जालमा ध्यानाकर्षण गर्न नक्कली पेस्तोल देखाउँदै भिडियो बनाएको र प्रहरीले अभद्र व्यवहारको कसुरमा थप अनुसन्धान गर्ने तयारी गरेको छ।
२७ असोज, काठमाडौं । टीओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।
पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने ।
भेटियो नक्कली पेस्तोल
बिजुलीबजारमा पुलमा टीओबी लेखिएको कालो ड्रेस लगाएका तेन्जेन चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको देखिन्छ । उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिन्छन् ।
यो भिडियो सार्वजनिक भएपछि सामाजमा आतंक सिर्जना भएको थियो । भिडियो पुरानो रहेको देखिए पनि उक्त हतियारबारे प्रहरीले अनुसन्धान गरेको थियो । तेन्जनले उक्त हतियार नक्कली रहेको दाबी गरेका थिए ।
उनीबाट एक थान नक्कली पेस्तोल बरामद भएको छ । बरामद नक्कली पेस्तोल नै उक्त भिडियोमा देखिएको तेन्जेनले बताएको प्रहरी स्रोतले बताएको छ ।
‘भिडियो पुरानो भए पनि पेस्तोलबारे हामीले अनुसन्धान गर्यौं । तर उनीबाट नक्कली पेस्तोल फेला पर्यो । भिडियोमा देखिएको पेस्तोल पनि अहिले बरामद नक्कली पेस्तोल रहेको उनले बताएका छन्’ एक अनुसन्धान अधिकृतले भने ।
नक्कली पेस्तोल देखाउँदै किन भिडियो बनाएको भन्नेबारे प्रहरीले उनीमाथि सोधपुछ गरेको छ । सो क्रममा उनले सामाजिक सञ्जालमा हालेर आफूतर्फ ध्यानाकर्षण गर्नु मुख्य कारण रहेको दाबी गरेको प्रहरी अधिकारीले बताए ।
यसरी खिचिएको उक्त भिडियो तेन्जेन एडी नामको टिकटक आईडीमार्फत सार्वजनिक गरिएको थियो । उक्त भिडियो तेन्जेनले सार्वजनिक गरेपछि हाकिङ भनिने सुरेन्द्र गुरुङले गाली गरेर हटाउन लगाएको उनको भनाइ छ ।
‘एजेन्ट होइन, फ्रि तिब्बत समर्थक हुनसक्छन्’
टीओबी लेखिएको कालो कपडा लेखाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेन–जी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप–तिब्बतीयन ओरिजल ब्लड’ समेत लेखिएको थियो ।
तेन्जनको समूह किन जेन–जी आन्दोलनमा गयो र के उनीहरु फ्रि तिब्तका एजेन्ट हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानले उनी फ्रि तिब्बतका एजेन्ट नरहेको प्रहरीले बताएको छ ।
‘फ्रि तिब्बत समर्थक हुनसक्ने देखिएको छ । उनका पूर्खा तिब्बतबाटै नेपाल आएको बुझिएको छ’ अनुसन्धान अधिकृत भन्छन् ।
यो बाइक राइडरहरुको समूह समेत रहेकाले उनीहरु बेला–बेलामा बाइक राइडिङमा जाने गरेका थिए । अधिकांशका बुलेट बाइक थिए भने सबैजसोले साइलेन्सर समेत पड्किन किसिमको बनाएका थिए ।
आन्दोलनमा जानुको मुख्य उद्देश्यमा यो समूहका व्यक्तिले अघिपछि बाइक पड्काउन नपाउने भएकाले आन्दोलनमा बाइक पड्काउन पाउने हुँदा गएको बताएका छन् । अरु भन्दा फरक भएर बाइक पड्काएपछि सबैको नजरमा परिने र भाइरल बन्ने मनसाय रहेको दाबी उनीहरुले प्रहरी समक्ष गरेका छन् ।
प्रहरीले उनको मोबाइलबाट कुनै त्यस्तो अवाञ्छित गतिविधिको संकेत अहिलेसम्म फेला पारेको छैन । यो समूहका अन्य सदस्यमाथि थप बुझ्ने काम भने भइरहेको प्रहरीले बताएको छ । हाकिङलाई समेत फोन गरेर प्रहरी कार्यालयमा आउन भन्दै प्रहरीले बोलाएको छ ।
