+
+
Shares
विचार :

हामीले परिवर्तनको व्याख्या गर्‍यौं, जेनजीले बदले

हामीले व्याख्या गर्‍यौं, त्यसलाई बदल्न कोसिस गरिराखेका थियौं तर आज युवा पुस्ताले त्यसलाई समात्यो।

वर्षमान पुन वर्षमान पुन
२०८२ कात्तिक १ गते १६:५०

अहिले लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको छ । यस्तो बेला, हामी सबै राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका साथै अझ राम्रो लोकतान्त्रिक प्रणाली र उन्नत जनजीवन निर्माणको लागि आ-आफ्नो ठाउँमा डटिरहनेछौँ र लडिरहनेछौँ।

आज देशमा एउटा नयाँ परिवर्तन भएको छ- जेनजी आन्दोलनले हामी सबैका सोचहरू र अवस्थाहरू बदलिएका छन्। नेपाली जनता मात्र होइन, विश्वभरि नै आज जेनजी आन्दोलनका तरङ्गहरू छन्।

यो जोश र एजेन्डालाई क्रान्तिकारीहरूले अझ क्रान्तिकारी ढंगले शोषित, उत्पीडित श्रमजीवी वर्गको बलिदान र उनीहरूका आकाङ्क्षासँग जोडेर लान चाहन्छन्। अर्का थरी मान्छे आजको परिवर्तनलाई पनि उल्टाएर अझ पछि फर्काउन चाहन्छन्।

कति मान्छेहरू ‘के आयो, के गयो, के भयो’ भनेर अल्मलिएर बसेका छन्। त्यसैले, आफूलाई क्रान्तिकारी भन्नेहरूले जहिले पनि क्रान्तिकारी, वस्तुपरक र वैज्ञानिक दृष्टिकोणबाट यसलाई हेर्नुपर्ने हुन्छ।

जेनजी एउटा उमेर समूह हो- सन १९९६ देखि २०१२ सम्म जन्मेकाहरूलाई अन्तर्राष्ट्रिय समाजशास्त्रीहरूले जेनजी भनेर परिभाषित गरेका छन्। यस बारेमा गत वर्ष अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा मैले अर्थमन्त्रीको रूपमा बजेट प्रस्तुत गर्दा नीति कार्यक्रम र बजेटहरूमा हामीले चर्चा गरेका छौँ, त्यसपछि सदनमा र विभिन्न कार्यक्रमहरूमा पनि चर्चा गरेका छौँ।

यो नयाँ पुस्ता हो, जो विश्वभरि र हाम्रो देशमा पनि हुर्किरहेको छ। यो एउटा उमेर समूह हो जो खासगरी भर्चुअल दुनियाँमा, अनलाइन र डिजिटल प्लेटफर्ममा, सामाजिक सञ्जालमा हुर्किरहेको छ।

हाम्रा अग्रजहरू या हामीहरू मैदानमा फुटबल, क्रिकेट, भलिबल खेल्थ्यौँ र मेला पर्वहरूमा भौतिक रूपमा घुलमिल गर्थ्यौँ। आजको डिजिटल पुस्ता अथवा जेनजी खासगरी मान्छेसँग मान्छेको भौतिक सम्पर्कमा, मेलापात या यस्तो खालको मान्छे-मान्छे बीचको सम्बन्धमा छैन। यो पुस्ताको सम्बन्ध भर्चुअल दुनियाँमा रहेको छ।

छिमेकमै या घरको माथिल्लो तलामा बसेको आमाबुवासँग बरु सम्बन्ध छैन, तर विश्वभरिका मान्छेहरूसँग सम्बन्ध हुन्छ- गेम खेल्न, सूचना आदानप्रदान गर्न, ज्ञान आदानप्रदान गर्नका लागि। कतिपय सन्दर्भमा नेपालमा बसेर अमेरिका, युरोप, जापान, कोरिया, चाइना या भारतमा बिजनेस गरिरहेको छ। उसले त्यहाँबाट ‘जब’ (काम) गरिरहेको छ नेपालमै बसेर।

यस्तो भर्चुअल पुस्ता हुर्किराखेको छ। हामीले यसको चाहनालाई सम्बोधन गर्नुपर्छ भन्दै आएका थियौँ। आज हामी कुनै भ्रममा पर्नु पर्दैन। यो भर्चुअल दुनियाँमा हुर्केको नयाँ पुस्ता हो, जेनजी भनेको, संसारभरि र हाम्रोमा पनि।

यसको सोच कस्तो हुन्छ? यसको क्षमता के हुन्छ? उनीहरूसँग धेरै ज्ञान छ, धेरै क्षमता छ, धेरै सूचना छ। हिजो हामीहरू या हाम्रा अग्रजहरू एउटा किताब पढेर, एउटा टिचर आएर ब्ल्याक बोर्डमा लेखेर या हामीलाई नोट लेखाएर सिकाउनु हुन्थ्यो भने आज होइन। जुनसुकै प्लेटफर्ममा पनि सूचना छ।

