+
+
Shares

राजनीतिक दल होस् त यस्तो !

जस्तोसुकै दलबाट राम्रा नेता आउँछन् ? जब हामीले सही आधारमा असल प्रश्न गर्छौं, स्पष्ट र प्रभावकारी दल र नेताको खाँचो हुँदैन।

डा. सन्जिब हुमागाईं डा. सन्जिब हुमागाईं
२०८२ असोज २८ गते ९:३६

राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो पनि दशऔंला जोडी निवेदन छ: देश र जनताको लागि काम गर्दैछु भन्ने जो–कोहीले पनि जनताको यो संवेदनशीलतालाई मनन् गरिदिनुहोस्।

यो कठिन घडीमा ‘असल राजनीतिक दल’ निर्माण/पुनर्निर्माणको नितान्त नयाँ बहसले प्रवेश पाएको छ। राजनीतिक दलको झन्डै एक शताब्दी लामो इतिहासको बीच शुरु भएको यो बहसको तार्किक निष्कर्षसँग जोडिएको छ हाम्रो ‘भविष्य’।

हो राजनीतिक दलहरूभित्र केही जटिल समस्या छन्। आजभन्दा १२ वर्ष अगाडि सन् २०१३ मा नै प्राज्ञिक जर्नलमा मैले लेखेको थिएँ– ‘सरकारमा बस्दा उल्लेखनीय नतिजा दिन नसक्दा पनि, नियमित निर्वाचन भइरहँदा पनि, स्थानीयस्तरमा बृहत् राजनीतिक परिचालनका बाबजुद र नियमित सरकार परिवर्तन हुँदा पनि’ राजनीतिक शक्ति (प्रमुख राजनीतिक मुद्दामा निर्णय गर्ने अधिकार) लामो समयसम्म सीमित व्यक्तिहरूमा मात्र निहित हुनु नेपाली लोकतान्त्रिक राजनीतिको प्रमुख समस्या हो। यो समस्या आज पनि यथावत् छ। तर राजनीतिक दलहरूलाई मूल्यांकन गर्दा यो तथ्यलाई मात्रै हेरेर राजनीतिक दलहरूको ऐतिहासिक भूमिका नजरअन्दाज गर्नु पनि त्रुटिपूर्ण हुन्छ ।

लोकतन्त्र, नेतृत्व विकास र अभूतपूर्व राजनीतिक पूँजी

नेपाली राजनीतिक दलहरूको नेपालको समाज र राजनीतिक विकासमा संसारको कुनै पनि देशको भन्दा विशिष्ट योगदान रहेको छ। पहिलो, लोकतन्त्रको बारेमा दलले आम नागरिकलाई सचेत गराएको कारण हामीले जस्तोसुकै कठिन राजनीतिक संकट पनि संवादबाट समाधान गर्न सक्ने आन्तरिक क्षमता विकास गरेका छौं। भदौ २०८२ को घटना पनि एउटा उदाहरण हो। संवादबाट अहिलेको अवस्थाबाट अगाडि बढ्नेछौं भन्नेमा पूर्ण विश्वस्त छु। यस्तो जटिल अवस्थामा हामी सबैले ‘उन्नत लोकतन्त्र’ नै विकल्प हो भनिरहेका छौं। यो अवस्थासम्म नेपाली राजनीतिको विकासमा राजनीतिक दलहरूको अतुलनीय योगदान रहेको छ।

राजनीतिक दलहरू आधुनिक राजनीतिका प्रमुख पात्र हुन्। लोकतन्त्रमा त राजनीतिक दल विना राजनीतिको परिकल्पना नै हुँदैन

एउटा तथ्यांक हेरौं। प्रतिव्यक्ति आयका आधारमा नेपाल विश्वभरमा १६०औं श्रेणीमा र प्रजातान्त्रिक देशहरूको सूचीमा ६०औं तह आसपासमा रहेको छ। आर्थिक रूपमा हेर्दा नेपाल अफ्रिकाका धेरै देशको समूहमा रहेको छ भने राजनीतिक हिसाबले एसिया र युरोपका लोकतान्त्रिक देशहरू नजिक रहेको छ। लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पनि आगामी दिनको राजनीतिक सुधारको प्रमुख मुद्दा बन्नुपर्दछ।

