News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा मधुमेह भएका बिरामीले मात्र चिनी छोड्नुपर्छ भन्ने धारणा अझै कायम छ।
- चिनी खाएपछि रगतमा ग्लुकोजको स्तर छिटो बढ्छ र अतिरिक्त ग्लुकोज फ्याटमा परिणत हुन्छ।
- चिकित्सक र पोषणविद्हरूले दैनिक आवश्यकताभन्दा बढी कार्बोहाइड्रेट र चिनी सेवन नर्गन सल्लाह दिन्छन्।
आजभोलि विश्वभरका मानिसमा चिनी खान छोड्ने वा सकेसम्म कम गर्ने लहर चलेको छ । तर नेपालमा भने अझै पनि ‘चिनी खादिनँ भन्यो भने मधुमेह भएको हो ?’ भन्ने प्रश्न सोधिन्छ । मधुमेहका बिरामीले मात्र चिनी छोड्नुपर्छ भन्ने आम धारणा अझै कायम छ ।
पहिले चिनीलाई दैनिक आहारको अनिवार्य हिस्सा मानिन्थ्यो । तर, पछिल्लो समय चिकित्सक र पोषणविद्हरूले स्वस्थ मानिसलाई पनि चिनी खान नसुझाउने मात्र होइन, सकेसम्म पूरै छोड्न जोड दिइरहेका छन् । किन ? किनकि चिनीले शरीरमा ‘डाइरेक्ट ऊर्जा’ मात्र होइन, लुकेर ठूलो क्षति पनि पुर्याउँछ ।
चिनी खाएपछि शरिरमा के हुन्छ ?
चिनीमा मुख्य रूपमा सुक्रोज, जसमा ग्लुकोज र फ्रक्टोज हुन्छ । चिनी खाएपछि पहिले पेट र सानो आन्द्रामा पचिन्छ र रगतमा मिसिन्छ । यसले रक्तमा ग्लुकोजको स्तर छिट्टै बढाउने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।
‘यो बढेको ग्लुकोज देखेर अग्न्याशयले इन्सुलिन हर्मोन निकाल्छ’ उनी भन्छन्, ‘इन्सुलिनले रगतबाट ग्लुकोजलाई शरीरका कोषहरू मांसपेशी, कलेजो आदिमा पुर्याउँछ, जहाँ यसलाई ऊर्जाको रूपमा प्रयोग गरिन्छ वा ग्लाइकोजनको रूपमा भण्डारण गरिन्छ ।’
अतिरिक्त ग्लुकोज भने फ्याटको रूपमा कलेजो र शरीरका अन्य भागमा जम्मा हुन्छ । फ्रक्टोज भने मुख्य रूपमा कलेजोमा गएर प्रशोधन हुन्छ र त्यहाँ फ्याटमा बदलिन सक्ने भट्टराईले बताए ।
चिनीको कुन तत्वले कस्तो हानी गर्छ ?
हामीले धेरै चिनी सेवन गर्यौं भने यसमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्टेरोल बढाउने, रगतमा ग्लुकोज बढाउने पोषणविद् प्रतिमा सेन केसी बताउँछिन् ।
उनी भन्छिन् ‘चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ । त्यसैले आज गुलियो खाएमा भोलिपल्ट पनि गुलियो नै खानेकुरा खान मन लाग्छ । यसको धेरै सेवनले मोटोपन, मधुमेह र कोलेस्टेरोल समस्या निम्ताउछ ।’
हामी दैनिक के कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौं ?
कति चिनीजन्य खानेकुरा खाइरहेको भन्ने कुरा व्यक्तिमा भर पर्छ । एक टेबल चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्ने पोषणविद् केसीले जानकारी दिइन् ।
केसीका अनुसार शरीरलाई दैनिक १६०० देखि १८०० क्यालोरी चाहिन्छ । जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौं । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौं । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौं भनेर देखिने पोषणविद् केसी बताउँछिन् ।
चिनी छोड्ने सल्लाह किन दिइन्छ ?
