
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्।
- केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशनमै जानुपर्ने पक्षले विशेष महाधिवेशनको एजेन्डा नपरेको बताएका छन्।
- अभियानकर्ता गुरुराज घिमिरेले मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन अगाडि बढ्ने बताए।
नेपाली कांग्रेसमा यतिबेला नियमित कि विशेष महाधिवेशन भन्ने बहस चलिरहेको छ । १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइसकेका छन् ।
१४ औं महाधिवेशनका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको हस्ताक्षर अभियानकर्ताहरूको दाबी छ । नेता गुरुराज घिमिरे सहितका १०९ जना महाधिवेशन प्रतिनिधिले ६ असोजबाट अभियान थालेका थिए ।
हस्ताक्षर बुझाइएको एक दिनपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने नेताहरूले भने पार्टी नियमित महाधिवेशनमै जानुपर्ने बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको एजेन्डा नै नपरेको अवस्थामा हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता घिमिरेसँग अनलाइनखबरकर्मी केशव सावदले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
पार्टी सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परी घाइते हुनुभयो । तपाईंले भने विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर अभियान थाल्नुभयो । सभापति उपचाररत रहेकै बेला हस्ताक्षरको आह्वान गर्नु आवश्यक थियो ?
हामीले १४औँ महाधिवेशन सकिएदेखि नै १५औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्छ भन्दै आयौँ । गत वर्षदेखि हामी सरकारमा छौँ । सरकारमा जाने साथीहरूले सरकार चलाइरहनुभएको छ । बहुमतको सरकार छ, त्यताको चिन्ता धेरै छैन ।
सरकारलाई प्रभावकारी बनाउने र सुशासन दिने काम अगाडि बढाउँदै पार्टीमा महाधिवेशनको तयारी पनि अगाडि बढाऊँ भनेर हामीले गत वर्षदेखि र त्यसअघि नै रूपान्तरण अभियानका दौरानमा पनि भन्यौँ ।
तर, ६ महिना मात्रै समय बाँकी हुँदासम्म पनि महाधिवेशन गराउनेतर्फ अग्रसरता देखिएन । केन्द्रीय कार्यसमितिले आधारभूत कामहरू सम्पन्न गर्ने अग्रसरता लिँदै लिएन ।
२३ र २४ भदौमा जेनजीहरूले आन्दोलन गरेर नेपालको राजनीतिमा अभूतपूर्व, अकल्पनीय र अनपेक्षित परिवर्तन ल्याए । त्यसपछि हामीलाई लाग्यो- अहिले उत्पन्न विषम राजनीतिक परिस्थितिको विवेचना र समीक्षा गर्नुपर्छ ।
हामी २०४८ सालदेखि निरन्तर शासनको केन्द्रमा छौँ र देश यो अवस्थामा आउनमा कतै हामी पनि दोषी छौँ कि ? अथवा कुन–कुन शक्तिको कारणले यो स्थिति आयो ?
भएको संसद् गयो, संवैधानिक प्रक्रिया अवरुद्ध भयो र अहिले मूलधारमा रहेका राजनीतिक पार्टीहरू सत्ताको केन्द्रबाट किनारामा धकेलिए । यो विषयको समीक्षा गरौँ, आउने सम्भावित निर्वाचनका लागि तयारी गरौँ र भोलि कुनै आन्दोलन गर्नुपर्यो भने त्यसका लागि पनि तयारी गरौँ ।
मुख्य कुरा, पार्टीलाई नयाँ पुस्ताको भावनाअनुसार चल्ने पार्टीको रूपमा अगाडि बढाउनका निम्ति केही नीतिगत तथा संरचनागत बन्दोबस्त मिलाऊँ, विधान संशोधन गरौँ र नेतृत्व परिवर्तन गरौँ भनेर हामीले महाधिवेशनको माग गर्यौँ । मागलाई सार्थक बनाउने दिशातर्फ पार्टी अगाडि नबढेपछि गत ६ असोजदेखि हामीले विशेष महाधिवेशनको माग गरेका हौँ ।
हस्ताक्षर अभियान अगाडि बढाउँदै गर्दा के-कस्ता अप्ठ्यारा वा बाधा–अड्चन भोग्नुपर्यो ?
पार्टीका साथीहरूले यसलाई हार्दिकतापूर्वक लिनुभयो । देशभरिका साथीहरू सहभागी हुनुभयो । यो हाम्रो र मुलुककै आवश्यकता हो भनेर साथीहरूले सहर्ष ग्रहण गर्नुभयो । अभूतपूर्व रूपमा समर्थन गर्नुभयो । त्यसैले अभियान सफल पनि भयो ।
हामीले हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा बुझाइसक्यौं । यसले पार्टीलाई नवजीवन दिने काम गरेको छ । महाधिवेशनतर्फ नेतृत्वको जुन अन्योलपूर्ण गतिविधि थियो, त्यसलाई विश्वसनीय बनाउन योगदान पुर्याएको छ । त्यसैले, अब मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुको विकल्प छैन । यदि मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशन अगाडि बढ्छ ।
जेनजी आन्दोलनको ‘रिफ्लेक्सन’ कस्तो पाउनुभयो ? यदि आन्दोलनअघि अभियान सञ्चालन गर्नुभएको भए अहिले तपाईंहरूले दाबी गरिरहनुभएको जति महाधिवेशन प्रतिनिधिहरू पुग्थे ?