दोस्रो, आज नेपाली समाजका नेतृत्व तहमा बसेका धेरै व्यक्तिको व्यक्तित्व एवं नेतृत्व विकासको बगैंचा थिए राजनीतिक दलहरू। नेपालले उत्पादन गरेको उच्चस्तरीय जनशक्ति विकासको श्रेय नेपाल राज्यलाई भन्दा नेपाली समाजलाई दिनुपर्ने धेरै आधार छन्। हामी सबैले पढेको इतिहास हो, नेपालका कुना-कुनामा विद्यालय स्थापनामा समुदायको अतुलनीय भूमिका रहेको छ। राज्यले योजना गरेर विद्यालयलाई विस्तार गरेको हो भन्ने एकतर्फी आधारहरू कम छन्। शैक्षिक संस्था स्थापनामा राजनीतिमा संलग्न व्यक्ति र दलहरूको निर्णायक योगदानलाई किमार्थ अवमूल्यन गर्नुहुँदैन।

शैक्षिक संस्था स्थापना भन्दा पनि अतिरिक्त क्रियाकलापमा राजनीतिक दल र तिनका भ्रातृ संस्थाको निर्णायक भूमिका रहेको छ। पुस्तक पढ्ने कला, बोल्ने कला, सोच्ने कला सबै क्षेत्रको विकास जुन खासमा राज्यले सक्रियताका साथ गर्नुपर्ने गतिविधिलाई राजनीतिकर्मी र दलले गरेकै हुन्। यस्तो गतिविधिमा नेपाल राज्य समाजसँग अझै पनि निर्भर छ। यी क्षेत्रमा राज्यको अलमल यथावत् छ।

नेपालमा आज पनि सूचनाको प्रमुख स्रोत राजनीतिक दलहरूले विकास गरेको अभूतपूर्व राजनीतिक पूँजी नै हो। आजको मितिमा पनि अर्थात् २०८२ सालमा पनि देशभित्र बस्ने कति नागरिकसँग नागरिकता छ/छैन राज्य बेखबर छ। कसले के सेवा प्राप्त गरे–गरेनन् कसरी थाहा पाउला ? यस्तो अवस्थामा सिंहदरबारदेखि गाउँका नागरिक, तिनीहरूका कथा-व्यथालाई जोड्ने काम राजनीतिक दलले नै गरेका हुन्।

कुन गाउँको अवस्था के छ बुझ्न राज्य पनि दल र राजनीतिकर्मीसँग नै निर्भर छ। यो राजनीतिक पूँजीलाई मास्ने कि देशको परिवर्तनको प्रमुख स्रोतको रूपमा उपयोग गर्ने हाम्रै हातमा छ।

राजनीतिक दल र राजनीतिक भूमिका

अब केही सैद्धान्तिक र समस्याका कुरा गरौं। खासमा राजनीतिक दल के हुन् ? दलहरूको भूमिका के हुनुपर्ने हो? यो सैद्धान्तिक र तुलनात्मक छलफल विना हाम्रो परिकल्पनाको असल राजनीतिक दलको संवाद अपूर्ण रहन्छ।

सबैभन्दा पहिला एउटा हामीलाई स्वीकार गर्न कठिन तर शाश्वत सत्य के हो भने ‘राजनीतिक दल भनेको मन मिलेको व्यक्तिहरूको क्लब मात्रै’ हो।

