+
+
Shares

पाकिस्तानी हमलामा मारिए ३ अफगान क्रिकेटर, टी-२० शृंखलाबाट अफगानिस्तान बाहिरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते ८:४८

१ कात्तिक, काठमाडौं । अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी तीन क्लब क्रिकेटर सहित आठ जना नागरिकको मृत्यु भएको छ ।

यस घटनाको पुष्टि गर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोधस्वरूप नोभेम्बरमा पाकिस्तानमा हुने त्रिकोणीय टी-२० शृंखलाबाट बाहिरिने निर्णय गरेको छ।

एसीबीले शुक्रबार साँझ पाकिस्तानबाट भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ।

पाकिस्तानको तर्फबाट भएको हमलामा क्लब स्तरका तीन क्रिकेटरहरू कबीर, सिब्घतुल्लाह र हारून सहित पाँच अन्य नागरिकहरूको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

एसीबीका अनुसार, मृत्यु भएका तीनै जना खेलाडीहरू पक्तिका प्रान्तको राजधानी शरानामा एउटा मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर फर्किंदै गर्दा उनीहरूमाथि हमला भएको थियो।

खेलाडीहरूको सम्मान र यस दुखद घटनाको प्रतिक्रियास्वरूप एसीबीले आगामी नोभेम्बरको अन्त्यमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने त्रिकोणीय टी-२० शृंखलाबाट पछि हटेको घोषणा गरेको छ।

प्रस्तावित टी-२० शृंखला नोभेम्बर १७ देखि २९ तारिखसम्म लाहोर र रावलपिण्डीमा हुने तय भएको थियो। अफगानिस्तानले पाकिस्तानी भूमिमा पाकिस्तानसँग क्रिकेट खेल्न लागेको यो पहिलो पटक हुनेवाला थियो ।

यस संवेदनशील घटना र एसीबीको निर्णयबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अफगान मिडिया टोलो न्यूजका अनुसार, हमलामा अर्गुन र बर्मल जिल्लाका धेरै घरहरू निशाना बनेका छन्। यो क्षेत्र दुई देशको सीमा डुरन्ड रेखा नजिक पर्छ।

संयुक्त राष्ट्रसंघका अनुसार यस हप्ता पाकिस्तानी हमलामा अफगानिस्तानका ६ प्रान्तमा ३७ नागरिक मारिएका र ४२५ जना घाइते भएका छन्।

अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानमाथि नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ, जबकि पाकिस्तानले आफूले आतंकवादीहरूका अखडाहरूमा कारबाही गरेको दाबी गर्दै आएको छ।

दुई देश ८ अक्टोबरमा सुरु भएको संघर्षपछि ४८ घण्टाको युद्धविराममा सहमत भएका थिए, तर यो हवाई हमला युद्धविराम सहमति जनाइएकै अवधिमा भएको बुझिएको छ।

यस घटनापछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिवानको निर्णय ‘दिल्लीबाट भइरहेको’ भन्दै भारतमाथि ‘प्रोक्सी वार’ लडेको आरोप लगाएका छन्। उनले युद्धविराम टिक्नेमा शंका व्यक्त गर्दै पाकिस्तानलाई उक्साएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिएका छन्।

यस घटनाले दुई देशबीच लामो समयदेखि जारी सीमा विवाद र राजनीतिक तनावलाई थप चर्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?