जेनजी आन्दोलनअघि पनि यो माग मुखर रूपमा उठाउँदै आएकै हौँ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति बनेपछि अनुकूलता प्रदान गरेको चाहिँ सत्य हो । तर पार्टीको नियमित महाधिवेशन समयमा हुनुपर्छ भन्ने कुरामा साथीहरू सबै एकमत हुनुहुन्थ्यो र दबाबपूर्ण अभियान चलाउने सुरसारमै थियौँ ।
वास्तवमा, हामीले देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई दशैँ र तिहारको बीचमा केन्द्रमा बोलाउने योजना पनि बनाएका थियौँ । त्यसको तयारीका लागि कोशी, मधेश र गण्डकी प्रदेशमा हामीले भेला तथा अन्तर्क्रिया सम्पन्न गरिसकेका थियौँ । त्यसलाई टुङ्ग्याएर तिहार लगत्तै महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउने तयारीमै थियौँ ।
कांग्रेसमा थुप्रै गुट–उपगुट छन् । यो हस्ताक्षर अभियानमा कुन गुटका प्रतिनिधिको बढी सहभागिता छ ? अनि कस्तो प्रकृतिका प्रतिनिधिहरूले तपाईंहरूलाई साथ दिनुभयो ? यो अभियानमा शीर्ष नेताहरूको साथ थियो ?
विल्कुलै यो साझा अभियान हो । गुट निरपेक्ष अभियान हो । यहाँ सबै साथीहरू संलग्न हुनुहुन्छ । पार्टीलाई लामो समयदेखि योगदान पुर्याउनुभएका त्यागी, समर्पित, योग्य साथीहरू, अवसर नपाएका र अवसरबाट वञ्चित भएका साथीहरू संलग्न हुनुहुन्छ । गुटको पटक्कै प्रभाव छैन ।
१४औँ महाधिवेशनमा विभिन्न नेताहरूलाई भोट हालेका साथीहरू संलग्न हुनुहुन्छ । यो पार्टीलाई रूपान्तरण गर्ने, गतिशील बनाउने र जुनसुकै चुनौती आए पनि (चाहे निर्वाचन होस् वा आन्दोलन) त्यसको सामना गर्नसक्ने पार्टी निर्माण गर्ने दिशामा अगाडि बढ्ने साथीहरूको अग्रसरता हो ।
तपाईंहरूको माग पार्टीले सम्बोधन गर्छ भन्ने ग्यारेन्टी छ ? सम्बोधन नभए आगामी ‘स्टेप’ के हुन्छ ?
गर्ने र नगर्नेमा विभाजन हुनुहुँदैन । यो पार्टीका सम्पूर्ण साथीहरूको भावना हो । कसैले हस्ताक्षर गर्नुभयो होला, कसैले गर्नुभएन होला, तर पार्टी त सबैको साझा हो । हामी सबैको योगदानले पार्टी यहाँ छ । इतिहासमा पनि हामी सबै सँगै लड्यौँ, सङ्घर्ष गर्यौँ, योगदान पुर्यायौँ । त्यसैले, पार्टी सबैको साझा हो ।
यो हस्ताक्षर अभियानले सबैको भावना समेटेको छ । ५४ र ४६ प्रतिशत भन्ने यसमा कुनै विभाजन छैन । यो शतप्रतिशत साथीहरूको अभियान हो । कोही अग्रसर भएर प्रकट रूपमा देखिनुभयो, कोही देखिनुभएको छैन ।
त्यसैले, यो पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने, गतिशील बनाउने र समयसापेक्ष नेतृत्व चयन गर्ने अभियान भएको हुनाले सबै साथीहरू एकै साथ छौँ । अब नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्ने कुरामा विभाजित हुनु जरुरी छैन ।
नियमित महाधिवेशन होस् या विशेष महाधिवेशन यी दुवै वैधानिक व्यवस्था हुन् । विशेष महाधिवेशन भनेको बीपी कोइराला र सुवर्ण शमशेरले अभ्यास गरेको व्यवस्था हो ।
त्यसो भएको हुनाले, विशेष महाधिवेशनको हस्ताक्षरकर्ता भएको नाताले मैले पार्टी नेतृत्वलाई विनम्रतापूर्वक के आग्रह गर्छु भने, मङ्सिरभित्रै नियमित महाधिवेशनको भरपर्दो तालिका ल्याउनुभयो भने हाम्रो आपत्ति हुँदैन । यदि फेरि पनि लम्ब्याउने वा कार्यसमितिको म्याद बढाउनेतर्फ अग्रसर हुनुभयो भने विशेष महाधिवेशनको विकल्प छैन ।
प्रतिक्रिया 4