राजनीतिक दलहरू आधुनिक राजनीतिका प्रमुख पात्र हुन्। लोकतन्त्रमा त राजनीतिक दल विना राजनीतिको परिकल्पना नै हुँदैन। राजनीतिक दललाई परिभाषित गर्दा रोवर्ट हकार्शनको सन् १९८४ को परिभाषाबाट शुरु गर्नु सान्दर्भिक होला। उनका अनुसार राजनीतिक दल स्वतन्त्र नागरिकहरूको समूह हो जसको प्रमुख उद्देश्य निर्वाचनमा औपचारिक उम्मेदवार उठाउने, प्रतिस्पर्धामा सहभागी हुने र निर्वाचनको विधिबाट सार्वजनिक कार्यालय कब्जा गर्ने हुन्छ। दलहरूले यो प्रक्रियामा अन्य राजनीतिक समूहलाई सहभागी हुन दिंदैनन् पनि।

फेरि पनि जनतालाई गोलमटोल कुरा गर्ने, अल्मल्याउने काम गर्नुभएन। दलको उद्देश्य र विचारमा स्पष्टता नहुनुलाई महान् मान्ने छाडा राजनीतिलाई अब कदापि स्वीकार गर्न सकिंदैन। म के हुँ र किन मैदानमा छु खेलाडी आफैंले भन्ने हो। नत्र जनताले कसरी निर्णय गर्न सक्छन् तपाईंलाई गोलकिपर बनाउने कि स्ट्राइकर !

सुन्दा अलि निर्मम लागे पनि वास्तविक राजनीतिमा राजनीतिक दलहरू यस्तै गतिविधिमा केन्द्रित हुन्छन्। तर, राजनीतिक दलहरू फेरि फरक हुन्छन् नै। हामीले पनि देखेका छौं। अनुभूति गरेका छौं। तर फरक हुनुपर्ने केमा हो र दलहरू कति फरक छन् भन्ने सिद्धान्तमा आधारित छलफलले मात्र हामीमा स्पष्टता ल्याउँछ। दलहरूलाई न्याय गर्दछ।
राजनीतिक दलहरूलाई मूलभूत रूपमा चार प्रमुख आधारमा रहेर वर्गीकरण गर्न सकिन्छ। सबैभन्दा पहिलो र नेपालको हकमा जटिल सवाल कुनै दलले तात्कालीन व्यवस्थालाई स्वीकार गरेको छ कि व्यवस्था परिवर्तनको पक्षमा छ नै हो। नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठूलो र दु:खद् गाँठो पनि यहीं छ। एकाध अपवाद बाहेक दलहरू आफ्नो धारणामा नै स्पष्ट हुन सकेनन्। सकेनन् भन्दा पनि चाहेनन् भन्नु झन् उपयुक्त होला। त्यसैले गर्दा देशमा व्यवस्थालाई संस्थागत गर्ने भन्दा पनि परिवर्तनको पक्षमा उभिएका दलहरू धेरै देखिने भए। व्यवस्था परिवर्तनको मुद्दा सधैं रहिरहने भयो। हाम्रो राजनीति दुश्चक्रमा फसिरह्यो।

दलहरू रूपान्तरण वा नयाँ दल निर्माण भइरहँदा नागरिकले प्रश्न गर्नुपर्दछ: तपाईंको दल व्यवस्था संस्थागत गर्ने दल हो कि परिवर्तनको पक्षमा हो र किन ? व्यवस्था परिवर्तन केन्द्रित दलले सडक आन्दोलनलाई प्राथमिकता दिन्छ र व्यवस्था संस्थागत गर्ने दलले सदन र सरकार मार्फत सुधार। दलहरू यो प्रधान मुद्दामा कित्ताकाट गरेर नागरिकसामु आउनुपर्दछ।

दोस्रो, दलहरूलाई उनीहरूको विचार र उद्देश्यका आधारमा वर्गीकरण गर्न सकिन्छ। लोकतन्त्र अध्ययनका हिमायती एरन लिजपार्टका अनुसार दलहरूलाई मूलभूत रूपमा तीन समूहमा वर्गीकरण गर्न सकिन्छ। वैचारिक दल, कार्यक्रमात्मक दल, व्यावहारिक दल। वैचारिक दलहरू आफ्नो सिद्धान्तमा आधारित हुने मात्रै होइन उनीहरूको संगठन र नीति पनि सिद्धान्तले निर्धारण गर्दछ। जस्तै कम्युनिष्ट पार्टी वा हरित पार्टीहरू उदाहरण हुन्। कार्यक्रमात्मक दल निश्चित समस्या समाधान केन्द्रित हुन्छन्। व्यावहारिक दलहरूसँग पूर्व निर्धारित सिद्धान्त वा कार्यक्रम हुँदैन आवश्यकताको सिद्धान्तका आधारमा आफ्नो नीति र संगठनलाई परिष्कृत गर्दै लैजान्छन्।

