+
+
Shares
देवकोटा जयन्ती विशेष :

महाकवि देवकोटाको पुत्र शोकमा युगकवि सिद्धिचरण श्रेष्ठको सान्त्वना

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८२ कात्तिक ४ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वि.स. २००९ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको २० वर्षे जेठो छोराको मृत्यु भयो जसले उनलाई गहिरो पारिवारिक शोकमा डुबायो।
  • युगकवि सिद्धिचरण श्रेष्ठले १४ मंसिर २००९ मा रेडियो नेपालबाट देवकोटालाई आश्वासन दिने शोक कविता वाचन गरे।
  • सिद्धिचरण श्रेष्ठले देवकोटाको आर्थिक संकट र पारिवारिक पीडालाई उजागर गर्दै कविता मार्फत सामाजिक सन्देश दिएका थिए।

नेपाली जगतका अभूतपूर्व प्रतिभा हुन् महाकवि देवकोटा । मुना मदन जस्तो सदाबहार लोकप्रिय झ्याउरे छन्दको खण्ड काव्य, प्रमिथस जस्तो उच्च बौद्धिक महाकाव्य, तीन महिनामै लेखिएको विशालकाय शकुन्तला तथा चुनौतिको रुपमा एकै महिनामा उच्च निगरानीमा लेखिएको सुलोचना मात्र होइन, के नेपाल सानो छ ? जस्ता निबन्ध, प्रबन्ध, कथा, नाटक, उपन्यास लगायत साहित्यका प्रमुख सबै विधामा कलम चलाउने देवकोटा शिक्षक, ट्युसन शिक्षकदेखि शिक्षा मन्त्रीसम्म भएका थिए ।

यस्ता महाकविको जीवनमा वि.स. २००९ सालमा एक अकल्पनिय पारिवारिक शोक पर्‍यो । २० वर्षे तरूण पुत्रको असहनीय पीडा उनले खप्न पर्ने अवस्था आयो । महाकविको यो दुःखमा युगकवि सिद्धिचरण श्रेष्ठले एक शोक कविता रचना गरी १४ मंसिर २००९ मा उनले रेडियो नेपालबाट शोकमा डुवेका महाकविलाई ‘देवकोटाजीलाई आश्वासन’ भन्दै छोटो मन्तव्य सहित उनले कविता वाचन गरेका थिए ।

महाकवि लक्ष्मी प्रसाद देवकोटा

उनले कविता वाचन पूर्व आफ्नो यस्तो भनाई राखेका थिए –

‘यही ५ दिन अघि कवि श्री लक्ष्मीप्रसादजी जेठो छोराको मृत्यु भयो । हिजो यही रेडियो स्टेसनमा भएको संगीत र नाटक प्रदर्शनमा श्री बालकृष्ण समले लक्ष्मीप्रसाद कहाँ हेर्न जाउ भन्नुभएको थियो । कोही मर्दा उनको परिवारलाई हेर्न जानु एउटा शिष्टाचार हो । अबेर पनि भएको र स्वास्थ्यले पनि नदिएकोले म हिजो जान सकिनँ । घर आए । मनमा अनेक कुरा खेल्न थाल्यो ।

नेपाली साहित्यमा लक्ष्मीप्रसादको देन कसैले इन्कार गर्ने कुरा छैन । साहित्यको निम्ति वहाँको तपस्या उनले भोगेका दुःख पनि सबैले थाह पाएकै कुरा छ । उनको साथी भइसकेको उनको जेठो छोराको मृत्यु २० को कलिलो उमेरैमा भयो । हाम्रो कविजीलाई यस्ता आघात सहनु पर्ने परिस्थिति के ले ल्यायो ? पुर्पुरोमा लेखेर ल्याएको कुरा मेट्न सक्ने कोही छैन भनेर मान्न मलाई मन लाग्दैन ।

मान्नै, परे पनि आफ्नो कमजोरीको महसुस गरेर मात्र । यसको वास्तविक कारण त हो, आर्थिक संकट । जीवनमा कतिपल्ट निराहार बसेर कति पल्ट साग, डुक्कु र सिस्नुमानै मीठो स्वाद मानेर उनले वास्तविकतालाई छल्नु परेको थियो ।

यसरी वास्तविकतालाई फुस्ल्याएको कुरा उनका  कृतिहरूमा प्रशस्त पाइन्छ । ‘मुना मदन’ मा मुनाको मुखबाट उनले भन्न लगाउछन्, ‘साग र सिस्नू खाएको बेस आनन्दी मनले !’

