चीनले सन् २०३० सम्ममा एआईको क्षेत्रमा अगुवा बन्ने लक्ष्य राखेको छ। बेइजिङको आफ्ना एआई प्लेटफर्महरू अमेरिकी क्षमताहरूसँग प्रतिस्पर्धी होऊन् भन्ने लक्ष्य राखेको छ । तर, उन्नत चिप्सको अभाव र अभिव्यक्ति स्वतन्त्रता बिना के चीनले यो लडाइँ जित्न सक्छ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विश्वव्यापी शक्तिको नयाँ मापन बनेको छ र चीन यसलाई ठूलो सफलता हासिल गर्न लागिपरेको छ ।
सन् २०१७ मा चीनले सन् २०३० सम्ममा विश्वको अग्रणी एआई शक्ति बन्ने घोषणा गर्यो । यो लक्ष्य हासिल गर्न चीनले अर्बौं डलर लगानी गरेको छ। चीभित्र इनोभेसन पनि तीव्र रूपमा बढाइएको छ। सरकार र निजी कम्पनीहरू दुवैलाई मिलाएर चीनले एक्लै सन् २०२५ मा एआईमा लगभग १०० अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ ।
शांघाई एआई सम्मेलनमा देखिएयो चिनियाँ प्राविधिक चमक
यस वर्ष चीनले डीपसीक नामको एउटा स्टार्टअपमार्फत विश्वको प्रविधि उद्योगलाई चकित पारिदियो। यसको लार्ज ल्याङ्ग्वेज मोडलले च्याटजीपीटी र ग्रोक जस्ता पश्चिमका शीर्ष ब्रान्डहरूलाई टक्कर दिइरहेको छ। डीपसीकले सामान्यता राम्रो प्रदर्शन गरिरहेको छ, त्यो पनि कैयौं गुणा कम लागत र कम कम्प्युटिङ शक्तिले पनि ।
अर्कोतर्फ, ‘अलीबाबा’ जस्तो ई-कमर्स दिग्गजले एउटा नयाँ शक्तिशाली एआई मोडल अगाडि सारेको छ। यसले विश्वभरि थप डाटा सेन्टरहरू बनाउने आफ्नो योजनाको पनि घोषणा गर्यो। यसले चीनका ठूला प्रविधि कम्पनीहरू, एआईमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिन गम्भीर छन् भन्ने देखाउँछ ।
यसैबीच, टेन्सेन्टले पनि यस दौडमा आफ्नो पकड बलियो बनाएको छ। यसले हुनयुआन-ए१३बी नामको एआई मोडल लन्च गर्यो जुन अझ छिटो, अझ स्मार्ट र ओपन-सोर्समा आधारित छ।
यी सबै प्रगतिहरूले कसरी चीनको एआई इकोसिस्टममा संलग्न स्टार्टअपहरू, ठूला प्रविधि कम्पनीहरू र स्वयं सरकार, यी सबै मिलेर पश्चिमी देशहरू र तिनीहरूसँग रहेको प्राविधिक दूरीलाई कम गर्नमा जुटेका छन् भन्ने प्रष्ट पार्छ ।
विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सन हुआङले एआईको दौडमा चीन धेरै पछाडि नरहेकोले अमेरिकाले आत्मसन्तुष्ट भएर बस्न नहुने चेतावनी दिएका छन् । हुआङले यस महिनाको सुरुमा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा चिनियाँ समाज नयाँ प्रविधिलाई धेरै छिटो अँगाल्ने समाज रहेको बताएका थिए ।
चीनले कसरी घटाइरहेछ एआईको दूरी ?