दलहरूसँग आफैं छनोट गर्ने स्वतन्त्रता छ। साथै यो पनि स्पष्ट हौं कि कुनै पनि राजनीतिक दल वैचारिक रूपमा स्वतन्त्र हुन सक्दैनन्। उनीहरूका अर्थ–सामाजिक, धार्मिक, सांस्कृतिक, क्षेत्रगत, परराष्ट्र नीति र विचारले एकीकृत विचार निर्धारण गर्दछ। दलले समाजको कुन समूहको समर्थनलाई उच्च प्राथमिकता दिएको छ र उसका विचार एवं उद्देश्यहरूसँगको तादात्म्यता कस्तो छ भन्ने पनि अब दलहरू मूल्यांकनको एक प्रमुख आधार हुनुपर्दछ।

हामी नागरिकले पनि हामीले खोजेको दल कस्तो हो स्पष्ट आधार बनाउनुपर्‍यो। हामी आफैंले आफैंलाई प्रश्न गरौं: कतै हाम्रो माग नै जस्तो दल भए पनि हुन्छ त्यसका दुई–चार गतिला नेता भए पुग्छ भन्ने थियो कि ?

तेस्रो पार्टी सञ्चालनका आधारमा दलहरू एलिट-आधारित दल, जन-आधारित दल, पहिचानवादी दल, निर्वाचनमुखी दल, आन्दोलन केन्द्रित दलमा पनि वर्गीकरण गर्न सकिन्छ। यस्ता आधारहरूले दलहरूको संगठन र दल सञ्चालनका आधारहरू तय गर्दछन्। एलिट-आधारित दलमा निश्चित क्षेत्र वा गुटका नेता बीचको समझदारी र प्रतिस्पर्धामा दल सञ्चालन गरिन्छ। यहाँ विचार भन्दा पनि नेताहरू बीचको सम्बन्ध नै निर्णायक हुन्छ।

जन-आधारित दलहरूको ठूलो संगठन र राजनीतिक सञ्जाल हुन्छ। सञ्जाल परिचालनले निर्वाचनको नतिजालाई निर्धारण मात्रै गर्दैन निर्वाचन पश्चात्‌को नीतिमा पनि सञ्जालका सदस्यको हितलाई उच्च प्राथमिकता दिइन्छ।

नेपाली राजनीतिमा अहिले दलहरूप्रतिको गुनासो पनि हाम्रा दलहरू एलिट, जन-आधारित भए भन्ने हो। तर सधैं झैं हामीले यसको विकल्पमा कस्तो दल खोजेको हो भन्ने बहसमा प्रवेश पनि गरेका छैनौं। सुधार र रूपान्तरणको भजनमा यो प्रधान प्रश्नले पनि प्रवेश पाउनुपर्दछ।

पहिचानवादी दलहरू निश्चित जनसंख्याको हकअधिकार प्रवर्धन केन्द्रित हुन्छन्। निर्वाचनमुखी दलहरू दलका प्रमुख नेताको अनुहारलाई अगाडि सार्दै वैचारिक अस्पष्टताका बीच पनि निर्वाचनमा जान्छन्। ठूला राजनीतिक परिवर्तन पश्चात् यस्ता दलहरू निर्माण हुन्छन्। तर निर्वाचन सम्पन्न भएपश्चात् पूर्वनिर्धारित उद्देश्य समाप्त हुन्छ र आफ्नो नयाँ पहिचान निर्माण गर्नुपर्ने हुन्छ। धेरै निर्वाचनमुखी दलहरू आफूलाई रूपान्तरण गर्न नसक्दा आफू मात्रै समस्यामा फस्ने होइन राजनीतिक परिवर्तनको उपलब्धि संस्थागत गर्न समेत नसकेको इतिहासको हामी सबै नै साक्षी छौं।

