
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनामा सेक्सन कमाण्डरमा बढुवा भएका छन्।
- डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन्।
- उनी दुई वर्षअघि रूसी सेनामा जुनियर सर्जेन्टबाट भर्ती भएका थिए र अहिले युक्रेनविरुद्ध युद्धमा अग्रमोर्चामा छन्।
३ कात्तिक, काठमाडौं । रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।
म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् ।
‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् ।
आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् ।
। रूसी सेनामा भर्ती भएपछि उनले लामो स्टाटस लेख्दै माओवादी जनयुद्ध र नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।
शान्ति प्रक्रियापछि वि.सं २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।
जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए । ०६८ सालताका नै प्रचण्डबाट अलग भएर बनेको मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीमा समेत उनी केही समय सक्रिय भएका थिए ।
पछि ०७१ सालमा वैद्य समूह छाडेर विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका उनी म्याग्दी जिल्लाको सेक्रेटरीको भूमिकामा थिए ।
‘ हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनीनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु,’ उनले भनेका थिए ।
उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन् । उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।
सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली समेत माओवादी युद्धमा लडाकु थिइन् ।
प्रतिक्रिया 4