एक अरबभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरूसँग चीनको विशाल जनसंख्या आफैंमा एउटा परीक्षण क्षेत्रको रूपमा काम गर्छ। यसका माध्यमबाट नयाँ एआई प्रविधि उपभोक्ताहरू, सेवाहरू र उद्योगहरूसम्म धेरै छिटो फैलिन्छ।
यसबाहेक, चीनका एआई मोडलहरू सस्तो हार्डवेयरमा पनि चल्छन्, जसले गर्दा तिनीहरूको प्रयोग निकै किफायती हुन्छ।
वासिङ्टन विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्रोफेसर पेड्रो डोमिङ्गोसले भने, ‘अब चीन, अमेरिकाको गतिभन्दा अगाडि बढिरहेको छ। उनीहरूले केही वर्षमै अमेरिकाको रफ्तारलाई समातेका छन् र अगाडि बढ्न खोजिरहेका छन्।’
पेरिस एआई समिटमा छाउनसक्छ डीपसीक

डोमिङ्गोसले अमेरिका ठूला ल्याङ्ग्वेज मोडलहरूको क्षेत्रमा धेरै अगाडि रहेको धारणा सही नभएकोमा जोड दिए। चीनका कैयौं कम्पनीहरू जस्तै २०१० मा बायदूको डीप लर्निङ ग्रुप धेरै अमेरिकी कम्पनीहरूभन्दा अगाडि थियो।
डीपसीक, क्वेन-३ र किमी के२ जस्ता शक्तिशाली मोडलहरूलाई ओपन-सोर्स बनाएर चिनियाँ कम्पनीहरूले विकासकर्ताहरूलाई उन्नत एआई उपकरणहरूमा नि:शुल्क पहुँच दिइरहेका छन्। जबकि, पश्चिमी कम्पनीहरूले आफ्ना मोडलहरूलाई पे-वालमा पहुँच बन्द राख्छन्।
डोमिङ्गोसले भने, ‘पहिले अमेरिकी कम्पनीहरूले आफ्ना एआई प्रविधिहरू खुल्ला रूपमा साझेदारी गर्थे, जसले इन्नोभेसनलाई बढावा दिन्थ्यो। अब तिनीहरू प्रतिस्पर्धाको डरले यिनलाई गोप्य राख्न थालेका छन्, जुन इन्नोभेसनका लागि हानिकारक छ।’
चीनमाथि रुचि राख्ने विशेषज्ञहरूका अनुसार, चिनियाँ एआई कम्पनीहरूमा जबरदस्त प्रतिस्पर्धा चलिरहेको छ। चीनको सरकारी मिडियाका अनुसार, जुलाई २०२५ सम्ममा चिनियाँ कम्पनीहरूले १,५०० भन्दा बढी ‘लार्ज ल्याङ्ग्वेज मोडल’ जारी गरिसकेका थिए। यो संख्या यस वर्षको मध्यसम्ममा विश्वभर जारी भएका ३,७५५ मोडलहरूको लगभग ४० प्रतिशत हो।
अब प्रश्न यो छ कि यी स्टार्टअपहरूमध्ये कतिले वास्तवमा नाफा कमाउन सक्छन्, र के यो स्थितिले चीनको एआई महत्वाकांक्षालाई हानि पुर्याउन सक्छ? बेइजिङले यसमा ध्यान दिएको छ र प्राविधिक क्षेत्रलाई ‘अव्यवस्थित प्रतिस्पर्धा’ बाट जोगिन सल्लाह दिएको छ।
ओपनकम्पासको १८ अक्टोबर २०२५ को रिपोर्ट अनुसार तर्क, ज्ञान, गणित र कोडिङ क्षमता जस्ता क्षेत्रहरूमा प्रदर्शनको आधारमा विश्वका शीर्ष २० एआई मोडलहरूमध्ये १४ वटा चीनका छन्। शीर्ष स्थानमा अहिले पनि अमेरिकी कम्पनीहरू छन्, तर खास कुरा यो हो कि चीनका ९ प्रमुख एआई मोडलहरू ओपन-सोर्स छन्। जबकि, सिलिकन भ्यालीको कुनै पनि कम्पनीले त्यस्तो कुनै ओपन-सोर्स मोडल सार्वजनिक गरेको छैन ।
अमेरिकी चिप प्रतिबन्धहरूबाट सिर्जित शून्यता भरिरहेको छ चीन
एआई क्षेत्रमा आफ्नो प्रगति भए तापनि, चीन अहिले पनि उन्नत चिप्सको प्रविधिमा पछाडि छ। यी चिप्स ‘लार्ज ल्याङ्ग्वेज मोडलहरू’ लाई तीव्र गतिमा तालिम दिनका लागि आवश्यक हुन्छन्।
निर्यातमा अमेरिकी नियन्त्रणले उन्नत सेमीकन्डक्टर र चिप निर्माण उपकरणहरूसम्म चीनको पहुँचमा बाधा पुर्याएको छ। यस कारणले घरेलु कम्पनीहरूलाई पुराना र कम प्रभावकारी हार्डवेयरमा निर्भर रहनु परिरहेको छ।
जवाफमा, बेइजिङले माइक्रोन टेक्नोलोजी जस्ता प्रमुख अमेरिकी कम्पनीहरूबाट आयातमा प्रतिबन्ध लगाएको छ। चीनले आफ्नै चिप उद्योग विकास गर्ने प्रयासहरू तीव्र पारेको छ।

