
News Summary
Generated by OK AI. Editorially reviewed.- गंगबुकी सुमन शेरचनले काठमाडौंको महाराजगन्जस्थित जोमसोम थकाली किचनमा सात वर्षदेखि थकाली खाना र सेलरोटी व्यवसाय सञ्चालन गरिरहेकी छिन्।
- कोभिड–१९ महामारीका कारण व्यवसाय प्रभावित भए पनि सुमनले टिकटक र अनलाइनमार्फत सेलरोटी बनाउने तरिका प्रचार गरी व्यवसाय पुनःस्थापना गरिन्।
- उनले सेलरोटी बनाउन पोखरेली र टाइचिङ चामल, घिउ र पुरानो चामल प्रयोग गरी गुणस्तर कायम राख्ने र दैनिक ६०–७० पिस सेलरोटी बिक्री गर्ने बताइन्।
गंगबुकी सुमन शेरचन महाराजगन्जमा रहेको ‘जोमसोम थकाली किचन’ रेस्टुरेन्टकी सञ्चालक हुन् । उनी थकाली किचन र सेलरोटीका लागि परिचित छिन् । उनको यो व्यवसाय सुरु गरेको ७ वर्ष भयो । आमाको परम्परागत खाना बनाउने कला र आफ्नै मेहनतले उनले सफलता पाइरहेकी छिन् ।
म्याग्दीमा जन्मिएकी हुन् सुमन । उनको बाल्यकाल गाउँमै बित्यो । स्कुल सकेपछि थप पढाइका लागि काठमाडौं आइन् । पछि परिवार पनि काठमाडौं बसाइ सरेर आए ।
२०५६ सालमा उनको विवाह भयो । सुरुवाती वर्षहरूमा उनका श्रीमान् अमेरिका बसेर काम गर्थे । बालबच्चाको हेरचाह र घरको जिम्मेवारी उनको काधमा थियो । बाहिर अरू केही काम गर्ने अवस्थै भएन ।
उनलाई सानैदेखि खाना पकाउन मन पर्थ्यो । उनको प्रेरणाको स्रोत उनकी आमा हुन् । गाउँमा आमाले चामललाई ढिकीमा कुटेर सेलरोटी बनाउथिन् । उनी रुचिका साथ ती सबै प्रक्रिया नियाल्थिन् । सेलरोटी खुब मिठो हुन्थ्यो । १७-१८ वर्षको हुँदा उनले पनि आमाबाट सेलरोटी पकाउन सिकिन् ।
गाउँमा ढिकीमा कुटेर, घिउमा मुछेर आमाले बनाएको सेलरोटीको स्वाद उनको स्मृतिमा ताजै रह्यो सधैँ । उतिबेला पिस्ने अरू सुविधा नभएर ढिकीमा कुटेर पिठो बनाइन्थ्यो । अहिले नयाँ प्रविधि प्रयोग गरेर पनि पनि सुमनले त्यही विधि र स्वाद जोगाइरहेकी छिन् ।
थकाली किचनको शुरुवात
उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको सात वर्ष भयो । धेरै वर्ष विदेश बसेपछि उनका श्रीमानले निर्णय लिए-अब यतै बसेर केहि गर्ने । उनी थकाली खाना बनाउन सिपालु थिए। उनको त्यही सिपलाई देखेर साथीभाइले पनि ‘थकाली किचन’ खोल्न सुझाव दिए । अनि दुवै जनाको सिप प्रयोग गरेर सुरु भयो नयाँ व्यवसाय । । सुमनको मिठो सेलरोटी बनाउन सिप र श्रीमानको थकाली खानाको सिप दुवैको प्रयोगले व्यवसाय फस्टाउँदैं गयो ।
सेलरोटी लोकप्रियता
जोमसोम थकाली किचनमा थकाली खानाका परिकारहरू त पाइन्छन् नै । तर, यहाँको सेलरोटी विशेष लोकप्रिय छ । फरक स्वाद र गुणस्तरको कारणले चर्चित बनेको सुमन बताउँछिन् ।
सुमनले सेलरोटीका लागि पोखरेली र टाइचिङ चामल मिलाएर पिठो बनाउँछिन् । नयाँ चामलको सट्टा पुरानो चामल प्रयोग गरिन्छ, जसले सेलरोटीलाई बलियो र आकर्षक बनाउँछ ।
घिउको प्रयोग सुमनको सेलरोटी घिउमा मात्र बनाइन्छ, जसले स्वाद र गुणस्तरमा फरक पार्छ । तेलको प्रयोगले सस्तो विकल्प दिन सकिए पनि, उनले गुणस्तरलाई प्राथमिकता दिन्छिन् । ‘घिउको मात्रासँग धेरै सावधानी चाहिन्छ, नत्र रोटी फुट्छ कि कालो हुन्छ’ उनी भन्छिन् ।
चामललाई ५–६ घण्टा भिजाएर मिक्सरमा पिसिन्छ । घिउ र चिनीको सन्तुलित मिश्रणले सेलरोटीलाई एकदमै स्वादिष्ट र क्रन्ची बनाउँछ । यहाँ अर्डर आएपछि मात्र सेलरोटी बनाइन्छ । बिग्रेका वा कम गुणस्तरका सेलरोटी ग्राहकलाई दिइँदैन ।
सुमनको सेलरोटीको मूल्य १०० रुपैयाँ छ । यति महंगो किन ? यसमा प्रयोग हुने चामल, घिउ र सेलको आकारका कारण यो बढी नभएको सुमन बताउँछिन् ।
