
News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा वृद्धि नहुने दाबी गरेको छ।
- सरकारले चिनीको भन्सार मूल्यमा ५० प्रतिशत कटौती गरेको र भारतबाट ४० करोड रुपैयाँभन्दा बढी चिनी आयात भइसकेको छ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त चिनी मौज्दात रहेको र मूल्य स्थिर रहने जानकारी दिएका छन्।
२८ असोज, काठमाडौं । दशैंलगत्तै अर्को महत्त्वपूर्ण चाड तिहारले नेपालीको घरआँगन छोपिसकेको छ । तिहार फूल, झिलिमिली बत्तीसँगै मिठाईको पर्व पनि हो ।
तिहारमा चिनीको माग र खपत अत्यधिक हुने गर्छ । बजारमा ठूला उद्योग तथा पसलहरूले तिहार लक्षित गरी विभिन्न थरीका मिठाई तयार पार्छन् । यसका साथै उपभोक्ताले पनि घरमै विभिन्न प्रकारका रोटी तयार पार्छन् ।
विगतमा सरकारी निकायले पर्याप्त चिनी ल्याउन नसक्दा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा बेच्ने प्रवृत्ति दोहोरिने गरेको थियो । तर, यसपालि भने सरोकारवाला निकायहरूले चिनी अभाव नहुने र सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा पनि कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सुदृढ बनाइएको बताए ।
पर्याप्त मौज्दात र सहज आपूर्ति
सहसचिव पोखरेलका अनुसार स्वदेशी चिनी उत्पादक मिलहरूसँग हाल ३० हजारदेखि ३५ हजार टन चिनी स्टक छ । यो परिमाण चाडपर्वको माग धान्न पर्याप्त रहेको उनको भनाइ छ ।
यसका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मात्रामा चिनी जोहो गरेका उनको भनाइ छ । ‘अहिले बजारमा चिनीको स्टक पर्याप्त छ र भारतबाट पनि नियमित चिनी आइरहेको छ,’ सहसचिव पोखरेलले भने, ‘त्यसैले चिनी आपूर्तिमा खासै कुनै संकट आउने अनुमान छैन ।’
कृत्रिम अभाव र मूल्यवृद्धिको सम्भावना न्यून
सहसचिव पोखरेलले विगतमा जस्तो तिहारका बेला चिनीको कृत्रिम अभाव सिर्जना भई मूल्य बढ्ने सम्भावना यसपालि नरहेको ठोकुवा गरे ।
‘मूल्य बढ्ने स्थिति नदेखिनुको मुख्य कारण हाम्रा सरकारी निकाय (खाद्य र साल्ट ट्रेडिङ) बजारमा सक्रिय हुनु हो,’ उनले थपे, ‘उनीहरूले चिनी निश्चित सीमाभित्र बेच्ने भएकाले अन्य व्यापारीले मूल्य बढाएर बेच्न पाउँदैनन्, त्यसरी बेच्दा उनीहरूको बिक्री पनि हुँदैन, यसले बजारलाई सन्तुलित राख्न मद्दत पुग्ने छ ।’
छैन कोटा समस्या
भारतबाट चिनी आयातका लागि यसपालि कोटाको कुनै समस्या नभएको मन्त्रालयका सहसचिव पोखरेलले बताए ।
उनले भन्सार विभागको तथ्यांक उद्धृत गर्दै औपचारिक रूपमा ३० हजार टनभन्दा बढी चिनी आयात भएको जानकारी दिए । ‘औपचारिक माध्यमबाट मात्र नभई हाम्रो खुला सीमानाकाबाट पनि अनौपचारिक रूपमा चिनी भित्रिने गरेको देखिन्छ,’ उनले भने ।
मिल सञ्चालकहरूले पनि अनौपचारिक आयात भइरहेको स्वीकार्ने गरेको उनको भनाइ छ ।
स्वदेशी चिनी मिलहरूसँग पनि ठूलो परिमाणमा चिनी स्टक छ । उनीहरूले आफ्नो स्टक राखेर बिक्री नगरे घाटा हुने भएकाले बिक्री गर्न बाध्य हुने पोखरेलको दाबी छ ।
चाडपर्वका बेला बिक्री बढ्ने हुँदा मिलहरूले आफ्नो स्टक बाहिर निकाल्ने गर्छन् । हालै मात्र मिलहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरेको उनले जानकारी दिए ।
सरकारले गत जेठमा चिनीको भन्सार मूल्यमा ५० प्रतिशत कटौती गरेको थियो । यो निर्णयसँगै व्यवसायीले चालु आर्थिक वर्ष भारतबाट ४० करोड रुपैयाँभन्दा बढीको चिनी आयात गरिसकेका छन् ।
विगत वर्षहरूमा स्वदेशी चिनी उद्योगहरूले आयातमा कोटा तोक्न लगाएर चिनीको भाउ मनपरी बढाउने गरेका थिए । गत वर्ष तिहारमा समेत उपभोक्ताले प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिर्न बाध्य भएका थिए ।
तर, यसपालि भन्सार महसुल घटाएर आयात सहज बनाएपछि स्वदेशी उद्योगले एकाधिकार जमाउन पाएका छैनन् ।
तिहारमा चिनी खपत कति ?
