
News Summary
Generated by OK AI. Editorially reviewed.- आयो रेमिटले बेलायतमा आयोजित ब्रिट फिनटेक अवार्ड २०२५ मा 'एमएसबी ग्लोबल' उपाधि जितेको छ।
- आयो रेमिटलाई यसको नवीन दृष्टिकोण, बलियो नियमन संरचना र ग्राहक सन्तुष्टिका आधारमा चयन गरिएको हो।
- कम्पनीले चाँडै युरोप र क्यानडाबाट सेवा सुरु गर्ने तयारी गरिरहेको छ।
२७ असोज, काठमाडौं । विश्वव्यापी रूपमा तीव्र गतिमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स तथा भुक्तानी ल्याटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ ।
बेलायतको वित्तीय प्रविधि क्षेत्रमा उत्कृष्ट उपलब्धि र नवीनतालाई सम्मान गर्न लन्डनमा आयोजित एक भव्य समारोहबीच आयो रेमिटलाई यो सम्मान प्रदान गरिएको हो ।
ब्रिट फिनटेक अवार्ड वित्तीय प्रविधि उद्योगको सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ । यसले विश्वव्यापी वित्तीय परिदृश्यमा उत्कृष्टता, नवीनता र महत्त्वपूर्ण प्रभाव पार्ने कम्पनीलाई पुरस्कृत गर्दछ ।
आयो रेमिटलाई यसको मनी सर्भिस बिजनेस (एमएसबी) सञ्चालनमा नवीन दृष्टिकोण, बलियो नियमन संरचना, पारदर्शिता र ग्राहक सन्तुष्टिका आधारमा छनोट गरिएको हो ।
नेपाली मूलका उद्यमीहरू कल्पित भण्डारी र प्रसुन भण्डारीद्वारा स्थापित आयो रेमिटको मुख्यालय बेलायतमा छ भने यसका क्षेत्रीय कार्यालय अस्ट्रेलिया र साइप्रसमा छन् ।
यो उपाधिले विश्वव्यापी रेमिट्यान्स क्षेत्रमा आयो रेमिटको बढ्दो प्रभाव र छिटो, सुलभ तथा सुरक्षित माध्यमबाट समुदायहरूलाई जोड्ने यसको मिसनलाई प्रमाणित गरेको कम्पनीको भनाइ छ ।
‘यो पुरस्कार हाम्रा ग्राहकहरूको विश्वास र हाम्रो सम्पूर्ण टिमको अथक समर्पणको प्रतिविम्ब हो, हामी सीमा पार भुक्तानीलाई सबैका लागि सरल र सुलभ बनाउन प्रतिबद्ध छौं,’ आयो रेमिटका सहसंस्थापक प्रसुन भण्डारीले भने, ‘यो सम्मानले हामीलाई विश्वभरि छरिएर रहेका र आफ्ना प्रियजनलाई सहयोग गर्न हाम्रा सेवाहरूमा निर्भर लाखौं मानिसका लागि निरन्तर नवीन समाधान विकास गर्न थप उत्प्रेरित गरेको छ ।’
कम्पनीका अनुसार यो सम्मानले डिजिटल फाइनान्समा आयो रेमिटको नेतृत्वदायी भूमिकालाई मात्र नभई विश्वव्यापी मञ्चमा नेपाली उद्यमशीलताको शक्ति र प्रभावलाई समेत उजागर गरेको छ ।
कम्पनीले आफ्नो सेवा थप विस्तार गर्ने योजना अनुसार चाँडै युरोप र क्यानडाबाट पनि सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4