+
+
Shares

खानेपानी उद्घाटनमा राजनीतिक भाषण गरेको भन्दै कार्यक्रम छाडेर हिँडे भारतीय राजदूत

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत बोलिसकेपछि प्रमुख अतिथिको रूपमा राजदूत श्रीवास्तव बोल्ने पालो थियो । तर उनी नबोली हिँडे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते २१:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारको सहयोगमा सोताङ गाउँपालिका-१ सोलुखुम्बुमा बनेको बसेपु-हलु खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक भाषण नहुने भन्दै कार्यक्रम बीचमै छाडेर हिँडेका छन्।
  • कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले एक घर एक धारा जडान कार्यक्रममार्फत् सबैलाई खानेपानी दिने बचन दिनुभएको थियो र त्यसपछि राजदूतले असन्तोष व्यक्त गरेका थिए।
  • गाउँपालिका सूचना अधिकारी अरुण बस्नेतका अनुसार राजदूतले प्रोटोकल नमिलेको र राजनीतिक भाषण हुँदा कार्यक्रम छोट्याएर हिँड्नुभएको हो र आगामी दिनमा सहकार्य जारी राख्ने बताएका छन्।

१ कात्तिक, विराटनगर । भारत सरकारको सहयोगमा सोताङ गाउँपालिका-१ सोलुखुम्बुमा निर्मित बसेपु-हलु खानेपानी आयोजनाको उदघाटनमा सहभागी हुन गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै उठेर हिँडेका छन् ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेत बोलिसकेपछि प्रमुख अतिथिको रुपमा राजदूत श्रीवास्तव बोल्ने पालो थियो । तर उनी नबोली हिँडेका हुन् ।

सामाजिक सन्जालमा आएको एक भिडियो क्लिपमा अध्यक्ष बस्नेतलाई राजदूत श्रीवास्तवले भनेका छन्, ‘राजनीतिक भाषण हामीलाई हुँदैन । यो कार्यक्रम तपाईंले आफ्नो राजनीतिका लागि नगर्नुस् ।’

यति भनेर राजदूत श्रीवास्तव आफ्नो टोलीका सदस्यहरुसहित कार्यक्रम स्थलबाट हिँडेका थिए ।

भएको के थियो ?

यो घटना गत असोज ३० गते बिहीबारको हो । भारतीय राजदूत श्रीवास्तव, काउन्सिलर अभिनासकुमार सिंह सहितको टोली भारत सरकारको सहयोगमा निर्मित आयोजना उद्घाटन र निरीक्षणका लागि हेलिकप्टर चढेर सोलुखुम्बु गएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिकामा निर्माण भइरहेका आयोजना अवलोकन गरिसकेर उनीहरु सोताङ गाउँपालिकाको बसेपु-हलु खानेपानी आयोजना उद्घाटनका लागि पुगेका थिए ।

कार्यक्रम ११ बजेका लागि तय भए पनि राजदूतको टोली आइपुग्न ढिला भएकाले करिब २ बजेतिर मात्र कार्यक्रम सुरु भएको थियो । कार्यक्रम एक घण्टामै सक्ने गरी तालिका बनाइएको थियो ।

सोही तालिका अनुसार वडा नम्बर २, ३ र ४ का अध्यक्ष, एक चिकित्सक र एक शिक्षकले भाषण गरे । उनीहरूलाई तीन/तीन मिनेट समय निर्धारण गरिएको थियो ।

त्यसपछि बोल्ने पालो आयो गाउँपालिका अध्यक्ष बस्नेतको । कार्यक्रममा मन्तव्य राख्न अरुलाई तीन/तीन मिनेट समय छुट्याइएको भनिए पनि गाउँपालिका अध्यक्ष बस्नेतले १३ मिनेट बढी समयसम्म भाषण गरेका थिए ।

के बोले अध्यक्षले ?

