+
+
Shares

मध्यरातसम्म चिया बेचिरहेका यी बालक, ‘अंकल मलाई भाइरल नबनाउनू ल’

आमाको दुःख देखेपछि पावेल चिया बेच्न निस्किए । त्यसबेला उनको उमेर कति नै थियो, जम्माजम्मी ७ वर्षको ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन कृष्ण मन्दिर परिसरमा १० वर्षका पावेल चेपाङ राति चिया बेचेर परिवारको आर्थिक सहयोग गरिरहेका छन्।
  • पावेलको आमा मुटु रोगी भएकाले उनी सात वर्षदेखि चिया बेच्न निस्किएका हुन्।
  • पावेलको भाइ अपहरणमा परे पनि प्रहरीले उद्धार गरेको र पावेलले भाइलाई भाइरल नगर्न आग्रह गरेका छन्।

रातको १० बज्नै लागेको हुँदो हो । पाटन कृष्ण मन्दिर परिसरको वायुमण्डल चिसिँदै गर्दा तात्तातो चिया बेच्न फुर्तिसाथ दौडिरहेका थिए एक बालक ।

पछाडि झोला बोकेका, हातमा प्लास्टिकको गिलास र थर्मस उचालेका । छड्के तिलहरी लगाए जसरी पैसा राख्ने सानो ब्याग भिरेका । यी कान्छो व्यापारी आफ्नै संसाधनले युक्त थिए ।

मन्दिरको आडमा प्रेमलाप गरिरहेका मायालु जोडी, चुरोटको सर्को तान्दै गफिरहेका दौंतरी, साँझमा टहल्न निस्केका रमिते, टिकटक बनाउन पोज दिइरहेका नवजवान । उनी कसैलाई छाड्दैनले । टुप्लुक्क अघिल्तिर पुग्थे । मायालु स्वरमा यसो भन्दै, ‘चिया खाइदिनुस् न । एक कप नि विक्री भएको छैन ।’

थोरै चलाखी, थोरै जिद्दी र धेरै अबोधपन । उनको चिया बेच्ने आफ्नै काइदा थियो । एक कप चिया बापत २५ रुपैयाँ लिन्थे । कसैले उसलाई बढी पैसा दिन्थे । तर, मरिगए लिए पो ?

आफ्नो हिस्साको पैसाभन्दा बढी लिन तयार हुँदैनथे । बरू कतिलाई सित्तैमा पनि चिया दिइरहेका हुन्थे । यसरी, ‘पैसा मात्र ठूलो कुरा होइन । पछि भएको बेला दिनू ।’ लाग्थ्यो, समय र परिस्थितिले उनलाई उमेरभन्दा बढी परिपक्क बनाइदियो ।

खासमा त उनी त्यहाँ सुकुमेल, मरिच मिसाइएको चियाभन्दा बढी माया बेचिरहेका थिए । सबैलाई माया दिन्थे र वापसमा माया नै पाउँथे ।

मनले खाएको ग्राहकसँग उनी लपक्कै टाँस्सिएर गफ दिन्थे । त्यहाँ चिया बेच्दा कसले हेप्यो, कसले गाली गर्‍यो, कस्तो व्यवहार गर्‍यो, बेलिबिस्तार लगाउँथे । अनि वीर मुद्रामा यसो पनि भन्थे, ‘ठिक छ, म कुनैदिन ठूलो हुन्छु नि । पैसा कमाउँछु नि । त्यसपछि…।’

कुनै ग्राहकसँग उनी छिल्लिएर बस्थे । आमाले थाहा नपाउनेगरी पैसा लुकाएर के-के किने ? कोसँग सुटुक्कै खेल्न जाने योजना छ, हाँसीखुसी खुलाउथे । अनि रसिक मुद्रामा यसो पनि भन्थे, ‘अब ठूलो भएपछि बाइक किन्छु । अगाडि गर्लफ्रेन्ड राख्छु, पछाडि आमालाई राख्छु । अनि घुमाउन लैजान्छु ।’

कुनै ग्राहकसँग उनी मनको बह पोख्थे । कुन परिबन्धले उनी त्यहाँ आइपुगे, कति चिया बेचे, त्यो पैसाले कसरी घरखर्च टारे, कसरी बिरामी आमाको ख्याल गरे, कसरी घरबेटीले हप्काएर डेरा छाड्न भने ? सबै रामकहानी सुनाउँथे । अनि करुण मुद्रामा यसो पनि भन्थे, ‘गरिब भएपछि सबैले हेप्छ । सानो देखेर होला नि ।’

तर मनपेट खोलेर यसरी बस्ने फुर्सद उनलाई कहाँ थियो र ? गफको सुरताल छाडेर झसंग हुन्थे । ‘ला ममीले मार्छ’ भन्दै जुरुक्कै उठेर दौडिहाल्थे । अनि भीडमा मिसिएर कुनै घुमन्तेलाई पछ्याउँथे, ‘चिया खाइदिनु न प्लिज…प्लिज ।’

यी साना घुमन्ते व्यापारीको नाम हो, पावेल चेपाङ । उमेर १० वर्ष ।

हाँस्दै खेल्दै राति अबेरसम्म चिया बेच्ने उनको दुःखका छुटै महाभारत रहेछ । कुन बाध्यताले उनलाई चिया बेच्न पठायो, घरखर्चले कसरी पिरोलेको छ, एक्ली आमाको दुःख–बिरामले कसरी वेचैन बनाएको छ, डेरा भाडा र स्कुलको शुल्क तिर्न नसक्दा कस्तो सास्ती खेप्नुपरेको छ ?