हिजो पत्रकार भनेर एउटा टेलिभिजन या एउटा पेपर छापेपछि या एउटा अनलाइन छापेपछि सूचना पाउँथ्यो भने होइन। सूचनाका हजार, लाख, करोड माध्यमहरू छन्। त्यति धेरै स्मार्ट पुस्ता हो यो।

यो रोबोटिक्ससँग हुर्किरहेको, आर्टिफिसियल इन्टेलिजेन्ससँग हुर्किरहेको पुस्ता हो। त्यसकारण, यसको विचार, सोच, प्रवृत्ति र काम गर्ने तरिकाहरू फरक छन्। यसलाई हामीले हाम्रा आन्दोलनमा, हाम्रो देशको विकासमा र हाम्रो समाजका बनौटमासँगै लिएर जानुपर्छ भनेका थियौँ, भन्दै आएका छौँ। त्यो हो आजको जेनजी आन्दोलन भनेको।

त्यस अर्थमा, प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा जेनजीहरूले चाहेका सुशासन र आम नेपाली जनताले चाहेका सुधार सुरु गरेका थियौं ।

गत वर्षको आफ्नै बजेटमा पनि स्मार्ट विकासको कुरा गर्‍यौँ। पुरानो ढंगको विकास होइन। आउँदा २० वर्षअगाडि जम्मा १९ हजार किलोमिटर बाटो थियो नेपालमा, तर बाटो कति बनायो ? १ लाख २५ हजार किलोमिटर बाटो बनायो यो २० वर्षमा।

पञ्चायत कालमा जम्मा ९,००० किलोमिटर, बहुदलको १५ वर्षमा जम्मा १९,००० किलोमिटर। यता आएर २० वर्षमा १,२५,००० किलोमिटर बाटो बनायो। यो परिवर्तन हो, क्रान्ति हो, तर हाम्रो नयाँ पुस्ताले यसलाई विकास मानिराखेको छैन।

हामीले यही अनुभूति गरेर त्यो बजेट कार्यक्रममा भन्यौँ— स्मार्ट विकास। अब स्मार्ट टेक्नोलोजी, स्मार्ट विकास, सानो, छोटो, छिटो देखिने गरी, तीव्र गतिको विकास हाम्रो पुस्ताले मागेको छ। बाटो छ, सडक छ, होइन। त्यसमा विभिन्न सूचनाहरू, त्यसमा अब नयाँ-नयाँ प्रविधि आएको छ। त्यस खालको कुनै पनि काममा त्यसो गर्दा हामी अनलाइन सेवाहरू, डिजिटल सेवाहरू सरकारले, प्रशासनले, पार्टीहरूले त्यो अपनाउनुपर्ने बाध्यता छ।

सन् १९९० तिर जब सार्वजनिक रूपमा इन्टरनेट आयो, विश्वमा क्रान्ति भयो। जसले इन्टरनेट समाते, त्यो देशहरू अगाडि गए। जसले ई-गभर्नेन्समा गए, ई-बिजनेसमा गए, तिनीहरू कता हो कता पुगे।

त्यस्तै आज एआईको युगमा, डिजिटल युगको रूपमा यो जसले समात्न सक्छ त्यो अगाडि जान्छ भनेका थियौं, ठ्याक्कै त्यो पुष्टि भयो।

हामीले व्याख्या गर्‍यौं, त्यसलाई बदल्न कोसिस गरिराखेका थियौं । पहाड-मधेस अभियान कोसिस गरिराखेका थियौं । तर आज युवा पुस्ताले त्यसलाई समात्यो। खास जेनजीले त्यसलाई समात्यो । सूचनामा सरकारको बदमासी, निरङ्कुशता, स्वेच्छाचारिता विरुद्ध बोल्यो ।

सामाजिक सञ्जाल बन्द गरेर त्यस प्रकारको डिजिटल पुस्ता लाखौँ-लाखलाई भड्काउने काम एकातिर गर्‍यो। अर्कोतिर त्यो जीवनसँग, व्यवहारसँग, दिनदिनैको जीवनशैलीसँग प्रहार गरेको जनतामा, खासगरी युवाहरूमा आक्रोश भयो- एउटा विद्रोह, एउटा आन्दोलनको रूप लियो।

२३ गते र २४ का कुरा अलग छन्। थुप्रै तोडफोड खासमा भएका छन्। अलग-अलग दुइटा घटना हुन् । अघिल्लो दिनको जुन सुशासनको लागि भएको थियो । पछिल्लो दिन विभिन्न खालका घुसपैठ भएका छन्। कैयौँ अपराध भएका छन्, त्यसका छानबिन हुनुपर्छ। आगामी दिनमा त्यस प्रकारका घटना हुनुहुँदैन।

(शनिबार एक कार्यक्रममा नेता पुनले व्यक्त विचारको सम्पादति अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?