News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको फ्यूज मेसिन कम्पनी अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।
- फ्यूज मेसिनले नास्डाकमा 'फ्यूज' सिम्बोल अन्तर्गत कारोबार सुरु गरेको छ र यो पहिलो नेपाली मूलको कम्पनी हो।
- डा. मास्केले सूचीकरणलाई नवप्रवर्तन र कार्यसम्पादनप्रतिको प्रतिबद्धताको झल्को भनेका छन् र दिगो मूल्य सिर्जनामा केन्द्रित हुने बताएका छन्।
७ कात्तिक, काठमाडौं । नेपाली उद्यमीको एआई कम्पनी फ्यूज मेसिन अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ ।
नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) मा काम गर्ने कम्पनी ‘फ्युज मेसिन’ अमेरिकी स्टक एक्स्चेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ ।
इन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनी फ्युज मेसिनको साधारण सेयर कारोबार नास्डाक स्टक मार्केटमा ‘फ्युज’ सिम्बोल अन्तर्गत बिहीबारदेखि सुरु भएको हो । यो उपलब्धिसँगै फ्युज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ ।
कम्पनीले यो सफलतालाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिसनको नयाँ अध्यायको सुरुवात मानेको छ । यो सार्वजनिक सूचीकरणले कम्पनीलाई विश्वव्यापी रूपमा बढ्दो एआई सोलुसन्सको माग सम्बोधन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
फ्युज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. समीर मास्केले यस अवसरमा खुसी व्यक्त गरेका छन् । ‘एउटा सानो, मिसन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धतालाई झल्काउँछ,’ उनले भनेका छन्, ‘यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुवात हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा सेयरधनीहरूका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ ।’
सन् २०१३ मा स्थापित फ्युज मेसिनले उत्तर अमेरिका, एसिया (नेपाल, डोमिनिक रिपब्लिक लगायत) र ल्याटिन अमेरिकामा कार्यालयहरू स्थापना गरी स्वास्थ्य सेवा, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रहरूमा सेवा दिँदै आएको छ ।
यो सूचीकरण प्रक्रिया अन्तर्गत कम्पनीले मर्जर सम्झौता मार्फत लगानी प्राप्त गरेको थियो । प्राप्त रकम उपयोग कम्पनीको ब्यालेन्स सिट बलियो बनाउन, उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार तथा बिक्री र मार्केटिङमा रणनीतिक लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो कोशेढुंगा र नेपाली मूलको कम्पनीका लागि ऐतिहासिक सफलता भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4