
२९ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।
एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए ।
‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसका लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईंहरूको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरूले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरूले हाइज्याक गर्दिए ।’
दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए ।
प्रतिक्रिया 4