
News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिकहरूले गहुँको फूलमा तीन अण्डाशय विकास गर्ने नयाँ जीन पत्ता लगाएका छन् जसले उत्पादन बढाउन सक्छ।
- यो नयाँ जीन वुशेल–डी१ सक्रिय हुँदा एउटा फूलमा तीन दाना बन्ने भएकाले जमिन, पानी वा मल थप प्रयोग नगरी उत्पादन वृद्धि सम्भव हुन्छ।
- नेपालमा गहुँ उत्पादन बढाउन यो प्रविधि उपयोगी हुनसक्ने कृषि विज्ञहरूले बताएका छन् र थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।
६ कात्तिक, काठमाडौं । विश्वभर बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनका बीच वैज्ञानिकहरूले गहुँको उत्पादन बढाउने दिशामा ठूलो सफलता हासिल गरेका छन् ।
तिनीहरूले यस्तो जीन पत्ता लगाएका छन् जसले सामान्य गहुँका फूलमा एउटा अण्डाशयको सट्टा तीनवटा अण्डाशय विकास गराउँछ । यसले थप जमिन, थप पानी वा थप मल प्रयोग नै नगरी गहुँको उत्पादन बढाउन सकिने सम्भावना देखाएको छ ।
यो नयाँ खोज अमेरिकी युनिभर्सिटी अफ मेरिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । उनीहरुले गहुँको एक दुर्लभ प्रजाति पत्ता लगाएका छन्, जसको प्रत्येक फूलमा सामान्यतया हुने एउटा अण्डाशयको सट्टा तीनवटा अण्डाशय विकास हुन्छ । अर्थात् प्रत्येक अण्डाशयबाट एउटा दाना बन्ने भएकाले यस्तो प्रजातिमा एउटा फूलमा तीन दाना लाग्छ ।
वैज्ञानिकहरूले यस विशेष गुणको कारण पत्ता लगाउन गहुँको डीएनए म्यापिङ गरेर सामान्य गहुँसँग तुलना गरेका थिए ।
त्यस क्रममा वुशेल–डी१ ( WUSCHEL-D1) नामक जीन सक्रिय हुने पत्ता लाग्यो, जबकि सामान्य गहुँमा यो जीन निष्क्रिय रहन्छ ।
यो जीन सक्रिय हुँदा फूल बन्ने प्रारम्भिक चरणमै बढी फूलका बनोट विकास हुन्छन्, जसले गर्दा अतिरिक्त अण्डाशय बन्ने गर्छ ।
प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (PNAS) पत्रिकामा प्रकाशित यो खोज गहुँखेतीका लागि एक क्रान्तिकारी कदम हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
यसका मुख्य फाइदाहरू यस प्रकार छन्–
- उत्पादनमा वृद्धि : एउटा फूलबाट तीन दाना बन्ने हुँदा सम्पूर्ण बोटको उपज धेरै गुणा बढ्न सक्छ ।
- थप स्रोतको आवश्यकता छैन : थप जमिन, थप पानी वा थप मल प्रयोग नगरी नै उत्पादन बढाउन सकिन्छ ।
- जलवायु परिवर्तनसँग लड्न मद्दत : जलवायु परिवर्तनले खेती कठिन बन्दै गएको अवस्थामा यो प्रविधिले उत्पादन स्थिर राख्न मद्दत पुर्याउन सक्छ ।
- विश्व खाद्य सुरक्षा : गहुँ विश्वकै प्रमुख खाद्यान्न बालीमध्ये एक हो । यसको उपज बढ्दा भविष्यको सम्भावित खाद्य संकट टार्न सहयोग पुर्याउन सक्छ ।
नेपालको सन्दर्भमा यसको महत्व
नेपालमा गहुँ धानपछि दोस्रो ठूलो अन्नबाली हो । तर जलवायु परिवर्तन, कीराको प्रकोप, सिंचाइ अभाव र माटोको क्षयजस्ता कारणले हाल गहुँ उत्पादन वृद्धि स्थिर छ ।
कृषि विज्ञहरूको भनाइमा, यस्तो प्रविधि नेपालमा ल्याउन सके गहुँखेतीमा नयाँ आयाम खुल्नेछ ।
पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अमरराज शर्मा घिमिरे भन्छन्, ‘नेपालमा गहुँ उत्पादन बढाउने सबैभन्दा ठूलो चुनौती जमिन र पानीको अभाव हो । यदि यस्तो जीन सुरक्षित र नेपालको हावापानी अनकूल रहेछ र त्यसलाई नेपालमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भयो भने यसबाट हाम्रो उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्न सक्छ । तर यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ ।’
उनका अनुसार, जलवायु अनुकुल कृषि उत्पादन अहिले नेपालका लागि अत्यावश्यक भइसकेको छ । त्यसैले थोरै खर्चमा धेरै उत्पादन लिन सकिने खालका बिउबिजनको खेती प्रवर्द्धनमा जोड दिनुपर्छ ।
थप अनुसन्धान आवश्यक
अब वैज्ञानिकहरूले यो वुश–डी १ जीनलाई कसरी नियन्त्रण र सक्रिय गर्ने भन्ने अध्ययन गरिरहेको जनाएका छन् ।
यदि यो प्रक्रिया दीर्घकालीन रूपमा सुरक्षित र स्थायी बनाइयो भने किसानहरूले एउटा बोटबाट बढी दाना दिने गहुँ फलाउन सक्नेछन् ।
युनिभर्सिटी अफ मेरिल्यान्डका एक अनुसन्धानकर्ताले भनेका छन्–‘हामीले यो विशेष गुणका पछाडि जिम्मेवार जीन पहिचान गरेका छौं । अब हाम्रो लक्ष्य यसलाई नयाँ प्रजातिहरूमा समावेश गरेर बढी उत्पादन दिने गहुँको जात विकास गर्नु हो ।’
वैज्ञानिकहरूको भनाइमा यदि यो प्रविधि गहुँमा सफल भयो भने, यसलाई धान, मकै र जौ जस्ता अन्य अन्नबालीमा पनि प्रयोग गर्न सकिने बताएका छन् ।
तर यसमा बोटको प्राकृतिक वृद्धि अवरुद्ध नहोस्, बोटले फललाई धान्न सकोस् भन्ने कुरामा भने विशेष सावधानी अपनाउनुपर्ने छ ।
विभिन्न मौसम र भू–भागमा लामो समयको परीक्षण गरेर नयाँ प्रजातिहरूको स्थायित्व र उत्पादन क्षमतालाई प्रमाणित गर्नुपर्ने चुनौति पनि बाँकी नै छ ।
यद्यपि यो नयाँ खोज वैज्ञानिक र किसान दुवैका लागि नयाँ आशाको किरण हो । यदि सबै कुरा योजनाअनुसार अघि बढ्यो भने आगामी वर्षहरूमा कम जमिनमै बढी फल लाग्ने गहुँको खेती गरेर उत्पादन बढाउन सकिने छ ।
यसले किसानको आम्दानी बढाउने मात्र होइन, विश्व खाद्य संकटसँग लड्न पनि ठूलो सहयोग पुर्याउने विश्वास छ ।
प्रतिक्रिया 4