व्यवसाय र चुनौती
सुमन हरेक दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म रेस्टुरेन्टको भान्सामै हुन्छिन् । सहायक कर्मचारी भए पनि सेलरोटी बनाउने, खाना बनाउने र अन्य गुणस्तर नियन्त्रण गर्ने मुख्य जिम्मेवारी उनकै हो । दैनिक ६०–७० पिस सेलरोटी विक्री हुन्छ । विशेष अवसरहरू यो संख्या १०० पिसभन्दा बढी हुन्छ । तिहारमा भने उनले ६००–७०० पिससम्म बनाउने गरेकी छिन् ।
थकाली किचन सुरु गरेको केही महिनामै कोभिड–१९ महामारीले उनको रेस्टुरेन्ट पनि प्रभावित भयो । ‘सुरु गरेको नौ महिनामै लकडाउन भयो,’ उनी सम्झिन्छिन्, ‘दुई वर्षजति त घाटामै गइयो ।’
लकडाउनका कारण भाडा, कर्मचारीको तलब, घर खर्च सबैतिर सन्तुलन मिलाउन कठिन भयो । तर उनले हार मानिनन् । श्रीमानले किन तनाव लिनु व्यवसाय छाड्डौँ पनि भनेका थिए । तर उनले आशा मारिनन् । ‘श्रीमानले कहिलेकाहीँ भन्नुहुन्थ्यो- किन यत्रि धेरै दु:ख गरेको छोड्देऊ तर मैले मानिन’ सुमन भन्छिन्, ‘मलाई लाग्यो सधैं यस्तै समय आउँदैन म फेर उठ्न सक्छु ।’
कोभिडपछि उनले टिकटकमा सेलरोटी बनाउने तरिकाबारे भिडियो राख्न थालिन् । अनलाइन अर्डर लिन थालिन् । त्यसबाट उनको सेलरोटीको लोकप्रियता झन् बढ्दै गयो । उनले टिकटक र अनलाइन मार्केटिङको सहयोगले व्यवसायलाई पुर्नजन्म दिइन् ।
हाल, उनी अनलाइन डेलिभरी बन्द गरेर ग्राहकलाई प्रत्यक्ष रूपमा किचनमै आएर सेलरोटी लिन प्रोत्साहन गर्छिन् । किनभने, अनलाइन अर्डरमा बनाएर लगेपछि कसैले फोन नउठाउने वा बनिसकेपछि अर्डर रद्द गर्ने गर्दा व्यवसायमा समस्या उत्पन्न भयो ।
खानाको विविधता
जोमसोम थकाली किचनमा थकाली खाना सेट, च्याङ्ग्राको सुकुटी, याकको सुकुटी, मटन भुटानजस्ता परिकार निकै लोकप्रिय छन् । उनको विशेषता भनेको लोकल सामग्री र परम्परागत स्वादमा ध्यान दिनु हो।
अन्य थकालीमा खानासँग दही दिइन्छ तर यहाँ मोही । ‘हाम्रो मोही ग्राहकले धेरै मन पराउनुहुन्छ’ उनी भन्छिन्, ‘थकाली खाना सेटमा दही होइन, मोही राख्छौं, त्यो हाम्रो परम्परा हो ।’
काठमाडौंबाट मात्र होइन, भक्तपुर, भैसीपाटी र अन्य स्थानबाट पनि मानिसहरू उनको सेल र थकाली खाना खान आउँछन् ।
टिचिङ अस्पातल नजिक भएकोले त्यहाँका डाक्टरहरू फाइभ–स्टार होटलका सेफहरू पनि उनकोमा थकाली खाना खान आउँछन् । स्थानीय ग्राहकहरूले उनको खाना र सेलरोटीको प्रशंसा गर्छन् । सोल्टी होटलको खाना प्रतियोगितामा उनलाई सहभागी हुन निम्तो दिइएको थियो, तर किचनको जिम्मेवारीले भाग लिन सकिनन् ।
ग्राहकहरूले उनको सेलरोटीको गुणस्तर, स्वाद र ताजापनको तारिफ गर्छन् । उनले हरेक सेलरोटीलाई पूर्णतामा बनाउने प्रयास गर्छिन्, र यो उनको व्यवसायको मुख्य विशेषता हो ।
सुमनको सन्देश
सुमनको विचारमा व्यवसायमा सफलता प्राप्त गर्न धैर्य, मेहनत र ग्राहकसँग राम्रो व्यवहार आवश्यक छ । विदेशमा मात्रै अवसर खोज्नुभन्दा नेपालमै आफ्नो सीप र विशेषतालाई उपयोग गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास राख्छिन् । आफ्नी छोरीलाई पनि यही केही गर्न प्रोत्साहन गर्ने गरेकी छिन् ।
उनको भनाइ छ, ‘जुन काम पनि मनबाट गर्नुपर्छ, अनि ग्राहकसँगको व्यवहार र बोली पनि राम्रो हुनुपर्छ ।’
सातै दिन बिहानदेखि बेलुकासम्म एकै ठाउँ व्यस्त रहँदा कहिँलेकाँही दिक्क भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छिन्’ ‘जुन काममा आफूलाई रुचि हुन्छ जुन आफूले मनबाट गरेको हुन्छ त्यो काम गर्न अल्छी लाग्दैन रमाइलो लाग्छ ।’
प्रतिक्रिया 4