९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।
पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीसँगको छलफलमा यस्तो बताएका हुन् ।
मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् ।
मन्त्रालय अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा नागरिकमैत्री बनाउन निर्देशन दिँदै मन्त्री शर्माले सेवाप्रवाहका क्रममा नागरिकलाई झुल्याएर भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिएकी हुन् ।
उनले भनिन्, ‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रूपमा जति गर्नुपर्थ्यो गरेँ । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्यान्डल गर्न सक्दैन नि ! त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ ।’
स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्णपारदर्शी बनाइ भ्रष्टाचार शून्य नीति अपनाउन मन्त्री शर्माले निर्देशन दिइन् ।
जीवनको ३२ वर्ष ऊर्जाशील र क्रियाशील समय बिताएको ठाउँमा मन्त्रीका रूपमा आउन पाउँदा हर्षित भएको उनले सुनाइन् ।
स्वास्थ्यमा जनशक्तिको चुनौती रहेकाले भएका जशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा आफ्नो प्राथमिकता रहने शर्माले बताइन् ।
अहिलेको परिस्थिति हेरेर आफूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी उनले दिइन् ।
जेननी आन्दोलनमा शहीद भएका परिवारका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको मन्त्री शर्माले सुनाइन् । त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी निर्णय लिने उनले स्पष्ट पारिन् ।
आन्दोनलका घाइते भएर उपचार जारी रहेकाको निःशुल्क सेवामा निरन्तरता दिने, चोटपटकको आधारमा घाइतेको वर्गीकरण गरी त्यही अनुसार सेवा उपलब्ध गराउने कुरालाई प्राथमिकता दिने योजना पनि शर्माले सुनाइन् ।
मातृशिशु मृत्युदर उच्च रहेका क्षेत्रमा जोखिममा रहेका प्रदेशमा लक्षित समुदाय पहिचान गरी तीनै तहको सरकारको समन्वयमा विशेष कार्यक्रम सञ्चालन आफ्नो सोच रहेको उनले बताइन् ।
मन्त्री शर्माले शहीद परिवारका विद्यार्थीलाई स्वास्थ्यका विषय निःशुल्क अध्ययन गर्ने व्यवस्थाका लागि पनि पहल गर्ने योजना रहेको जानकारी दिइन । निजी क्षेत्र तथा शैक्षिक संस्थासँग समन्वय गरी त्यसबारे निर्णय गर्ने उनले बताइन् ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको स्वास्थ्यका लागि पनि आफ्नो पहल रहने उनले सुनाइन् ।
श्रम मन्त्रालयसँगको समन्वय गरी श्रमिक बाहिरिने विन्दुमा स्वास्थ्य सूचनाको व्यवस्थापन गर्ने, विदेशमा रहेका बेला कुनै समस्या भयो भने यहीँबाट स्वास्थ्य परामर्श गर्न तथा सम्बन्धित देशका दूतावाससँगको समन्वयमा सेवा दिन सकिन्छ कि सकिँदैन भनेर छलफल गर्ने उनले बताइन् ।
प्रतिक्रिया 4