
भाद्र २३ र २४ को जेनजी आन्दोलनले नेपालका वर्तमान राजनीतिक पार्टीहरुको जीवनमा रहेका वैचारिक र संगठनात्मक संकटको प्रत्यक्ष परिणाम देखायो। यो आन्दोलन कुनै दलको आयोजनाबाट होइन, असमानता, भ्रष्टाचार, सरकारी उदण्डता र जनताप्रतिको बेवास्ता कारण उत्पन्न अव्यवस्थाका विरुद्ध जनमानसमा जम्मा भएको असन्तुष्टिको स्वत:स्फूर्त विस्फोट थियो। सामाजिक सञ्जालमाथिको प्रतिवन्धले यसमा थप प्रज्वलन थप्यो।
सत्ताधारी दलहरू- एमाले र नेपाली कांग्रेसले यस आन्दोलनलाई भूराजनीतिक चलखेलको परिणाम ठहर गर्दै “उछृङ्खल” र “अराजक” भन्ने संज्ञा दिए। तर, नेपाली कांग्रेसले अन्तिम क्षणसम्म प्रधानमन्त्री केपी ओलीको नरसंहारमा साथ दिँदै आफ्नो विरोधाभास र वैचारिक दिवालियापन प्रकट गर्यो। आज ती दलहरू जेनजी आन्दोलनको मुख्य निशाना बनिरहँदासमेत अझै होसमा आएका छैनन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरोध गर्यो । भाद्र २३ गतेको जेनजी माथिको दमन र नरसंहारको निन्दा गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनायो र केपी ओलीको राजीनामा माग गर्यो। तर, माओवादीले आन्दोलनमा सक्रिय सहभागिता र नेतृत्वको अवसर गुमायो। फलस्वरूप “एमाले, कांग्रेस र माओवादी उस्तै हुन्” भन्ने भाष्य खडा गर्नेलाई बल मिल्यो ।
यो चुनौतीलाई अझै पनि अवसरमा बदल्न सकिन्छ । तर, जेनजी आन्दोलनको ऐतिहासिकतालाई आत्मसात गर्ने रूपान्तरणको ठोस योजनाविना यो आन्दोलनले पूर्ण प्रभाव दिन सक्दैन।
जनताको असन्तोषले स्पष्ट सन्देश दिएको छ– जब पार्टीहरू संश्लेषण र आत्मसमीक्षाबाट टाढा जान्छन्, तब आन्दोलन र जनआक्रोश नै नयाँ संश्लेषणको रूपमा उदाउँछ।
राजनीतिक पार्टी र संगठनात्मक भिन्नता
राजजनीतिक पार्टीहरू समाजका वर्गीय हित र चेतनाका प्रतिनिधि हुन्। तर, सबै पार्टीहरूको संगठनात्मक चरित्र समान हुँदैन। बुर्जुवा पार्टीको आन्तरिक जीवन प्रतिस्पर्धा, बहुलता र सम्झौतामा आधारित हुन्छ भने कम्युनिस्ट पार्टीको जीवन–स्रोत विचार, अनुशासन र संश्लेषणमा निहित हुन्छ। यो भिन्नता बुझ्न नसक्दा धेरै कम्युनिस्ट आन्दोलनहरू समयक्रममा विचारभन्दा सत्ताको राजनीतिमा सीमित बनेका छन् र अन्ततः पतन भएका छन्।
यसको विपरीत, क्रान्तिकारी शुद्धताको एकोहोरो माला जप्ने पार्टीहरू जनताबाट अलग–थलग परेर प्रगतिशील साहित्यकार खगेन्द्र सङ्ग्रौलाको “टुप्पी कथा” का पात्रजस्तै मात्र रहिरहे।
बुर्जुवा पार्टी र स्थायी गुटबन्दी
