+
+
Shares

नेपाल आएका भारतीय र चिनियाँले गरे ‘क्यूआर’ बाट पौने अर्ब भुक्तानी

चालु आव साउन र भदौमा मात्रै भारतीय र चिनियाँले करिब २ लाख ७० हजार कारोबार मार्फत ७५ करोड रुपैयाँको कारोबार गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष साउन र भदौमा भारतीय र चिनियाँले नेपालमा ७४ करोड ९० लाख रुपैयाँ बराबर क्यूआर मार्फत भुक्तानी गरेका छन्।
  • नेपालीले चीन र भारत गएर क्यूआर भुक्तानी गर्ने सेवा हाल सञ्चालनमा छैन, तर आवश्यक पूर्वाधार र परीक्षण सम्पन्न भइसकेको छ।
  • चालु आव साउन र भदौमा क्यूआर भुक्तानी मार्फत आन्तरिक कारोबार क्रमशः १ खर्ब ६७ करोड र १ खर्ब १ अर्ब २३ करोड पुगेको छ।

२९ असोज, काठमाडौं । नेपाल आएका भारतीय तथा चिनियाँले पौने अर्ब रुपैयाँ बराबर भुक्तानी ‘क्यूआर’ मार्फत गरेका छन् । उनीहरूले विद्युतीय भुक्तानी सेवा प्रदायक मार्फत उक्त रकम बराबर कारोबार गरेका हुन् ।

चालु आर्थिक वर्ष साउन र भदौमा मात्रै भारतीय र चिनियाँ नागरिकले नेपाल आएर ७४ करोड ९० लाख रुपैयाँ बराबर क्यूआर मार्फत भुक्तानी दिएको राष्ट्र बैंकले जनाएको छ।

हाल नेपालीले उल्लेखित देश गएर क्यूआर भुक्तानी गर्ने सुविधा छैन । तर, त्यसका लागि आवश्यक पूर्वाधार तथा परीक्षण कारोबार समेत सम्पन्न भइसके पनि सेवा नै सञ्चालन हुन भने नसकेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

चालु आव साउन र भदौमा मात्रै भारतीय र चिनियाँले करिब २ लाख ७० हजार कारोबार मार्फत ७५ करोड रुपैयाँको कारोबार गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार चालु आव साउनमा १ लाख ३३ हजार कारोबारबाट ३७ करोड ३० लाख र भदौमा १ लाख ३५ हजार कारोबारबाट ३७ करोड ६० लाख बराबर क्यूआर मार्फत भुक्तानी भएको छ । विदेशीले क्यूआर मार्फत नेपालमा भुक्तानी गरेको तथ्यांक नै गत आवदेखि राख्न थालिएको केन्द्रीय बैंकले जनाएको छ ।

तर, नेपाली चीन र भारत जाँदा क्यूआर भुक्तानी सेवा नभएको केन्द्रीय बैंकका एक अधिकारीले बताए । ‘चिनियाँले अली पेमार्फत एनसीएचएलले सम्झौता गरेर फोन पेमा भुक्तानी दिन सक्छन,’ ती अधिकारीले भने, ‘अर्को विच्याट पेमार्फत पनि चिनियाँले नेपालमा क्यूआर गरेर भुक्तानी गर्न सक्छन्, विच्याट मार्फत हुने कारोबार एनएमबी र माछापुच्छ्रे बैंकका माध्यमबाट राफसाफ हुने गर्छ ।’

भारतका सन्दर्भमा पनि ‘एक्वायरिङ’ अर्थात् नेपालमा मात्र भुक्तानी गर्न सक्ने सुविधा रहेको उनको भनाइ छ । ‘भारतीय ग्राहकले नेपालमा फोन पेको नेटवर्कमा क्यूआर स्क्यान गरी भुक्तानी दिन सक्छन्,’ उनले भने, ‘नेपालीले चीन र भारत गएर क्यूआर मार्फत भुक्तानी गर्ने सुविधा अहिले छैन ।’

नेपाली भारत जाँदा पनि क्यूआर भुक्तानी गर्ने सेवा सञ्चालनका लागि दुवै पक्षबाट सिस्टम परीक्षण गरेर कारोबार गर्न तयारी अवस्थामा रहेको ती अधिकारीको भनाइ छ ।

यसरी विदेशीले गर्न पाउने क्यूआर भुक्तानीको सीमा भने १ लाख रुपैयाँ बराबर छ । कार्डमार्फत हुने कारोबार भने दुवैतर्फ हुने गरेको ती अधिकारीको भनाइ छ ।

क्यूआरको आन्तरिक भुक्तानी कति ?

केन्द्रीय बैंकका अनुसार क्यूआरको आन्तरिक भुक्तानी भने निरन्तर बढ्दो छ । चालु आव साउनमा ४ करोड ९ लाख क्यूआर भुक्तानी भएकोमा भदौमा ४ करोड १० लाख भएको छ ।

साउनमा क्यूआर भुक्तानी मार्फत १ खर्ब ६७ करोड बराबर भुक्तानी भएको थियो । भदौमा १ खर्ब १ अर्ब २३ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

भदौमा आरटीजीएस मार्फत ६५ हजार २ सय ६७ कारोबारबाट ८१ खर्ब ८७ अर्ब २५ करोडको कारोबार भएको छ । यो रकम साउनको तुलनामा थोरै हो । साउनमा ९३ खर्ब ३० अर्ब ५८ करोड बराबर कारोबार भएको थियो ।

त्यसैगरी भदौमा १ करोड २ लाख ५९ हजार कारोबारबाट ८५ अर्ब बराबर कारोबार भएको छ । यो रकम साउनको तुलनामा धेरै हो । साउनमा १ करोड ३ लाख कारोबारबाट ८३ अर्ब २० करोड बराबर कारोबार भएको थियो ।

त्यसैगरी भदौमा कनेक्ट आईपीएस मार्फत २० लाख कारोबार भएको छ भने मोबाइल बैंकिङ मार्फत ६ करोड २५ लाख ८९ हजार कारोबार भएका छन् ।

भदौमा वालेट मार्फत कारोबार संख्या ३ करोड ७९ लाख छ । वालेटमा भएको वित्तीय कारोबार संख्या साउनभन्दा थोरै हो । साउनमा ३ करोड ९६ लाख कारोबार भएका थिए ।

त्यसैगरी चालु आव भदौमा ई–कमर्स मार्फत १ लाख ८५ हजार कारोबार भएका छन् । प्रविधिमा आएको विकाससँगै वित्तीय क्षेत्रको कारोबार पनि नगदभन्दा डिजिटलमा बढेको ती अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?