+
+
Shares

जेनजी शहीद परिवारले कहिले पाउँछन् न्याय ? (भिडियो)

राजपत्रमा शहीदको सूचना प्रकाशन गर्ने, विधायिका संसदमा सहिदहरूको सालिक राख्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा तस्बिर टाँस्ने र दोषीलाई कारबाही गर्ने जस्ता मागहरू यो समितिको रहेको छ ।

सापेक्ष सापेक्ष
२०८२ असोज ३१ गते २१:००

३१ असोज, काठमाडौं । भदौ २३ गते दिउँसो तीन बजेतिर भोजविक्रम थापालाई फोन आयो- तपाईं तुरुन्त अस्पताल आउनु पर्‍यो ।

अनायासै उनको मन चिसो भयो । फोन गर्नेलाई उनले पृष्ठभूमि सोधे । उत्तर जे आयो, त्यो मुटु कमाउने खालको थियो । उनका २६ वर्षिय भान्जा इश्वत अधिकारीलाई प्रहरीले चलाएको गोली लागिसकेको थियो । फोन आउँदासम्म उनलाई ट्रमा सेन्टरको इमर्जेन्सीमा पुर्‍याइसकिएको थियो ।

थापाका अनुसार इश्वतलाई नयाँ बानेश्वरको एभरेस्ट होटेल आसपासमा गोली लागेको थियो । तत्कालै उनलाई अन्य प्रदर्शनकारीहरूले एम्बुलेन्समा राखेर अस्पताल दौडाएका थिए । त्यहीँक्रममा उनको फोन खसेको थियो । र, उनीहरूले फोनबाटै नम्बर पत्ता लगाएर इश्वतका फुफाजु भोजलाई सम्पर्क गरेका थिए ।

थापाले यो खबर अन्दाजी साढे तीन बजेतिर पाएका थिए । लगत्तै उनीसहित परिवार दौडादौड गरी अस्पताल पुग्यो ।

‘साढे तीन बजेतिर हामी चाहिँ ट्रमा सेन्टरमा पुगेका थियौँ । अस्पताल पुग्दा त्यहाँ ६ जना मृतकको लास राखिएको थियो । इश्वतलाई छातीमै गोली लागेको रहेछ । अरू बिरामीहरू पनि त्यहाँ धेरै थिए, ’त्यस दिनको घटना सम्झँदै थापाले अनलाइनखबरलाई सुनाए ।

तर त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो । अस्पतालले इश्वतलाई मृतक घोषणा गरिसकेको थियो । त्यहीँ पनि केही हुन्छ कि भन्ने आसमा परिवार राति ८/९ बजेसम्म अस्पतालमै बस्यो । तर उनीहरूलाई अब के हुन्छ भन्ने विषयमा केही पनि जानकारी थिएन ।

पछि अस्पताल प्रशासनले ती लासहरूको पोस्टमार्टम ट्रमा सेन्टरमा नभई टिचिङ अस्पतालमा हुने जानकारी दिए । परिवारले इश्वतको ‘बडी’ पहिचान गरेर हकवालाको नम्बर टिपाएपछि मात्र घर फर्कियो ।

000

इश्वतलाई त्यसो हुनु केही समयअघि मात्रै उनको बुबालाई हृदयघात भएको थियो । सर्जरी पछि उनका बुबा परिवारको हेरचाहमा थिए । त्यस्तोमा छोरोको बलिदानीको खबर सुनाउनु र परिस्थिति सम्हाल्नु पर्ने अवस्था थियो । उनीहरू नजिकका उनै भोज थिए ।

तर उनको बुवालाई केही होला कि भन्ने डर थियो । यस्तोमा जिम्मेवारी बाँडफाँट गर्नुपर्‍यो । थापा स्वयं इश्वतको कामतिर लागे भने उनकी श्रीमती इश्वतको बुवालाई हेर्नेतिर लागिन् ।