को हुन् तेन्जेन
आफ्नो ज्याकेटमा लेखेजस्तै तेन्जनका पुर्खाहरु तिब्बतबाटै काठमाडौं आएका हुन् । जब प्रहरीले उनलाई नियन्त्रणमा लिएर आइतबार उनको कोठामा गयो प्रहरी अधिकारीहरु नै छक्क परे ।
तिब्बतियन ओरिजिनल ब्लड भनेर ज्याकेटमा लेखेका तेन्जनको कोठमा भने भारतीय आर्मीको ड्रेस लगाएर खिचिएको एक तस्बिर भित्तामा थियो ।
प्रहरीले उक्त तस्बिरबारे सोधखोज गर्दा उनले आफ्नो बाबुको तस्बिर रहेको बताए । बाबु भारतीय आर्मीबाट अवकाश भएको उनले बताएका छन् ।
अवकाशपछि ठमेलको होटलमा काम गरेका उनका बाबुको करिब पाँच वर्ष पहिले निधन भइसकेको छ ।
तेन्जेन परिवारको एक्लो छोरा हुन् । उनकी एक दिदी छन् । आमा र दिदी भारतमा बस्ने गरेको उनले बताएका छन् । कपनको पैयुँटारमा कोठा लिएर बस्दै आएका तेन्जेन १० कक्षासम्म अध्ययन गरेका छन् ।
उनी पछिल्लो समय गाँजा सेवन गर्ने गरेको पाइएको छ । गाँजा सेवन गर्ने गरेको उनले प्रहरी समक्ष स्वीकार समेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।
तेन्जने पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम समेत गरेका थिए । अहिले भने पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् ।
तेन्जेन शरीरभरी विभिन्न प्रकारका ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु भने आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।
पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जेनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीबाट प्रभावित भएर तिब्बतीय ब्लड लेखिएको ज्याकेट लगाएको उनको भनाइ ।
‘सुदनलाई चिन्दिनँ’
हामी नेपाल एनजीओका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङसँग जोडेर समेत तेन्जेनलाई हेरिएको छ । सुदनको हातमा खोपिएको ट्याटु र टीओबीको चिन्ह मिलेको भन्दै उनीहरुलाई जोडेर हेर्ने गरिएको छ ।
यसबारे सुदन गुरुङले टीओबी ग्रुपलाई नचिन्ने बताएका थिए । एक भिडियो सार्वजनिक गर्दै सुदनले टीओबीलाई नचिन्ने र उनीहरुसँग कुनै सम्बन्ध नरहेको बताएका थिए ।
अहिले प्रहरी हिरासतमा रहेका तेन्जेनले पनि सुदनलाई नचिन्ने बताएका छन् । ‘म सुदन र उनको टिमका कसैलाई पनि चिन्दिनँ, आन्दोलनको बेलामा बाइक पड्काउन र सबैको नजर खिच्न मात्रै गएको हो’ तेन्जनेको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिृकतले भने ।
अभद्रमा व्यवहारमा अनुसन्धान गर्ने तयारी
उनीबाट बरामद पेस्तोल नक्कली भएको र अन्य आगजनी, तोडफोड तथा लुटपाटको घटनामा जोडिएको कुनै प्रमाण अहिलेसम्म फेला नपरेकाले प्रहरीले उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
पेस्तोल र तिब्बतीयन ओरिजिनल ब्लडकै बारेमा थप केही अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीमाथि अभद्रको कसुरमा म्याद लिन लागेको हो ।
भोलि कुनै कसुरमा प्रमाण देखिएको अवस्थामा कन्भर्ट गरेर मुद्दा चलाउने गरी अभद्रमा अनुसन्धान अघि बढाइने प्रहरी स्रोत बताउँछ ।
प्रतिक्रिया 4