News Summary
Generated by OK AI. Editorially reviewed.- डा. तीर्थबहादुर श्रेष्ठले सानेपास्थित आफ्ना बगैंचामा रोपिएका विभिन्न बोटबिरुवाबारे विस्तृत जानकारी दिए ।
- उनले बुद्धत्व प्राप्त गरेको पीपलको वंश टिस्यु कल्चर विधिबाट हुर्काइएको बताए ।
- डा. श्रेष्ठले बगैंचामा पारिस्थितिक प्रणाली हुनुपर्ने र मान्छेलाई पनि माया गर्नुपर्ने सल्लाह दिए ।
कात्तिक २ गते वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठको सानेपास्थित घर पुग्दा बाहिरको माहौल बिर्साउने वातावरण थियो । त्यसको एउटै कारण उनको ओजबाहेक बगैंचा हो । हामी त्यही बगैंचा खिच्ने बहानामा उनको घर पुगेका थियौं ।
उनले हामीलाई बगैंचामा रोपिएका पारिजात, सयपत्री, मखमली, वरविपल, लगायतका विभिन्न बोटबिरुवाबारे विस्तृतमा जानकारी दिए । उनले कुनै जागिरका क्रममा ल्याएर रोपेका हुन् भने कुनै साथीभाइले उपहारस्वरुप दिएका थिए ।
पक्की घरको अघिल्तिर फैलिएको बगैंचालाई उनले कुनै समय ‘अल्छे बगैंचा’ नाम दिन चाहेका थिए । कारण थियो– बुढ्यौली उमेरमा बगैंचाको राम्रो हेरचाह गर्न नसक्नु । त्यसकारण कम मात्र काम गर्न सक्थे । तर, उनी नामको फन्दामा परेनन् ।
त्यही बगैंचामा डुल्दै हामीसँग उनले रोचक कुरा भने– कथाले बिरुवा वा प्रकृतिलाई सिर्जेको होइन । प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ । अर्थात् बिरुवाहरूपछि मात्र कथा बुनिएका हुन्छन् ।
उदाहरण स्वरुप उनले हामीलाई पारिजातसँग जोडेर इन्द्र जात्रा, कुबेर र कृष्ण र सूर्यसँग सम्बन्धित कथा सुनाए । जुन कथाहरू धेरै पटक भनिसकिएको छ ।
त्यस्तै बुद्धले बुद्धत्व प्राप्त गरेको पीपलको वंश देखाए । जुन उनले टिस्यु कल्चर विधिबाट हुर्काएको पीपल हो । लुम्बिनीको मायादेवी मन्दिरमा उत्खननका क्रममा एउटा पीपलको रुख काट्नु पर्यो । त्यो ऐतिहासिक पीपल थियो । किनकि त्यसकै छहारीमा बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । कारणवस पीपल काट्नु परेपछि टिस्यु कल्चर गरिएको थियो ।
त्यसपछि उनले सुनाखरीको इतिवृतान्त पनि बताए । अनि यसैको हत्ता जोडी भनेर जुम्लामा चिनिने प्रजाति किन दुर्लभ हुन्छन् भनेर सुनाए । उनका अनुसार मानिसहरूले त्यसलाई जडीबुटीको रूपमा निकासी गर्ने र बेच्ने कारण लोपोन्मुख भएको हो ।
यी बाहेक पाषाणभेद, सर्वदा, तुलसी, कपास, सुन केमरा लगायतका बोटबिरुवाबारे पनि उनले जानकारी दिए । यसरी फरक-फरक बोटविरुवा रोप्दा हुने मानसिक, शारीरिक फाइदा, समग्रमा बगैंचाबारे पनि उनले चर्चा गरे ।
उनका अनुसार बगैंचालाई ज्यान भएको बनाउन पुतली, चराचुरुङ्गी र कीरा फट्याङ्ग्रा हुनैपर्छ । भन्नुको अर्थ बगैंचामा पारिस्थितिक प्रणाली हुनुपर्छ । तब मात्र त्यो जीवन्त बगैंचा हुने उनको भनाइ छ ।
अन्त्यमा, उनले आफ्नो जीवनकालमा जडीबुटी खोज्ने क्रममा बोटबिरुवालाई मात्र ध्यान दिँदा मान्छेलाई माया गर्न बिर्सेको दु:खान्त सुनाए । त्यसक्रममा सम्पर्क भएका मान्छेहरूसँग लामो समय सम्बन्ध कायम गर्न नसकेको उनले सुनाए । त्यसबाट बच्न मान्छेलाई पनि माया गर्न सिक्नुपर्छ भन्ने सल्लाह दिए । उनको सुझाव नै बोटविरुवासँगै मान्छेलाई पनि माया गर्नुपर्छ भन्ने रहेको छ ।
प्रतिक्रिया 4