बुर्जुवा पार्टीहरूमा स्थायी गुटबन्दी नकारात्मक होइन, बरु संस्थागतरूपमा आवश्यक मानिन्छ। गुटबन्दी नीतिनिर्माणमा विविध दृष्टिकोण ल्याउने माध्यम हो। चुनावी प्रणाली र सत्ताको सन्तुलनमा आधारित संसदवादी पार्टीहरूको जीवनमा प्रतिस्पर्धा नै प्रेरक आधारभूत शक्ति हो। त्यसैले उनीहरूका स्थायी गुटहरू विचार, बहस र शक्ति सन्तुलनका संवैधानिक संयन्त्र जस्तै हुन्। बुर्जुवा पार्टीहरूले विश्लेषण र निष्कर्षमा विश्वास गर्छन् । मतभिन्नतालाई अन्ततः सम्झौता वा बहुमतमार्फत टुंग्याइन्छ।
कम्युनिस्ट पार्टी र संश्लेषणको सिद्धान्त
कम्युनिस्ट पार्टी वर्गसंघर्षको संगठित रूप हो, जसको अन्तिम उद्देश्य केवल सत्ता प्राप्ति होइन, समाजको अग्रगामी रूपान्तरण हो।
पार्टीभित्र विचार–संघर्ष अपरिहार्य छ तर स्थायी होइन, संश्लेषणात्मक हुनुपर्छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि बहुमत र अल्पमत प्राविधिक विषय मात्र हुन्।
लेनिनले १९०२ मा भन्नुभएको छ ‘क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन निर्माण हुन सक्दैन।’ जसको अर्थ हो, विचार स्थायित्व मात्र होइन, निरन्तर विकास आवश्यक छ। यही विकास नै संश्लेषणको मार्ग हो।
कम्युनिस्ट पार्टीमा अस्थायी विचार समूहहरू बन्नु सैद्धान्तिक मान्यताको दायराभित्र पर्छ। ती समूहहरूले वैचारिक स्पष्टताका लागि तथ्य र तर्क प्रस्तुत गर्छन्। तर यी समूहहरू स्थायी भएमा संश्लेषण असम्भव हुन्छ र विचार समूहहरू गुटमा पतन हुन्छन् ।
संश्लेषण भनेको विचार–संघर्षको अन्तिम चरण हो, जहाँ भिन्न मतहरू एकीकृत वैचारिक नीतिमा रूपान्तरण हुन्छन्। माओले यसै सन्दर्भमा भनेका थिए, ‘हजारौं फूलहरू फुल्न देउ, सयौं विचारबीच प्रतिस्पर्धा गर्न देउ।’ तर, यसको अर्थ अराजक बहस होइन, संश्लेषणतर्फ लैजाने सिर्जनशील वैचारिक संघर्ष हो ।
स्थायी गुटबन्दी र विचार विकासमा अवरोध
कम्युनिस्ट पार्टीभित्र स्थायी गुटबन्दी रह्यो भने विचार संघर्ष शक्ति संघर्षमा रूपान्तरण हुन्छ। बहस विचार र पार्टीको उन्नतिका लागि होइन, पद, प्रभाव र स्वार्थका लागि केन्द्रित हुन्छ।
यस अवस्थामा पार्टीभित्रको वैचारिक जीवन मर्छ, केवल संरचना र पदको राजनीति बाँकी रहन्छ। मार्क्सवादी संगठन सिद्धान्तमा यसलाई ‘जनवादी केन्द्रीयताको ब्युरोक्रेटिक ह्रास’ भनिन्छ। लेनिनले यस विषयमा चेतावनीसहित भन्नुभएको थियो, ‘छलफलमा स्वतन्त्रता, काम कारबाहीमा एकरुपता।’
जब विचारको स्वतन्त्रता मर्छ र काम कारबाहीमा मात्र आदेशको पालन गरिन्छ र पार्टी यान्त्रिक, निरंकुश एवं निष्प्राण बन्छ।
लेनिन र स्टालिन : संश्लेषण र नियन्त्रणबीचको भिन्नता
लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी विचार र संगठनको सन्तुलनमा उभिएको थियो। विचार संघर्षलाई उहाँले पार्टीको जीवनको स्वास-प्रश्वास ठान्नुहुन्थ्यो। त्यसैले लेनिनको कालमा पार्टी बहस जीवन्त, तर एकीकृत थियो र संश्लेषणद्वारा एकता कायम राखियो।
तर, स्टालिनको उत्तरार्धमा पार्टीमा विचार संघर्षलाई नियन्त्रण र भयद्वारा प्रतिस्थापन गरियो। मतभिन्नतालाई वैचारिक बहसको साटो ‘द्रोह’ ठानियो, आलोचनालाई ‘अनुशासनहीनता’ को रूपमा बुझियो।
परिणामस्वरूप, स्टालिनकालमा पार्टीले “डण्डा अनुशासन” मार्फत् उत्पादन विस्तार त देखायो तर वैचारिक सिर्जनशीलता र क्रान्तिकारी गतिशीलता हरायो। अवसरवादीहरूले नेतृत्वको वरिपरि घेरा विस्तार गर्दा निर्णय मनोगत भए र समाजमा गत्याबरोध पैदा भयो।
इतिहासकारहरूको टिप्पणीअनुसार ‘लेनिनले एउटा जीवित पार्टी निर्माण गर्नुभयो, स्टालिनले त्यसलाई यन्त्रवत सञ्चालन गर्नुभयो।’
निष्कर्ष : संश्लेषण नै पार्टीको जीवन
साँचो अर्थमा कम्युनिस्ट पार्टी निरन्तर संश्लेषण गर्ने पार्टी हो, स्थायी एकताको होइन। विचार संघर्षलाई रोक्नु होइन, संश्लेषणको दिशामा लैजानु यसको आत्मा हो।
स्थायी गुटबन्दीले पार्टीमा अस्थिरता मात्र ल्याउँछ, तर वैचारिक संघर्षले पार्टीलाई नयाँ जीवन दिन्छ। मार्क्सले भन्नु भएको थियो, ‘दर्शनशास्त्रीहरूले केवल संसारको व्याख्या गरेका छन्, तर मुख्य कुरा भनेको यसलाई परिवर्तन गर्नु हो।’
क्रान्तिकारी कम्युनिस्ट पार्टीले लेनिनले निर्माण गरेझैँ, विचार र अभ्यासबीचको द्वन्द्वात्मक बहसको संश्लेषणमा विश्वास गर्नुपर्छ। जब संश्लेषण बन्द हुन्छ, पार्टी बाँच्छ तर विचार मर्छ। विचार मरेपछि पार्टी केवल यान्त्रिक र नामको मात्र संस्था रहन्छ।
क्रान्तिकारीहरुले विचारको प्रकाशमा ब्यवहारलाई अगाडि बढाउँछ, र क्रान्ति सफल हुन्छ । तर, व्यवहारवादले क्रान्तिकारी विचारको हत्या गर्छ, र जडसूत्रवादले क्रान्तिकारी व्यवहारको हत्या गर्छ, जसले पार्टीलाई ‘घर न घाटको’ बनाउँछ।
नेपालको कम्युनिस्ट आन्दोलन स्थापनाकालदेखि नै यी दुई अतिवादी भड्कावविरुद्ध संघर्ष गर्दै गन्तव्यतर्फ अग्रसर छ। यसर्थ निराश हुन आवश्यक छैन । राजनीतिप्रति चासो राख्न छाडेका जेनजीहरु राजनीतिमा तानिएका छन्, यो सबभन्दा खुसीको कुरा हो ।
समाजवाद बाहेक मानव जातिको रक्षा गर्ने अर्को बाटो छैन । समाजवादी क्रान्ति अजेय छ भन्ने कुरा जेनजीहरुलाई बुझाउन सकियो भने युगले कोल्टे फेर्नेछ । वर्तमानमा जेनजी र माओवादी केन्द्रका एजेण्डा समान छन् । यसर्थ, ढिलो-चाँडो उनीहरुले बुझ्ने छन्, धर्यतापूर्वक अगाडि बढौं !
प्रतिक्रिया 4