त्यसबेलासम्म जेनजी आन्दोलनपछि लगाइएको कर्फ्यू कामय मै थियो । जसले गर्दा परिवारहरूका लागि लासको व्यवस्थापन र सरकारी निकायसँग समन्वय गर्न झनै कठिन भइरहेको थियो ।

देश सरकारविहीनताको अवस्थामा थियो । शोक त छँदै थियो ।

भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्रीमा आएपछि मृतक परिवारहरू भोलि पल्ट अर्थात् भदौ २८ गते बिहानै भेट्न गए ।

त्यहाँ उनीहरूले महत्त्वपूर्ण दुई माग राखे । १. बाबुहरूको सबै व्यवस्थापन । २. बिना कारण गोली खाएका उनीहरूलाई शहीद घोषणा ।

प्रधानमन्त्री कार्कीले तत्काल यी मागहरू सम्बोधन गर्ने आश्वासन दिइन् । त्यसपछि जेनजी आन्दोलनमा सदाहत प्राप्त गरेकाहरूलाई शहीद घोषणा गरियो भने राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

त्यसपछि दोस्रो चरण अर्थात शहीद परिवारलाई सहयोग लगायतका अन्य मागहरूको काम सुरु भएको थापा बताउँछन् ।

उनका अनुसार कतिपय परिवारहरू काजक्रिया गर्न सक्ने अवस्था पनि थिएनन् । यस्तो दयनीय अवस्था सम्बोधन सरकारले काजक्रिया खर्च बापत ५ लाख रुपैयाँ र क्षतिपूर्ति बापत १० लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

000

तर त्यसबीचमा कतिपय शव पहिचान भइसकेको थिएन । कतिपय शहीद परिवारले सरकारले दिने भनिसकेको राहत पाइसकेका थिएनन् । अनि शहीद परिवारलाई देखाएर केही स्वार्थ समूहले राजनीति सुरु गरिसकेका थिए ।

यस्तोमा शहीद परिवारहरूको भावनात्मक एकता हुनु जरुरी देखियो । त्यसैलाई सम्बोधन गर्दै असोज २५ गते गठन भयो– जेनजी शहीद परिवार संघर्ष समिति ।

र यहीँ समितिका संयोजक हुन्, इश्वतका फुफाजु भोज । जहाँ उनी जस्तै मर्माहत भएका सहीद परिवारहरू जोडिएका छन् ।

के हो जेनजी शहीद परिवार संघर्ष समिति ?

समितिको संयोजक थापाका अनुसार जेनजी शहीद परिवार संघर्ष समिति नेपालमा भएको पछिल्लो जेनजी आन्दोलनका क्रममा आफ्ना प्रियजन गुमाएका शहीद परिवारहरूले गठन गरेको एक औपचारिक संस्था हो ।

हालसम्म यस समितिमा ५३ जना शहीद परिवार जोडिइसकेका छन् । कतिपयको लास पहिचान हुन सकेको छैन भने कतिपय दुर्गम ठाउँका रहेका छन् । लास पहिचान भएपछि उनीहरूको परिवारसँग सम्पर्क गर्ने समितिको योजना छ । दुर्गममा भएकाहरू भने तत्काल काठमाडौं आउन सक्दैनन् । उनीहरूसँग प्रविधिमार्फत निरन्तर सम्पर्क रहेको समितिले बताएको छ ।

त्यस्तै झापा, सुनसरीदेखि कैलाली, बझाङ सम्म गरेर सहीद भएका जिल्लाहरू २५ रहेका छन् । जसलाई संयोजक थापाले ‘मेची देखि महाकाली सम्म’ फैलिएको बताए । तर यत्रो बलिदानलाई केही मान्छे अथवा समूहले खेर फाल्न प्रयास गरिरहेकाले शहीद परिवारहरूको सामूहिक मुद्दालाई कमजोर दूषित हुनबाट जोगाउन समिति बनाइएको थापाको भनाइ छ ।