गरिबलाई म झैं धनी कोही छैन भनाएर वहाँ सन्तुष्टि लिनु हुन्छ । यसरी आफु र संसारलाई ढाँटनुको कारण वहाँको विवशता हो, गरीवी हो र भइरहेको शोषण नै हो । उहाँको विकट परिवेश र कठिन अवस्थाको परिचय हो । यस्तै, परिस्थतिमा बल्ल तल्ल हुर्केको उनको छोराको निधन भयो । राम्ररी घर समाल्न नसकेका ती दुर्दिनहरूको परिणाम आजको यो घटना हुन आयो ।

प्रतिभा सम्पन्न देशका गौरव एउटा नामी कविको अवस्था त यस्तो छ भने अरु साधारण नेपालीहरूको कस्तो होला विचारणीय कुरा छ । देशका लाखाौं गरिब विश्वका छोराछोरीलाई औंलाएर उहाँको यो पुत्र वियोगमा आश्वासन दिन रचेको एउटा रचना तपाईंहरूलाई सुनाउँदै छु ।’

यति भनाई कविता वाचनपूर्व राखि सकेपछि युगकवि सिद्धिचरण श्रेष्ठले शोक कविता वाचन गरेका थिए । सो वाचित कविता यस्तो थियोः

युगकवि सिद्धिचरण श्रेष्ठले

घायल पन्छी, तिम्रो घाउ थपिंदैछ हरे के भन्नु,
शायद, दुनियाँ चाहन्छ अझै तिम्रो आत्मा पनि लुछ्नु ।

छाती दल्दै रगत निकाली तिमीले गाएको गीत
जगको सुन्ने, आकांक्षाको हो क्यारे यस्तै रित ।

भन कवि, गाई प्राण सुकाई, यहाँ तिमीले के पायौं ?
शुष्क जगतको हृश्य पगाली बाँचेको पनि के देख्यो ?

हात फिंजाई, रोई, कराई बन्दैन जगत् यो साथी,
सहानुभूति भन्ने, ढोंग बटुली के हुन्छ तिमीलाई ?

मृत्यु पठाई कलिलो, वयमै जसले तिम्रो पुत्र लग्यो
जसको प्रेरित वेथिति द्वारा तिम्रो यस्तो हविगत भो;

त्यसमा बदला लेऊ कविजी, गाऊ, गाऊ अग्नि गीत,
लांखा लांखा पुत्र वियोगी हुने छन् तिम्रा मीत ।

कवि, विस्तृत दुःख सागरमा नै चल्दछ जीवनको नाउ,
प्यारो कलिलो पुत्र मरणमा भो भो आंशु न चुहाऊ

तिम्रो पीर असह्य विसाउन, कवि, जगको पीडा हेर,
खान र लाउन नमिली दिनहूँ गइरहेछन् कति जीवन खेर !

पीडाको त्यस सागर भित्रै तिम्रो यो बूंद मिलाऊ
अनि त्यै सागर भित्रै तिम्रो यो जीवन नाउः चलाऊ

स्वप्न डढेको, आश कुहेको भम्म खरानी ली नाच,
लाख जीलाउन, लाख बनाउन दुःखमा पनि कवि तिमी बांच ।

संसार नयाँ निर्माण गर, वेथिति यस्तो हुन्न जहाँ
बाँच बचाऊ मृत्यु जितीकन फैलाऊ आरोग्य यहाँ।

नेपालीका केटा केटी असमयमा मर्न नपाओस्,
उर्दी फिजाऊ, जाऊ कविजी आह र आँशु टक्क अडोस् !

देश विधाता, कविजी. तिम्रा छोराहरू छन् देश भरी,
आऊ, उठ, उठ अरु पनि मर्लान् कठै ती जिउँछन् कसरी !

हाम्रा अगणित छोराहरुको मुर्दा पनि जुरु जुरु उठने,
कविजी त्यस्तो गीत सुनाऊ, युग युगको मुर्छआ फुट्ने ।

रेडियोबाट प्रसारित युगकवि सिद्धिचरण श्रेष्ठका विचार र कविता नेपाल सरकार शिक्षा विभागबाट प्रकाशित हुने मासिक पत्रिका जागृतिको वर्ष १ अङ्क ७, विसं २०१० बैशाख २९ गते प्रकाशित भएको थियो । यस पत्रिकाका प्रधान सम्पादक थिए शारदाप्रसाद उपाध्याय थिए ।

युगकवि श्रेष्ठको यो विचार र कविताले एक दौंतरी कविको शोक सन्तापमा अर्का कविको साहित्यिक सम्वेदनशिलता र सान्त्वना हो । यसले यी दुई कविको पारस्परिक मैत्री सम्बन्ध र पीडा बाँढ्ने उत्कण्ठालाई बुझ्न सकिन्छ ।

गोविन्द गिरी प्रेरणा नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुन् ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?