उनको उमेरको अंक र जिम्मेवारीको आयतन बीच ठूलो अन्तर थियो । पारिवारिक बोझ बोकेर उनी राति–राति चिया बेच्न निस्कने रहेछन् ।

‘बिहान चार बजे उठ्छु हैन । त्यसपछि होमवर्क गर्छु । खाना खएर स्कुल जान्छु । स्कुलबाट आएर फेरि होमवर्क गर्छु । अनि चिया बेच्न आउँछु’ उनले एकै किस्तामा आफ्नो दैनिकी सुनाए, ‘रातभर चिया बेच्छु । छिटै चिया सकियो भने घर जान्छु र भाइसँग खेल्छु । चिया विक्री भएन भने राति एघार बजेसम्म बस्छु अनि घर जान्छु । भात खाएर सुत्छु ।’

पहिले त आमाले नै चिया बेचेर जेनतेन गुजारा चलाउँथिन् । श्रीमानले छाडेर गएपछि दुई काखे बच्चा हुर्काउने बोझ उनैमाथि थियो । तर, राति–राति चिया बेच्न निस्कँदा उनको छाती असाध्यै दुख्न थाल्यो । खोक्दा मुखमा रगत देखियो । अस्पतालमा जाँच गराएपछि थाहा भो, मुटुमा समस्या छ ।

चिसोमा निस्किएर काम गरौं छाती दुखेर खपिनसक्नु हुने, घरमै बसौं, दुई लालाबाला भोकभोकै मर्ने डर । आमाको दुःख देखेपछि पावेल चिया बेच्न निस्किए । त्यसबेला उनको उमेर कति नै थियो, जम्माजम्मी ७ वर्षको ।

दुईवटा थर्मस बोके । एउटामा दूध चिया, अर्कोमा कालो चिया । बटुवाहरू पछ्याउँदै हिँडे, ‘चिया खाइदिनु न’ भन्दै ।
त्यसपछि उनले कहिल्यै विश्राम पाएनन् । साँझ आमाले पकाइदिएको दुई थर्मस चिया बोक्यो । पाटन कृष्ण मन्दिर परिसरमा घुम्न आएकाहरूलाई पछ्यायो । चिया बेच्यो । अनि घरमा लगेर आमालाई बुझायो ।

चिया कसले खाइदिन्छन्, कति गिलास विक्री हुन्छ, कति पैसा जम्मा हुन्छ ? कोठाबाट निस्कँदै गर्दा यसको कुनै टुंगो हुँदैन । तर, हरेक रात घर फर्कँदा पैसा ल्याइएन भने खान–बस्नै कठिन हुन थाल्छ । त्यसैले त झरी होस् वा चिसो ठिही । कोठाबाट निस्कनै पर्छ । मान्छेलाई पछ्याउनै पर्छ । चिया बेच्नै पर्छ ।

‘चिया बेचेन भने के खानु ? भाइ, ममी र म भोकै हुन्छौं’ यसो भनिरहँदा पावेल उदास भन्दा पनि जिम्म्मेवार देखिन्छन् । यस्तो लाग्छ, उनी नै घरमुली हुन् । ‘खानुपर्‍यो, पढ्नुपर्‍यो, कोठा भाडा दिनुपर्‍यो’ पावेल भन्छन्, ‘अंकल, भाडा तिर्न सकेन भनेर हामीलाई डेराबाट निकालेको नि ।’

यी बालकलाई दुःख र अभावले सानो हुने छुट दिएको छैन । परिबन्धले उसको बाल्यकाल खोसिदिएको छ । ऊ सानै छ, तर उसको जिम्मेवारी सानो छैन । पाटन कृष्ण मन्दिरको सेरोफेरोमा उनको साँझ गुज्रिन्छ । त्यहाँभन्दा परको संसार देखेका छैनन् ।
काठमाडौंको कुन ठाउँ जान मन लाग्छ ? हाम्रो प्रश्नमा उनी अलमलिन्छन् र केही सोचेर जवाफ दिन्छन्, ‘कलंकी । मलाई कलंकी जान मन लाग्छ ।’

के खान मनलाग्छ ? यसको जवाफ भने उसले सोच्नुपर्दैन । हतारमै भन्छन्, ‘चाउमिन ।’

खेल्न चाहिँ ? उनी यो प्रश्नमा उति अभ्यस्त छैनन् । त्यसैले धेरैबेर सोचेपछि भन्छन्, ‘घरमै खेल्छु, भाइसँग ।’

‘केही दिनअघि मात्र खेल्दाखेल्दै भाइ हराए । सोधीखोजी गर्दा कतै फेला परेन । सीसीटीभीमा हेरेपछि अपहरणमा परेको थाहा भयो । २४ घण्टा नबित्दै प्रहरीले अपहरणकारीबाट भाइको उद्धार गरिदियो ।’ यही कथा सुनाएपछि पावेलले हामीलाई भन्यो, ‘त्यसपछि भाइ त भाइरल भयो । अंकल, मलाई चाहिँ भाइरल नगर्नू है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?