आजभोलि चिकित्सक तथा पोषणविद्हरूले चिनी कम खाने वा सकेसम्म छोड्ने नै सल्लाह दिन्छन् । किनकि हामीले दैनिक खाने खानेकुराहरूमा नै पर्याप्त कार्बोहाइड्रेट हुन्छ, जुन पाचन भएर ग्लुकोजमा परिणत हुन्छ । हाम्रो शरीरलाई चाहिने भन्दा बढी कार्बोहाइड्रेट र चिनीको सेवन भइरहेको हुन्छ त्यसैले चिनी छोड्ने सल्लाह दिइने पोषणविद् प्रविण भट्टराईले बताए ।
भट्टराईका अनुसार कार्बोहाइड्रेटलाई सरल भाषामा दुई प्रकारमा बुझ्न सकिन्छ– कम्प्लेक्स कार्बोहाइड्रेट र सिम्पल कार्बोहाइड्रेट । कम्प्लेक्स कार्बोहाइड्रेट जस्तैः फाइबरयुक्त चामल, दाल, तरकारी, फलफूल शरीरमा बिस्तारै पचेर ग्लुकोजमा बदलिन्छ । यसले रगतमा चिनीको स्तर अचानक बढ्न दिँदैन र लामो समयसम्म ऊर्जा दिन्छ । तर सिम्पल सुगर चिनी, मैदा, पोलिस गरिएको सेतो चामल, जुस, मिठाइ आदि शरीरमा छिट्टै अवशोषित हुन्छ र रगतमा ग्लुकोजको स्तर तुरुन्तै बढाउँछ ।
हाम्रो दैनिक खानपानमा कार्बोहाइड्रेटको हिस्सा धेरै हुन्छ र जीवनशैली चाहिँ बसेर काम गर्ने खालको हुँदा ऊर्जा खपत कम हुने भट्टराई बताउँछन् । त्यसैले अतिरिक्त एडेड सुगरको आवश्यकता नै नपर्ने उनको भनाइ छ ।
‘चिनीलाई ‘जिरो न्युट्रिएन्ट’ पनि भनिन्छ किनकि यसले इन्स्टेन्ट ऊर्जा मात्र दिन्छ’ भट्टराई भन्छन्, ‘तर भिटामिन, मिनरल्स वा अन्य पोषक तत्व दिँदैन ।’ नियमित बढी चिनी खाँदा बोसो जम्मा हुने, मोटोपन, ब्लड सुगर बढ्ने, छाला सम्बन्धी समस्या जस्तै कालो दाग, कोलाजेन क्षति र सेलुलर ड्यामेज हुन सक्ने उनले जानकारी दिए ।
सकेसम्म अतिरिक्त चिनी नखानु नै राम्रो हुने भट्टराईको भनाइ छ यदि स्वाद चाहियो भने चिनीको सट्टा सख्खर, शुद्ध मह वा स्टेभिया प्रयोग गर्न सकिन्छ । स्टेभिया शून्य क्यालोरी भएको प्राकृतिक स्वीटनर हो जसले तौल बढाउँदैन । सख्खरमा केही मिनरल्स र आइरन पनि पाइन्छ । तर यी पनि धेरै मात्रामा नखान भट्टराईको सुझाव छ ।
दैनिक आवश्यकता पूरा गर्न हामीलाई थप चिनी चाहिँदैन । सकेसम्म कम वा चिनी नै नखानु नै स्वास्थ्यका लागि उत्तम विकल्प भएको भट्टराईले बताए ।
चिनी खान छोडेपछि के हुन्छ ?
हामीले दैनिक खाने खानाबाट नै शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट प्राप्त गर्ने भएकाले चिनी चटक्कै छाड्दा पनि केही नराम्रो असर गर्दैन । प्रोटिन फ्याट दैनिक सेवन गर्नुपर्छ । यस्ता खानेकुरा चटक्कै छाड्दा मात्र हाम्रो शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्ने पोषणविद् भट्टराईले बताए ।
तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले कार्बोहाइड्रेटका लागि चिनी खाइरहनु पर्दैन । त्यसैले चटक्कै चिनी छाड्दा स्वास्थ्यमा केही नकारात्मक असर नगर्ने उनी बताउँछन् ।
प्रतिक्रिया 4