उद्योग मन्त्रालयका सहसचिव पोखरेलले तिहार लगायत चाडपर्वमा चिनी खपत सामान्य अवस्थाभन्दा उल्लेखनीय बढ्ने बताए । चाडबाडका महिना ३० हजार टन खपत हुने अनुमान छ ।
‘सामान्य अवस्थामा अरू बेला मासिक १८ देखि २० हजार टन चिनी खपत हुन्थ्यो भने यो चाडबाडका बेला २५ देखि ३० हजार टन खपत हुन सक्छ ।’
चिनी अभाव हुँदैन : खाद्य कम्पनी
खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि तिहार, छठ र माघे संक्रान्ति जस्ता प्रमुख चाडपर्वका लागि चिनी अभाव नहुने सुनिश्चित गरेको छ ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले कम्पनीसँग पर्याप्त चिनी मौज्दात रहेको र मूल्य पनि वृद्धि नहुने बताए ।
पौडेलका अनुसार कम्पनीले निरन्तर चिनी खरिद गरी स्टक व्यवस्थापन गरिरहेको छ । ‘हामीसँग प्रशस्तै मौज्दात छँदै छ, त्यसबाहेक अहिले पनि हामीले खरिद गरेर स्टक मेन्टेन गरिरहेका छौं,’ पौडेलले भने, ‘चिनी अभाव हुँदैन ।’
कम्पनीले हाल प्रतिकिलो ९७ रुपैयाँ ५० पैसामा चिनी बेचिरहेको छ । चाडपर्व लक्षित छुटको व्यवस्था पनि रहेको र छुटपछि चिनीको मूल्य १ सय रुपैयाँभन्दा माथि नजाने पौडेलले जानकारी दिए ।
‘हामीले किलोको ९७ रुपैयाँ ५० पैसामा बेचिरहेका छौं, त्यो भएको हुनाले मार्केट त्यति माथि जान पाएको छैन,’ उनले थपे, ‘चाडपर्व पछाडि पनि हाम्रो मूल्य १ सयभन्दा माथि जाँदैन ।’
कम्पनीसँग हाल करिब ४ हजारदेखि ५ हजार क्विन्टल चिनी मौज्दात रहेको र थप आउने क्रम जारी छ । हाल भइरहेको खरिद नेपालभित्रकै उत्पादकबाट भइरहेको उनले स्पष्ट पारे । यदि आवश्यक परे भारतबाट १० हजार क्विन्टल चिनी आयात गर्न कोटा उपलब्ध रहेको पनि पौडेलले बताए ।
आन्तरिक रूपमा खरिद गरेर स्टक निर्माण गरिरहेकाले यसपालि चिनी अभाव नहुने र यो बफर व्यवस्थापनले आगामी वर्षहरूमा पनि चिनी अभाव हुन नदिने उनको विश्वास छ । दशैं, तिहार, छठ र माघे संक्रान्तिपछि चिनी उत्पादनका लागि उखु क्रसिङको सिजन सुरु हुने हुँदा आपूर्ति थप सहज हुनेछ ।
चिनीको मूल्य बढ्दैन : साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि चिनी अभाव नहुने र मूल्यमा स्थिरता कायम रहने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार कम्पनीसँग पर्याप्त चिनी मौज्दात रहेको छ ।
उनका अनुसार कर्पोरेसनसँग हाल करिब ४ हजार टन चिनी मौज्दात छ । ‘हामीसँग पनि छ, खाद्यसँग पनि छ, बजारमा पनि छ, चिनीको अभाव भएर कसैले खाली हात फर्किनु पर्दैन,’ सूचना अधिकारी राजभण्डारीले भने, ‘अहिले बजारमा चिनी फालाफाल छ ।’ हाल साल्ट ट्रेडिङले प्रतिकिलो चिनी ९५ रुपैयाँमा बिक्री गरिरहेको छ ।
प्रतिक्रिया 4