समितिमा थापाका अतिरिक्त पाँच जना सह-संयोजक र ११ जना सदस्यहरू रहेका छन् ।

समितिले जेनजीले उठाएको मुद्दालाई पनि आत्मसात गरेको छ ।

‘समितिको मुख्य लक्ष्य भनेको सुशासन र भ्रष्टाचारमुक्त देशको स्थापना गर्नु हो, जुन शहीद युवाहरूको बलिदानको मुख्य कारण थियो,’ थापाले भने, ‘यसका लागि समितिले आफूलाई कुनै पनि राजनीतिक कोटा वा भागभण्डा मा समावेश गर्दैन’

त्यसबाहेक समितिले प्रधानमन्त्री समक्ष १४ माग पत्र बुझाइसकेको छ । जसमध्ये धेरैजसो माग अझै पुरा नभएको उनीहरूको गुनासो छ । राजपत्रमा शहीदको सूचना प्रकाशन गर्ने, विधायिका संसदमा सहिदहरूको सालिक राख्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा तस्बिर टाँस्ने र दोषीलाई कारबाही गर्ने जस्ता मागहरू यो समितिको रहेको छ ।

त्यस्तै शहीद परिवारको विविध आवश्यकताहरू सम्बोधन गर्न विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

‘वार्ता तथा छलफल उपसमिति छ । त्यसले आवश्यक पर्दा विभिन्न पक्षहरूसँग छलफल गर्ने छ । संगठन उपसमिति छ । त्यसले भेटघाट, सम्बन्ध, आर्थिक, सामाजिक, नैतिक र कानुनी सहयोगका लागि काम गर्छ । शहीद परिवार पुनरस्थापना उपसमिति छ । त्यसले अति दयनीय अवस्थामा रहेका शहीद परिवारहरूको भरणपोषण तथा पुनर्स्थापनाका लागि काम गर्छ । अनुगमन उपसमिति छ । त्यसले आफ्नै कामको अनुगमन गर्छ,’ थापाले सुनाए ।

यसैगरी सहीदहरूको सम्झनामा समितिले जेनजी शहीद प्रतिष्ठान बनाउने पनि योजना बुनेको छ । युगान्तकारी घटनाको स्मरण र यसको उपलब्धि चिरकालसम्म प्राप्त होस् भन्नका लागि प्रतिष्ठान बनाउने परिकल्पना गरिएको समितिको भनाइ छ ।

000

यसरी अहिले दु:ख नै भए पनि शहीद परिवारहरू सङ्गठित हुन प्रयास गरिरहेका छन् । उनीहरू ‘गुमाउनु गुमाइसकियो, अब सन्तानको सपनाका लागि अन्तिमसम्म लड्ने छौं’ भन्ने लयमा छन् । आफ्नो मागका सम्बोधनका लागि आफूहरूले सक्दो सहयोग गर्ने पनि उनीहरूले बताएका छन् । तर यत्रो बलिदानीलाई गलहत्याउन खोजे त्यसको प्रतिकार गर्ने पनि उनीहरूको भनाइ छ ।

त्यससँगै आफ्नो मागसँगै शान्ति सुरक्षा, न्याय र सुशासनको लागि पनि लड्ने उनीहरू सुनाउँछन् ।

‘३ करोड नेपालीले शान्तिपूर्वक सुरक्षित तरिकाले बाँच्न पाउनुपर्छ । ज्यान माथि खतरा आउनु हुँदैन । जेनजी परिवारले न्याय पाउनुपर्छ । न्याय समयमै हुनुपर्छ । ढिलो न्याय, न्याय होइन,’ उनीहरूको एकै मत छ, ‘हाम्रा युवाहरूले माग गरेको सुशासन पूर्ण रूपले कायम हुनुपर्छ । सरकारी निकायले प्रोएक्टिभ भएर काम गर्नुपर्छ र जनतालाई सुख शान्ति दिनुपर्छ ।’

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?