चौथो, राजनीतिक दलहरूलाई संगठनका आधारमा वर्गीकरण गर्न सकिन्छ। दलहरूको संगठन सम्बन्धी अध्ययनमा रिचार्ड काट्ज र पिटर माइरको तर्क अत्यन्तै उपयोगी छ। राजनीतिक दलको संगठन हेर्न दलका निर्वाचित जनप्रतिनिधिले सरकारमा कसरी काम गर्छन्, नागरिकसँग कसरी संवाद गर्दछन् र पार्टीको केन्द्रीय तह कसरी सञ्चालन गर्दछन् हेर्नुपर्दछ। हाम्रो गुनासो कहाँ हो र हामीले सुधार गर्नुपर्ने क्षेत्र कुन हुन् अहिले नै घनीभूत छलफल गरौं।

अब कस्तो दल ?

उत्तर सीधा छ: आफैंमा स्पष्ट दल। आफ्नो बारेमा सबै कुरा जनतालाई स्पष्ट राख्ने दल। विचार, नीति र कार्यक्रममा प्रतिस्पर्धा गर्ने दल। राजनीति सेवा हो, नागरिक मालिक हुन् र उनीहरूलाई हरेक महत्वपूर्ण निर्णय लिनुपूर्व सोध्नु, हरेक प्रमुख सूचना प्रदान गर्नु असल सेवकको अनिवार्य जिम्मेवारी हो भन्ने कर्तव्यबोध भएको दल। जस्तोसुकै परिस्थितिमा पनि जनताका समस्यालाई नवीनतम समाधानमा रूपान्तरण गर्न सक्ने विश्वसनीय अभिभावक जस्तै दल हो।

त्यसको लागि सबैभन्दा पहिला दलहरूले आम नागरिकलाई भन्नुपर्‍यो, कुन बाटो र किन छनोट गरेको हो। दलहरूले भन्नुपर्‍यो व्यवस्था प्रतिको धारणा के हो ? उद्देश्य के हुन् ? विचार के हो ? त्यसलाई प्राप्त गर्ने आधार र संगठन कस्तो हुने हो ? तपाईंको दलको सामाजिक आधार के हो ? उद्देश्य, सामाजिक आधार र संगठन बीच तादात्म्यता छ ?

फेरि पनि जनतालाई गोलमटोल कुरा गर्ने, अल्मल्याउने काम गर्नुभएन। दलको उद्देश्य र विचारमा स्पष्टता नहुनुलाई महान् मान्ने छाडा राजनीतिलाई अब कदापि स्वीकार गर्न सकिंदैन। म के हुँ र किन मैदानमा छु खेलाडी आफैंले भन्ने हो। नत्र जनताले कसरी निर्णय गर्न सक्छन् तपाईंलाई गोलकिपर बनाउने कि स्ट्राइकर!

हामी नागरिकले पनि हामीले खोजेको दल कस्तो हो स्पष्ट आधार बनाउनुपर्‍यो। हामी आफैंले आफैंलाई प्रश्न गरौं: कतै हाम्रो माग नै जस्तो दल भए पनि हुन्छ त्यसका दुई–चार गतिला नेता भए पुग्छ भन्ने थियो कि ? जस्तोसुकै दलबाट राम्रा नेता आउँछन् ? जब हामीले सही आधारमा असल प्रश्न गर्छौं, स्पष्ट र प्रभावकारी दल र नेताको खाँचो हुँदैन।

लेखक
डा. सन्जिब हुमागाईं

दक्षिण कोरियाको यान्से विश्वविद्यालयबाट अर्थराजनीतिमा विद्यावारिधि गरेका हुमागाईं त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा एमफिल तथा पीएचडी कार्यक्रममा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?