+
+
Shares

घुम्न जाउँ, उपल्लो ताप्लेजुङ (तस्वीरहरू)

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा रहेको लोदेन क्षेत्र ४ वर्ष अगाडिसम्म गुमनाम जस्तै थियो । ताप्लेजुङकै एकाध बाहेक कसैलाई थाहा थिएन ।

हेमराज निरौला हेमराज निरौला
२०८२ कात्तिक १ गते २२:०५

१ कात्तिक, ताप्लेजुङ । सुदूरपूर्वी जिल्ला ताप्लेजुङ भौगोलिक हिसाबले विकट नै छ । तर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस जिल्लाको माथिल्लो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

कोरोनाकालको काठमाडौंको उकुसमुकुस बसाइपछि ताप्लेजुङ फर्किएर सबै पर्यटकीय क्षेत्र पुग्ने अवसर पाएँ । पाँच वर्षयता यात्रापछि महसुस गर्दैछु,‘उपल्लो क्षेत्र केवल भूगोल मात्रै होइन, प्रकृति र सांस्कृतिक हिसाबले सुन्दर संयोजन गरी फुर्सदमा डिजाइन गरेको अलौकिक चित्र जस्तै रहेछ ।’

मेरो यात्राले सस्कृति र प्रकृतिसँगको साक्षात्कारलाई व्यापक बनाएको छ । सम्भावना भए पनि राज्यले प्रचार गर्न नसकेकोमा ग्लानी हुन्छ । घुम्दाघुम्दै अप्पर ताप्लेजुङको प्रचार गरी पर्यटनको हब बनाउन सकिन्छ भन्ने लाग्यो । सम्भावनाको ढोका खोल्ने प्रयास स्वरूप हामीले ‘अप्पर ताप्लेजुङ भ्रमण दशक’ आह्वान गरेका छौं ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ को ऐतिहासिक ओलाङ्चुङगोला बस्तीबाट १ दिनको दुरीमा रहेको ४ हजार ७०० मिटर उचाइको सिङ्जेमा तालको किनारबाट कोशी प्रदेश सांसद तिलकुमार मेन्याङ्वोको उपस्थितिमा भ्रमण दशक आह्वान गरेका हौं । यसको उद्देश्य उपल्लो ताप्लेजुङको पर्यापर्यटनको प्रचार गर्नु हो ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा रहेको लोदेन क्षेत्र ४ वर्ष अगाडिसम्म गुमनाम जस्तै थियो । ताप्लेजुङकै एकाध बाहेक कसैलाई थाहा थिएन ।

६० वटाभन्दा बढी साना र ठूला पोखरी, याक चौंरी र भेडी गोठ, महत्त्वपूर्ण जडिबुटी, केन्जो, माइकोपिला लगायतको प्राकृतिक बगैंचा लोदेनलाई प्रचार गर्न हामीले पाँच वर्षअघि अभियान चलाएका थियौं । अहिले लोदेन ताप्लेजुङको पर्यटकीय गन्तव्य बनेको छ ।

ताप्लेजुङका तिम्बुङ पोखरी , तोक्पेगोला, कञ्चनजंघाको दुईवटा बेस क्याम्प, सेलेले पास, सिङ्जेमा ताल, सोम्दो पोखरी, ताप्लेजुङकै उच्च स्थानमा रहेको ऐतिहासिक याङमा बस्ती, बस्तीमाथिको ताप्लेजुङकै ठूलो छेर्चेन ताल, ओलाङ्चुङगोला बस्ती, भारत र चीन जोड्ने नेपालकै छोटो उत्तर-दक्षिण लोकमार्गको अन्तिम टिप्ताला भञ्ज्याङ लगायतमा पर्यटनको प्रचुर सम्भावना छ ।

यी क्षेत्रको प्रचारका लागि ‘अप्पर ताप्लेजुङ भ्रमण दशक’ मनाउनुपर्छ ।

पर्यटकीय क्षेत्रको प्रचार प्रसारलाई प्राथमिकतामा राख्न सकियो भने ताप्लेजङसँगै समग्र देशको सम्भावना प्रचुर छ । अप्पर ताप्लेजुङलाई छुट्टै सर्किटको रूपमा विकसित गर्नसक्ने सम्भावना पनि छ ।

आउनुहोस्, पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि जुटौं । देशलाई अघि बढाउने प्रमुख माध्यम नै पर्यटन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?