
२८ असोज, काठमाडौं । आजदेखि सुरु हुने केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ ।
सभापति देउवासँग मंगलबार बिहान भएको छलफलमा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे तीन नेताबीच सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए ।
नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने अडानमा दुई महामन्त्री छन् ।
तीन नेताको छलफल पछि आजै बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने तयारी थियो । तर कार्य सम्पादन समितिको बैठक अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
सभापति देउवा निकट एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा देउवा आएर आफ्नो वक्तव्य पढ्ने कार्यक्रम छ ।
बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेका कारण आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुट्ने ती नेताले बताए ।
प्रतिक्रिया 4