११ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण गरिएको छ ।
मंगलबार गैरआवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त रुपमा उद्घाटन समेत गरिएको थियो । ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे ।
उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक विकासको चित्रण गर्ने बताए ।
उनले जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गरे । नियम नमान्नेहरुलाई कारबाहीको दायरामा ल्याउँदा नियम मान्नेहरुलाई सम्मान गरिने उनले बताए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब छिटै ब्रेथलाइजर हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ ।
प्रतिक्रिया 4