२१ मंसिर, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढाइ (पीसीएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् ।
भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको आइतबार उद्घाटनपछि आयोजित कार्यक्रममा उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् ।
मन्त्री गौतमले भनिन्, ‘ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ ।’
अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले बताइन् । अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले बताइन् ।
मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन् । सुधारका क्षेत्रमा स्वास्थ्य बीमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन् ।
मन्त्री गौतमले भनिन्, ‘हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ । शीघ्र यसको नतिजा आउने छ ।’
उनले आफ्नो सरकारी जागिरको सुरुआती अस्पताल भरतपुर अस्पतालमा भएको स्मरण गर्दै यहाँको प्रगतिले आफू सन्तुष्ट रहेकोसमेत बताइन् ।
प्रतिक्रिया 4