अंग्रेजीमा भाषण सुरु गर्दै उनले जेनजी आन्दोलनको प्रसंग उठाए । सो  आन्दोलन भ्रष्टाचार, अव्यवस्था र चरम राजनीतिकरणको उपज भएको सुनाए । उनले ठूला राजनीतिक दलमा कार्यशैलीप्रति असन्तुष्ट समूह र राजनीतिकरण नचरुचाउने युवाले आन्दोलन गरेको बताए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको भूमिका बाँध्दै उनले नेपालमा विकास आवश्यक रहेको भन्दै त्यसमा भारतीय सहयोग आवश्यक परेको बताए ।

अंग्रेजीमा बोलिसकेपछि उनले नेपाली र हिन्दी मिसाएर बोल्न सुरु गरे ।  उनले तामाङ समुदायको बस्तीमा ध्यान केन्द्र र पुस्तकालय भवन तथा हुलु माविको १२ कोठे भवन निर्माण यसै आर्थिक वर्षमा सुरु गर्न राजदूतलाई अनुरोध गरे ।

साथै उनले आगामी आर्थिक वर्षमा अर्को एक अस्पताललाई सिटीस्क्यान मेसिन, एम्बुलेन्स र विद्यालयलाई बस पनि माग गरेका थिए । यो राजदूतावासका लागि सामान्य कुरा भएको पनि उनले बताए ।

घाँटीभरि माला लगाएका उनले एक घर एक धारा जडान कार्यक्रममार्फत् गाउँपालिकाबासी सबैलाई खानेपानी पुर्‍याउने बचन पनि दिए ।

त्यसपछि प्रमुख अतिथि राजदूत श्रीवास्तवले कार्यक्रम ‘राजनीतिक’ भएको भनेर असन्तोष व्यक्त गरे । अनि आफ्नो पालोमा नबोली कार्यक्रम बीचमै छाडेर हिँडेका थिए । उनले गाउँपालिकाको मायाको चिनो पनि कार्यक्रमस्थलमा लिन मानेनन् ।

यसबारे सोध्न खोज्दा गाउँपालिका अध्यक्ष बस्नेतले ‘मिटिङमा’ भएको भन्दै पछि कुरा गर्ने अनलाइनखबरलाई बताए ।

तर गाउँपालिकाका सूचना अधिकारी अरुण बस्नेतले भने कार्यक्रम राजनीतिक भएको र प्रोटोकल नमिलेको भन्दै राजदूत श्रीवास्तव कार्यक्रममा नबोलेको बताए ।

‘कार्यक्रम लामो भएको र राजनीतिक भाषण गरेकाले राजदूत रिसाएर हिँडेको भनेरजसरी प्रचार गरिएको छ, त्यस्तो होइन,’ उनले भने ।

उनका अनुसार राजदूत श्रीवास्तवसँगै गाउँपालिका अध्यक्ष र आफू हेलिकप्टर चढेर काठमाडौं आएको उनले बताए । राजदूत श्रीवास्तवलाई मायाको चिनो पनि काठमाडौंको एयरपोर्टमै दिएको उनले बताए ।

‘सबै कुरा सामान्य छ। राजदूतले आगामी दिनमा पनि सहकार्य जारी राखौँला भन्नु भएको छ,’ उनले भने ।

दूतावाससम्बद्ध एक अधिकारीले पनि कार्यक्रममा कुनै अन्यथा नभएको बताए । विकास आयोजनामा सहयोग गर्न गएको कार्यक्रममा राजनीतिक कुराहरु हुन थालेकोले  कूटनीतिक प्रोटकल ख्याल गर्दै कार्यक्रम छोट्याएर राजदूत हिँडेको बताए । ‘खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रममा राजनीतिक कुरा आएपछि राजदूतले प्रोटोकल ख्याल गर्नुभएको हो’ अन्यथा केही होइन’ ती अधिकारीले भने ।

सोलुखुम्बकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बिहीबार सोलुखुम्बुमा राजदूतका तीन वटा कार्यक्रम थिए । खुम्बु क्षेत्रमा अनुगमन गरेका उनले महाकुलुङ गाउँपालिकामा गुम्बा उद्घाटन गरेका थिए । सोताङको खानेपानी ट्याङ्की उद्‌घाटन गर्न आएका थिए । कार्यक्रम सकेर राजदूत फर्किएको उनले बताइन् । सोताङको विवादको विषयमा औपचारिक जानकारी नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?