अमेरिकी कम्पनी एनभिडियाको चिनियाँ प्रतिस्पर्धी क्याम्ब्रिकोन टेक्नोलोजीजले हालै आफ्नो एक-तिहाई आयमा १४ गुणा वृद्धि दर्ज गर्यो । यसले एआईमा चीनले गरिरहेको ठूलो लगानीलाई संकेत गर्छ ।
वर्षको पहिलो छ महिनामा कम्पनीको आय ४४ गुणा बढ्यो, किनभने अमेरिकी प्राविधिक प्रतिबन्धहरू पछि चीनका एआई स्टार्टअप कम्पनीहरू स्थानीय विकल्पहरूतिर लागेका छन्।
यस्ता कठिनाइहरू र सीमाहरूका बीच पनि इन्नोभेसनको दबाबले चीनलाई एआईलाई बढाउनका लागि अझ स्मार्ट र कुशल तरिकाहरू खोज्न प्रेरित गरिरहेको छ। यसले उसको दीर्घकालीन आत्मनिर्भरताको महत्वाकांक्षालाई अझ छिटो अगाडि बढाउन सक्छ। यो नतिजा अमेरिकाले चाहेको जस्तो बिल्कुल छैन।
डोमिङ्गोसले भने, ‘अमेरिकाले चीनलाई चिप निर्यात गर्नमा लगाएको प्रतिबन्धहरूले उल्टो असर पारिरहेका छन्। यी प्रतिबन्धहरूले डीपसीक जस्ता कम्पनीहरूलाई पुराना हार्डवेयरलाई अझ राम्रो तरिकाले प्रयोग गर्न प्रेरित गर्दछन्, जसबाट अनुसन्धानमा थप प्रगति हुन्छ।’
उनले चिनियाँ कम्पनीले कम उन्नत चिप्समा अझ स्मार्ट तालिम प्रविधिहरूको मद्दतले शक्तिशाली एआई मोडल तयार गरेको बताए ।
चीन बन्न चाहन्छ विश्वव्यापी बजारको ठूलो खेलाडी

एआई अनुसन्धानमा अमेरिका अहिले पनि अग्रणी छ। त्यहाँका वैज्ञानिकहरू यस्ता प्रणालीहरू विकास गरिरहेका छन् जसले भाषालाई राम्रोसँग बुझ्न सकून्, अझ भरपर्दो तरिकाले निर्देशनहरूको सटीक पालना गर्न सकून् र हानिकारक व्यवहारबाट जोगिन सकून् ।
अमेरिकी प्रविधि कम्पनीहरू उन्नत एआईमा पनि काम गरिरहेका छन्, जो आफैं निर्णय लिन पनि सक्षम होऊन्।
तर, चीन भूराजनीतिक प्रभाव र विश्वव्यापी पहुँचको मामिलामा तीव्र रूपमा अगाडि बढिरहेको छ। उसले विकासोन्मुख देशहरूलाई डिजिटल पूर्वाधार दिनका लागि एआई प्लेटफर्म र ओपन-सोर्स मोडल निर्यात गरिरहेको छ।
अलीबाबा र हुवावे जस्ता कम्पनीहरू एशिया, अफ्रिका र युरोपमा डाटा सेन्टर र क्लाउड प्लेटफर्म बनाइरहेका छन्, जसले अमेरिकी सेवाहरूको तुलनामा सस्तो विकल्प पेस गरिरहेका छन्।
बेइजिङ अन्तर्राष्ट्रिय स्तरमा आफ्ना एआई नियम र मापदण्डहरूलाई पनि अगाडि बढाइरहेको छ, ताकि विश्वव्यापी मापदण्डहरूलाई आफ्नै राष्ट्रिय हितअनुरूप आकार दिन सकोस्। चिनियाँ डाटा र मूल्यमान्यतामा तालिम पाएका मोडलहरूलाई बढावा दिएर एआई प्रणालीले इतिहास, संस्कृति र सत्यलाई बुझोस् भन्ने सरकारी चाहना देखिन्छ । यो सबै एउटा अधिनायकवादी प्रणालीबाट आइरहेको छ, जहाँ अभिव्यक्ति स्वतन्त्रता अहिले पनि सीमित छ।
डोमिङ्गोसले थपे, ‘जसले लार्ज ल्याङ्ग्वेज मोडलमाथि नियन्त्रण राख्छ, उसैले अतीत र भविष्य दुवैमाथि नियन्त्रण राख्नेछ। यी मोडलहरूले वास्तविकतालाई आकार दिन्छन् र चीन चाहन्छ कि उसले आफ्नो दृष्टिकोण अगाडि सारोस् ।’
सन् फ्रान्सिस्कोस्थित यूसी लको ‘एआई ल एन्ड इनोभेसन इन्स्टिट्युट’ की निर्देशक रोबिन फेल्डम्यानले यसलाई ‘शीत युद्धको नयाँ रूप’ को संज्ञा दिएकी छन्। उनले अमेरिकी समाचार वेबसाइट एक्सिअसलाई भनिन्, ‘यो युद्ध त्यो देशले जित्नेछ, जो एआईको क्षेत्रमा सबैभन्दा अगाडि रहनेछ र त्यो अग्रतालाई लामो समयसम्म कायम राख्न सक्षम हुनेछ ।’
प्रतिक्रिया 4